मोदीखोला जलबिद्युत केन्द्र पुर्ण क्षमतामा सञ्चालन



नेपाल समाचारपत्र, पर्वत ।
पर्वतको पातीचौरस्थित मोदीखोला जलविद्युत् आयोजना केन्द्र पुर्ण क्षमतामा सञ्चालनमा आएको छ ।

केन्द्रको कुल उत्पादन क्षमता १४.८ मेगावाट रहेकोमा अहिले १४ मेगावाटको आसपासमा बिजुली उत्पादन हुन थालेको हो।

अघिल्ला वर्षहरुमा बढीमा ११ मेगावाट आसपासमा विद्युत उत्पादन हुने गरेकोमा यो वर्ष ’पावर हाउस’मा प्रयोग भएको पुरानो ’कुलर’ हटाएर नयाँ कुलर फेरेपछि उत्पादन बढेको जलविद्युत आयोजना केन्द्रका प्रमुख शिवकुमार शाहले बताए। ‘हामीले एउटा कुलर फेरेका छौँ, त्यसैले नै विद्युत् उत्पादन बढेको हो’, उनले भने, ‘यसअघिका वर्षमा ११ मेगावाटको वरिपरि उत्पादन हुने गरेकोमा यो वर्ष १४ मेगावाट पुगेको छ।

केन्द्रले आगामी वर्ष अर्को कुलर पनि फेर्ने योजना राखेको छ। ३५ लाख रुपैयाँको लगानीमा कुलर फेरिएको प्रमुख शाहले जानकारी दिए। यसअघि कुलेखानी र मध्य मस्याङ्दी आयोजनामा गरेर १६ वर्ष काम गरिसकेका शाह आफैँ विद्युत गृहका सामान्य खालका मर्मत गर्दै आएका छन्। एक वर्षअघि प्रमुख बनेर आएका शाहले मोदीखोला जलविद्युत आयोजनामा आईपर्ने सामान्य मर्मतसम्भारको लागि अन्य आयोजनाका प्राविधिक बोलाउनुपर्ने अवस्था नरहेको बताए।

मोदीखोला जलविद्युत् आयोजनामा बर्खायाममा दुईवटा टर्वाइन चलाएर र हिउँदमा एउटा मात्र टर्वाइनबाट बिजुली उत्पादन हुने गरेको छ। मोदी खोलामा पानीको बहाव कम हुँदा कात्तिकबाट एउटा मात्र टर्वाइन चल्नसक्ने पानीको क्षमता रहने कारण विद्युत उत्पादन पनि घट्ने गरेको छ।

केन्द्र प्रमुख शाहका अनुसार एउटा टर्वाइनबाट ३ मेगावाटभन्दा कम बिजुली उत्पादन हुने अवस्था आएपछि दुवै टर्वाइनको लागि प्रयोग भएको पानीलाई एउटा मात्र टर्वाइनमा खसाल्ने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्