पतञ्जलि–५ः प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला आयुर्वेद विद्या सिक्न प्रस्थान



आयुर्वेद विद्या सिक्न पठाउने प्रस्ताव त पारित भयो। तर इन्द्रलोकसम्म जाने मानिस को ? यसको समाधान साह्रै जटिल थियो। जिउँदै स्वर्ग जाने कुरा सबै ऋषिका लागि कठिनै थियो। ती भेला भएकाहरूमा कुनै गोत्रकार ऋषि थिए, कुनै गोत्रावयव ऋषि थिए। सबका सबै स्वर्ग जाने कुरा भएन। इन्द्रलोक कसलाई पठाउने ? कसले त्यहाँ गएर यो काम फत्य गर्न सक्छ ? शिक्षादीक्षा दिनेजस्तो कुरा ! योग्य र अधिकारी व्यक्ति नठहर्याई इन्द्रले भन्नासाथ हत्तपत्त कसलाई शिक्षा देलान् र ? ऋषिमुनिहरू यसैबारे आपसमा कानेखुसी र छलफल गर्न थाले।

त्यस समूहमा ऋषि भरद्वाज पनि थिए। महान् तपस्वी तथा विद्वान् युवा थिए उनी। उनले पहिले नै आफ््नो तपोबलद्वारा स्वर्गलोकमा गएर इन्द्रबाट व्याकरण शास्त्रको ज्ञान प्राप्त गरिसकेका थिए। अतः महर्षि अत्रिले इन्द्रकै शिष्य भरद्वाज ऋषिलाई अघि लाएर उनकै अगुवाइमा आरोग्य विद्या सिक्न केही ऋषिहरूलाई त्यसतर्फ पठाउने प्रस्ताव गरे। यो प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भयो।

निर्णय भएपछि पनि महर्षि अत्रिले भरद्वाजलाई उनको मनसाय बुझ्न प्रश्न गरे– ‘ऋषि भरद्वाज? यो सभाले इन्द्रबाट आयुर्वेदको नयाँ प्रविधि सिक्न इन्द्रलोक पठाउन तपाईंलाई प्रस्ताव गर्दछ। पहिले तपाईं इन्द्रसामु गएर आयुर्विद्या सिकाइमाग्न अनुरोध गर्नुहोस्। पछि हामी पनि तपाईंबाट त्यो विद्या सिक्छौं र रोगभयबाट आफू पनि मुक्त हुन्छौं, जनसमाजको पनि कल्याण गर्छौं। यहाँको विचार के छ ?

महर्षि अत्रिको कुरा सुनेपछि ऋषि भरद्वाजले भने– ‘महर्षे ? हाम्रो जन्म नै आफ्नो मोक्षलाभ र जगत्को कल्याणका लागि भएको हो। त्यसमा पनि यत्रो ऋषिमुनिहरूको भेलाले एकमतले मेरो नाउँ प्रस्ताव गरेपछि मैले यसमा नाइँ नास्ति गर्ने प्रश्नै छैन। देवराज इन्द्र मेरा व्याकरण गुरु पनि हुनुहुन्छ। अतः यस ऋषिभेलाको निर्णयलाई सम्मान गर्दै म स्वर्गमा गएर उहाँबाट आयुर्वेद विद्या सिकेर आउँछु। मेरा लागि यो सौभाग्य पनि हुनेछ।’ उनले दृढतापूर्वक भने।

प्रस्थानको साइत पनि त्यहीँ निर्णय गरियो। तोकिएका मितिमा भरद्वाजलाई अघि लगाएर कश्यप, अत्रि, वशिष्ठ, भृगु आदि ऋषिहरू आयुर्विद्या सिक्न इन्द्रकहाँ गए। अभिवादन र कुशलताको आदानप्रदानपछि इन्द्रले उनीहरूसँग आगमनको उद्देश्यबारे प्रश्न गरे– ‘तपाईं यतिका ऋषिमुनिहरूको आगमनले म धन्य भएको छु। आज अकस्मात् यो आगमन किन र कसरी हुन गयो ? के सेवा गरौं मैले तपाईंहरूको ?’

भरद्वाजले गुरु इन्द्रलाई सबै कुरा बेलिविस्तार लगाए। इन्द्रले आफ्ना प्रिय शिष्य भरद्वाजलाई प्रमुख बनाएर विधिपूर्वक हेतु लिङ्ग र औषधसमेत त्रिस्कन्ध आयुर्विद्याको उपदेश गरे। अनि भरद्वाजले त्यसै गरी त्यस त्रिस्कन्ध आयुर्वेदको उपदेश अन्य ऋषिहरूलाई गरे।
क्रमशः

प्रतिक्रिया दिनुहोस्