दशैंका लागि दुई अर्बको मदिरा भित्रियो



कृष्णउदास खनाल, वीरगन्ज

दशैंका लागि लक्षित गरी वीरगन्ज भन्सारबाट करिब तीन महिनाको अवधिमा दुई अर्बभन्दा बढी मूल्य बराबरको मदिरा आयात भएको छ।चाडवाडका लागि लक्षित गरी वीरगन्ज नाकाबाट मात्रै करिब दुई अर्ब रुपियाँ मूल्य बराबरको मदिरा तथा चिसो पेय पदार्थ नेपाल भित्रिएको हो।

चालू आर्थिक वर्षको साउन १ गतेदेखि असोजको दोस्रो हस्तासम्ममा वीरगन्जका दुई नाका वीरगन्ज भन्सार र सिर्सिया सुख्खा बन्दरगाह दुवैमा दुई अर्ब ६० लाख ७८ हजार ९ सय ३३ रुपियाँ मूल्यको १ करोड ६ लाख २६ हजार चार सय ८७ लिटर मदिरा आयात भएको हो।

तुलनात्मक रूपमा गत आर्थिक वर्षको साउनदेखि असोज १५ गतेसम्म साढे दुई महिनाको अवधिको भन्दा चालू आर्थिक वर्षको त्यही अवधिमा ८४ करोड एक लाख ८३ हजार चार सय ७८ रुपियाँ बढी मूल्यको मदिरा र इनर्जी ड्रिक्स वीरगन्ज नाका हुँदै नेपाल भित्रिएको हो।

चालू आर्थिक वर्षको साउनदेखि असोज १५ गतेसम्ममा वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह नाकाबाट मात्रै एक अर्ब २० करोड ७२ लाख रुपियाँको ७५ लाख ९२ हजार सात सय ३३ लिटर मदिरा र चिसो पेय पदार्थ आयात भएको छ।

सोही अवधिमा सुख्खा बन्दरगाह नाकाबाट भने ७ करोड ३७ लाख ७० हजार ५६ रुपियाँ मूल्य बराबरको १ लाख ६७ हजार २०३ लिटर वाइन, ७७ लाख ९६ हजार ९० रुपियाँको ७७०८ लिटर ह्विस्की, रम, भोड्का र जीन तथा ५४ लाख ९ हजार ५ सय ९३ रुपियाँको २९ हजार चार सय १९ लिटर बियर नेपाल भित्रिएको छ।

वीरगन्ज नाका हुँदै नेपाल भित्रिने सबै मदिरा र इनर्जी ड्रिक्स, तेस्रो मुलुकबाट मात्रै आयात हुने गरेको कार्यालयका प्रमुख सूर्य सेढाईंले बताउनुभयो।

इनर्जी ड्रिक्स थाइल्यान्ड र भियतनामबाट, वाइन स्पेन र अष्ट्रोलियाबाट, बियर स्पेन, ब्राजिल, बेलायत, थाइल्यान्ड र स्कटल्यान्डबाट तथा ह्विस्की, भोड्का, रम र जिन भने अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, स्कटल्यान्ड र चीनबाट आयात हुने गरेको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्