क्यासिनो महाजोंगलाई सर्वोत्कृष्ट अवार्ड



नेपाल समाचारपत्र
काठमाडौं
होटल सोल्टीको परिसरमा रहेको क्यासिनो महजोंगले सर्वोत्कृष्ट क्यासिनो अवार्ड प्राप्त गरेको छ।

भारतका पर्यटनमन्त्री केजे अलफोन्स र संसदीय कार्य व्यवस्थामन्त्री विजय गोयलको प्रमुख आतिथ्यमा हालै नयाँदिल्लीमा भएको विशेष समारोहमा क्यासिनो महाजोंगका प्रबन्ध निर्देशक विनोद श्रेष्ठको तर्फबाट कम्पनीका निर्देशक हेमन्त कक्षपति तथा कम्पनीका जनरल म्यानेजर अमूल्यविक्रम राणालाई उक्त अवार्ड प्रदान गरिएको थियो। पर्यटन तथा आतिथ्य उद्योगलाई प्रदान गरिने सर्वोत्कृष्ट अवार्ड प्रदान समारोहमा नेपाल पर्यटन बोर्डले पर्यटनसम्बन्धी डकुमेन्ट्री प्रस्तुत गरेको थियो।

हालसम्म कम्पनीले २८ करोडभन्दा बढी राजस्व दाखिला गरिसकेको छ। यस क्यासिनोमा करार र दैनिक ज्यालादारीसमेत गरी हाल ६ सय जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी र हजारौं व्यक्तिले अप्रत्यक्ष रोजगारी पाइरहेका छन्।

पर्यटक आगमनमा क्यासिनोको योगदान २० प्रतिशतभन्दा बढी छ भने पर्यटकको बसाइ लम्ब्याउनसमेत यसले महत्वपूर्ण भूमिका खेलेको छ। क्यासिनोमा विदेशीले मात्र खेल्न पाउने र अधिकांश खेलाडी हवाई मार्गबाट आउने हुँदा क्यासिनो योगदान होटल व्यावसायतर्फ मात्र नभई वायुसेवा व्यावसायतर्फ पनि उत्तिकै रहेको छ। गत आर्थिकमा करिब १ लाख खेलाडीले उक्त क्यासिनोमा खेलेका थिए।

आधुनिक सामाग्रीको सुविधा प्रदान गरी आधुनिक तवरबाट रिक्रियसन सेन्टर सञ्चालन गरी विदेशी मुद्रासमेत आर्जन गरेर राष्ट्र निर्माणमा टेवा पुर्याउनु यसको लक्ष्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्