जात्राको सिक्वेल जात्रै जात्रा



जात्रा नामक फिल्मको शानदार सफलतापछि त्यसकै डेब्यु निर्देशक प्रदीप भट्टराईको निर्देशनमा सिक्वेलका रुपमा जात्रै जात्रा नामक अर्को फिल्म बन्ने भएको छ। जात्रापछि शत्रु गतेजस्तो अर्को सुपरहिट फिल्म दिएका प्रदीपको निर्देशनमा बन्न लागेको जात्रै जात्रा दशैंलगत्तै सुटिङ फ्लोरमा जाने फिल्मबारे जानकारी दिन बिहीबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइएको छ।

डेढ करोड रुपियाँ लागतमा बन्ने फिल्मको रिलिज डेट आगामी फागुन १७ गते तोकिएको छ। लेखन निर्देशक भट्टराईकै रहने फिल्म सिंगे लामा र यादव पौडेलले निर्माण गर्न लागेका हुन् भने रवीन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेका छन्। विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कवीन्द्र त्रिपाठीलगायतका कलाकार प्रमुख भूमिकामा रहने फिल्ममा छायांकन शिवराम श्रेष्ठ र सम्पादन मित्र डी गुरुङको रहनेछ।

फिल्मबाट यसपटक दर्शकले सरप्राइज पाउने निर्देशक भट्टराईले दाबी गरेका छन्। ‘यो फिल्मले पैसाको मात्र कथा भन्दैन। दर्शकलाई झनै विशेष सरप्राइज हुनेछ। अघिल्लो फिल्म जात्रा जहाँ गएर सकिएको थियो, जात्रै जात्रा त्यहींबाट शुरू हुनेछ’ –निर्देशक भट्टराईले जानकारी गराए। विपिन कार्कीले जात्राको सिक्वेलमा समेत जोडिन पाएकामा खुसी व्यक्त गरे भने यसपालीको कथा विशेष भएको बताए। नायिका वर्षा राउतले जात्रामा जस्तै जात्रै जात्रामा पनि विपिनकी पत्नीको भूमिकामा देखिने खुलाइन्। ‘जात्रा मेरो फिल्म करिअरको टर्निङ पोइन्ट थियो ।

यसले पनि मेरो करिअरलाई नयाँ मोड दिनेछ भन्ने आशा गरेकी छुु’ –उनले भनिन्। फिल्मका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले जात्राको भन्दा राम्रो कथा पाएपछि यसको सिक्वेल बनाउन लागेको दाबी गरे। कार्यक्रममा प्रमुख अतिथि ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले फिल्मको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्