नराम्रो अक्षर नलेखे डाक्टर भइँदैन ?



किरिमिरी र नबुझिने अक्षर लेखेको देखियो भने ‘कस्तो डाक्टरी अक्षर लेखेको’ भनेर विशेषण दिने गरिन्छ। अरुले सहजै नबुझ्ने अक्षर लेख्न सकेकोमा नेपाली डाक्टरहरू गर्व मान्छन्। डाक्टर पेसाले नै ठूलो हो भन्ने मान्यता हाम्रो समाजमा रहिआएको छ। सदियौँदेखि डाक्टर बन्नुलाई जीवनको महत्वपूर्ण सपना पूरा भएको ठान्ने प्रवृत्ति हाम्रो छ। सान, मान, प्रतिष्ठा र पैसा यही पेसामा छ। त्यसैले, डाक्टर बन्न चाहने युवा जमात बढ्दो छ। डाक्टरी पेसाप्रति आकर्षित हुने जमात बढेसँगै यो पेसा पछिल्लो समय त्यति नै बदनाम बनिरहेको छ। डाक्टर बन्न जेहेनदार होइन, पैसावाल हुनुपर्ने मान्यता बन्न पुगेको छ।

डाक्टरहरू आ–आफ्ना विशेषताकै कारण कोही भगवान्का रुपमा कहलिएका छन् त कोही अरु नै रुपमा आलोचित छन्। कर्मअनुसार र सेवा भावनाअनुसार डाक्टरलाई सर्वसाधारणले ‘ग्रेड’ छुट्याएका छन्। डाक्टरी पेसा विश्वमै नम्बर एकमा आउँछ। त्यसैले, यो पेसा आफैँमा संवेदनशील र जवाफदेही हुनुपर्ने मान्यता छ।

सयौँ बिरामीको स्वास्थ्य र जीवनसँग जोडिएको यो पेसा गर्व गर्नलायक त छँदै छ, उत्तिकै चुनौतीपूर्ण र अपजशे पनि छ। सयौँ उत्कृष्ट सेवा गरेर ईश्वरको उपाधि पाउने डाक्टरले एउटै गल्तीका कारण बदनाम हुन सक्छन्। डाक्टरका गुण र दोषका कुरा आ–आफ्नो ठाउँमा छ। तर अहिलेको सन्दर्भ डाक्टरको आधारभूत कुराको हो। डाक्टरहरू पनि एउटा पेसाकर्मी नै हुन्, मानिसले ईश्वरै माने पनि। उनीहरूले पनि आचारसंहिता पालना गर्नुपर्छ। तर, अधिकांश डाक्टरले लेखेको प्रेस्क्रिप्सन बुझ्न सकिँदैन। बिरामीहरू डाक्टरले लेखिदिएको प्रेस्क्रिप्सन नबुझेकै कारण फार्मेसीहरूबाट औषधि नलिई फर्किनुपर्ने बाध्यता छ।

नेपाल मेडिकल काउन्सिलको आचारसंहिताअनुसार डाक्टरले प्रेस्क्रिप्सन लेख्दा बुझिने गरी लेख्नुपर्छ। अक्षर अंग्रेजी भाषा र ठूला अक्षरमा लेख्नुपर्ने हुन्छ। तर, अधिकांश डाक्टरले यो आचारसंहिता पालना गरेको देखिँदैन। डाक्टरले लेखेको प्रेस्क्रिप्सन बिरामीले नबुझ्नु फरक कुरा भयो। तर, फार्मेसीका कम्पाउन्डरले नबुझ्नु विडम्बना हो। यस्तो समस्या देशभर नै व्याप्त छ। कतिपय फार्मेसीले अक्षर नबुझेरै उस्तै प्रकृतिको औषधि दिएर पठाउँछन्।

अनुमानका भरमा औषधि दिँदा एउटा रोगको औषधि अर्को रोगको पर्न सक्छ। यसमा जिम्मेवार को हुने, डाक्टर कि कम्पाउन्डर ?

औषधि लिन लामो लाइनमा बसेर डाक्टरको नबुझिने अक्षरकै कारण सर्वसाधारणले दुःख पाउनु कहाँसम्म अन्याय हो ? डाक्टरको अक्षर नबुझेकै कारण हचुुवाका भरमा औषधि लिँदा बिरामीले सास्ती पाएका अनेकन खबरहरू सार्वजनिक भइरहेका छन्। डाक्टरहरूका प्रेस्क्रिप्सन हेर्ने हो भने कुन भाषामा लेखिएको हो, औषधि विक्रेतालाई समेत खुट्याउन गाह्रो पर्छ। यो समस्या हालै मात्र सिर्जना भएको पनि होइन। वर्षौंदेखि चल्दै आएको यो समस्याबारे डाक्टरहरू पक्कै अनभिज्ञ छैनन्। अक्षरै नबुझी गलत औषधि दिँदा बिरामीको अवस्था तल–माथि हुन सक्छ। आफ्ना कारणले अरुले दुःख पाउनु लापरबाही हो।

काउन्सिलको आचारसंहिताअनुसार औषधिको प्रेस्क्रिप्सन लेख्दा सफा अक्षर, बिरामीको स्वास्थ्यस्थिति विवरणका साथै काउन्सिलको दर्ता नम्बरसमेत अनिवार्य लेख्नुपर्छ। तर, कतिपय डाक्टरहरूले बिरामीको रोग नै नलेखी भटाभट औषधि लेख्ने प्रवृत्ति छ। राम्रो र बुझिने गरी औषधिको प्रेस्क्रिप्सन लेख्नु भनेको खाना खानुअघि साबुनपानीले हात धुनु भनेजस्तै आधारभूत कुरा हो। चिकित्सा पेसा व्यवस्थित र मर्यादित हुन नसकिरहेको आरोप खेपिरहेका डाक्टरहरूले सर्वप्रथम औषधिको प्रेस्क्रिप्सन सफा र बुझिने गरी लेख्नु जरुरी देखिएको छ।
– सुरज तम्राकार, काठमाडौं।

बैतडी–दार्चुला जोड्ने पुल मर्मत होस्
बैतडी–दार्चुला जोड्ने चमेलिया नदीमा हरेको पक्की पुल जीर्ण बन्दै गएको छ। यसको पुनर्निर्माणमा कसैको ध्यान गएको छैन। आर्थिक वर्ष २०५९÷६० मा निर्माण गरिएको पुलले बैतडीलाई दार्चुलासँग जोडेको छ। अहिले यो निकै जीर्ण भइसकेको छ। दार्चुला–बैतडी सडकखण्डमा पर्ने सो पुल जीर्ण अवस्थामा पुगे पनि मर्मतको पहल भएको छैन।

दार्चुलालाई सडक सञ्जालसँग जोड्ने १२० मिटर लामो पुल ५ करोडमा निर्माण भएको हो। १६ वर्षअघि निर्माण पूरा भएको पुलको समयमा मर्मत र संरक्षण नहुँदा कमजोर बन्दै गएको छ। निर्माणपछि पुल अहिलेसम्म पनि मर्मत गरिएको छैन। उक्त पुल निर्माणसँगै दार्चुला सडक मार्गसँग जोडिएको हो। गुणस्तरयुक्त काम नहुँदा पुल जीर्ण बदै गएको छ।

चमेलिया पुलले बैतडी र दार्चुलाको आर्थिक वृद्धिमा टेवा पुर्याएको छ भने देशका विभिन्न स्थानबाट आउने सयाँै यातायातका साधन यही पुल भएर भित्रिने गरेका छन्। क्षमताभन्दा बढी र ठूला यातायातका साधनका कारण पुल जीर्ण बन्दै गएको हो। वर्खामा पानी पुलमै जम्मा हुने गरेको छ। पानी जम्मा भएका बेला पैदल हिँडडुल गर्नसमेत सकिन्न। यहाँ निक्कै समस्या रहेको छ।

पुलमा आवतजावत गर्दासमेत हल्लिने गरेको छ। पुलको खम्बामा खिया लागेको छ। पुल मर्मतमा स्थानीय तहले समेत चासो देखाएका छ्रैनन्। नदीले कटान गर्न थालेपछि पुल झन् जोखिममा परेको छ। बजारक्षेत्रको फोहोर फाल्ने ठाउँ पनि चमेलिया नदी बनेको छ। बैतडी–दार्चुला सडक आयोजनाले निर्माण गरेको उक्त पुलको अवधि ५–६ वर्ष मात्रै भएको बताइन्छ। यसलाई तत्काल मर्मत गर्न स्थानीय निकाय र सम्बन्धित पक्षको ध्यान जाओस्।
– प्रविनकुमार कार्की, बैतडी।

प्रतिक्रिया दिनुहोस्