टिकट काउन्टरमा बेथिति



यतिखेर दशैँ मनाउनका लागि काठमाडौं उपत्यकाबाट बाहिर जानेहरूको चाप बढेको छ। दैनिक एक लाखभन्दा बढी संख्यामा सर्वसाधारण उपत्यकाबाट बाहिरिन थालेको तथ्यांक छ। जति दिन बित्दै छ त्यति यो संख्यामा पनि बढोत्तरी हुने गरेको छ। यात्रुको चाप हुने मौका छोपेर यातायात व्यवसायीहरूले भने मौकाको फाइदा लुटिरहेका छन्।

यातायात व्यवसायीले सवारी भाडा समायोजन र समितिका रोक्का बैंक खाता फुकुवा नगरेसम्म दशैँका लागि अग्रिम टिकट बुकिङ नगर्ने अडान राखेका थिए। सरकारी पक्षले माग सम्बोधन नगरिदिने भनेपछि मात्र अग्रिम टिकट बुकिङ गर्न व्यवसायी सहमत भएका हुन्। दशैँको समयमा सरकार लचिलो भएर १० प्रतिशत भाडा वृद्धि गरिदिएपछि मात्र यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुल्ला गरेका थिए। तर अग्रिम टिकट बुकिङ पारदर्शी हुन सकेको देखिँदैन। दशैँ नजिकिँदै गर्दा टिकटमा मनलाग्दी हुने गरेको पाइएको छ।

टिकट काउन्टरमा बस्दै आएका कर्मचारीले आफन्तलाई फोनको भरमा टिकट दिने गरेका छन् भने काउन्टरका कर्मचारीसँग परिचित नभएका यात्रुले सहजरुपमा टिकट पाउन नसकेको समाचार छ। सन्धीखर्कका लागि टिकट लिन गोंगबु बसपार्कको टिकट काउन्टरमा पुगेका अर्घाखाँचीका सयौज पोख्रेल रित्तो हात फर्किए।

अग्रिम टिकट पूरै प्याक छ, अब क्याबिनमा मात्रै सिट छ भनेर उनले जवाफ पाए। गोंगबु बसपार्कको टिकट काउन्टरका कर्मचारीले फोन आएकै भरमा आफ्नो सर्टको गोजीबाट पाँचवटा अग्रिम टिकट आफ्ना नजिकका मान्छेलाई उपलब्ध गराएको तर त्यहाँ पुग्नेले टिकट नपाएको देखिनु विडम्बना नै मान्नुपर्छ। यता अग्रिम टिकट लिएकाहरूको टिकटमा गते र रकम खुलाइए पनि गाडी नम्बर नखुलाएको बताइन्छ। सो टिकटमा तोकिएको दिनमा एक घन्टाअघि बसपार्क पुगिसक्नुपर्ने काउन्टरका कर्मचारीले जनाउने गरेको समाचार छ। बसपार्कमा हुने यस्ता क्रियाकलापबाट के बुझ्न सकिन्छ भने, यहाँ अझै सिन्डिकेट चलिरहेको छ। यसको मार यात्रुलाई परिरहेको छ।

दशैँमा गृहजिल्ला जाने यात्रुहरूको सहजताका लागि ट्राफिक प्रहरीले विभिन्न स्थानमा यात्रु सहायता कक्ष राखेको भए पनि यात्रुले सहज किसिमले यात्रा गर्न पाइरहेका छैनन्। यात्रुका लागि सहजता प्रदान गर्न भन्दै बसपार्कमा सामुदायिक सेवा केन्द्र र प्रहरीको संयुक्त टोली खटिएको छ। तर सो टोलीले पनि खासै उपलब्धिमूलक काम गर्न सकेको देखिँदैन। दुःख पाउनेहरूले दुःख पाएकै छन्। हुन त प्रहरीको निगरानीले चोरी, पाकेटमारजस्ता घटना भने विगतमा जस्तो नघटेको जनाइएको छ।

यसै गरी दशैँका लागि यातायात व्यवस्था विभागले जुनसुकै रुटका सार्वजनिक सवारीसाधनलाई ३१ असोजसम्म निर्बाधरूपमा देशभरि सञ्चालन गर्न दिन रूट परमिट खुला गरेको जनाइएको छ। यस कार्यको भने सराहना गर्नै पर्छ। तर टिकट काउन्टरमा हुने गरेको बेथिति रोकी यात्रुले सहज किसिमले यात्रा गर्न पाउने व्यवस्था सम्बन्धित निकायले गर्नै पर्छ। यसका लागि तुरुन्तै कदम चालियोस्।

प्रतिक्रिया दिनुहोस्