फाप्ला त राम नाम ?



हिन्दूहरूको महान चाड दशैंले छपक्कै छोप्या बेला सत्तारुढ दल नेकपालाई भने राजनीतिक चाड शुरू भएको छ। दुई पार्टी जोड्ने मुख्य शुत्रधार भनिएका बामदेवलाई संसद्मा अटाउन सो पार्टीका नेताहरू खुब लागि पर्या छन्। मूल ढोकाबाट सोझै संसद् छिर्न नसकेपछि नेकपा नेता गौतमका लागि संसद्को साँघुरो झ्याल खोल्न जुट्या छन्।

दुई तिहाई बहुमत प्राप्त सरकारले माखोसमेत मार्न नसकेपछि उनलाई जादूको छडी बनाउँदै क्याबिनेटमा अटाउने रे, त्यस्तै सुनिँदै छ बजार हल्ला। नेकपाकै नेता लाजैबिना भन्न थाल्याछन्– ‘कम्रेड क्याबिनेटमा पुग्नुभयो भने सरकारले छोटै समयमा छलाङ मार्छ, त्यसैले त उहाँका लागि काठमाडौं सात खालि गर्या हो।’

वामपार्टीका मियो भनिएका बामदेवले पार्टीकै जिम्मेवारी सम्हाल्दा चाहिँ उनको राजनीतिक उचाइ ह्वात्तै घट्ने हो र भन्या ? उनको जस्तै भूमिका निर्वाह गरेका भनिएका गोर्खाली काजीको योगदान कसरी मूल्यांकन हुँदैन, उनका लागि कुन निर्वाचन क्षेत्र खालि गराउने कसरत हुँदै छ कुन्नि, यसो बुझ्न पाए हुन्थ्यो।

गौतमका लागि राजीनाम ठोकेर कलियुगका रामवीरले ‘राम नाम’ देखाएका छन्। तर जनताले मनैदेखि राम नाम जप्छन् भन्ने के ग्यारेन्टी छ ? अनि केही गरी गौतम काठमाडौंबाट पनि चिप्लिए भने…। त्यो बेला गौतमसहित नेकपा नेताले भन्न बेर छैन– ‘हाम्रो विरुद्ध देशीविदेशी शक्ति लागि पर्या छन्, यो सरासर सरकार असफल गराउने खेल हो।

प्रतिक्रिया दिनुहोस्