सबैभन्दा लामो दूरीको ननस्टप हवाई उडान शुरू



न्युयोर्क सिटी, (एजेन्सी)
विश्वकै सबैभन्दा लामो दूरीको ननस्टप हवाई उडान बिहीबार सिंगारपुरबाट शुरू हुन लागेको छ। सो उडानका लागि सिंगापुर एयरलायन्सको विमान सिंगापुरबाट अमेरिकाको न्युयोर्कका लागि उड्न लागेको हो। पाँच वर्ष अघि यो हवाई सेवा निकै महँगो भएको भन्दै सिंगापुर एयरलायन्सले उडान बन्द गरेको थियो।

केवल १९ घन्टा लामो उडानमा विमानले १५ हजार किलोमिटरभन्दा लामो दूरी तय गर्ने बताइएको छ। यसै वर्षको शुरुमा क्वान्तासले पनि अस्ट्रेलियाको पर्थ शहरदेखि बेलायतको राजधानी लन्डनसम्मको १७ घन्टा लामो ननस्टप हवाई उडान शुरु गरेको थियो।

त्यसै गरी क्वान्तासले नै दोहादेखि अकल्यान्डसम्मको १७ घन्टा ३० मिनेट लामो अर्को ननस्टप उडान पनि शुरू गरेको हो। बडो तामझामका साथ सिंगापुरको चाँगी विमानस्थलबाट न्युजर्सीस्थित नेवार्कको अन्तर्राष्ट्रिय विमानस्थलका लागि सो टन्न यात्रु भरिएको विमान उड्न लागेको हो।

सिंगापुर एयरलायन्स (एसआईए) ले समय वचतलाई ध्यानमा राख्दै धेरैजसो ग्राहकले गरेको ननस्टप उडानको मागअनुसार नै यो सेवालाई पुनः सुचारु गरिएको जनाएको छ। एसआईएले बिजनेस क्लासका सबै सिट बुक भइसकेको तर केही प्रिमियम इकोनोमी सिट भने बाँकी रहेको बीबीसीलाई जानकारी गराएको छ।

बिजनेस क्लासका यात्रुलाई तिनीहरूको अनुरोधअनुसार दुईपटक खाना र बीच–बीचमा रिफ्रेसमेन्ट सर्भ गरिने बताइएको छ। तर, प्रिमियम इकोनोमी सिटमा भने तीनपटक खाना र बीचमा रिफ्रेसमेन्ट वितरण गरिने भनिएको छ। एसआईएले प्रयोग गर्न लागेको ब्रान्ड न्यु एयरबस विमानमा बिजनेसमा ६७ र प्रिमियम इकोनोमीमा ९४ यात्रु सिट रहेका छन्।

प्रतिक्रिया दिनुहोस्