संगीतकर्मी र पत्रकार सम्मानित



नेपाल सांगीतिक संघले बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी प्रत्येक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय विशिष्ट सांगीतिक सम्मान तथा पुरस्कार २०७५ प्रदान गरेको छ।
राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा पुष्प नेपाली विशिष्ट सांगीतिक सम्मान कलासाधक भोला जोशीलाई, लालसमुन्द्रा बहुप्रतिभाशाली विशिष्ट सांगीतिक सम्मान संगीतकार शम्भुजित बास्कोटालाई, शिवशंकर मानन्धर विशिष्ट सांगीतिक सम्मान संगीत अन्वेषक बुलु मुकारुङलाई, फत्तेमान राजभण्डारी विशिष्ट सांगीतिक सम्मान गायक आनन्द कार्कीलाई, प्रदीप रिमाल विशिष्ट सांगीतिक सम्मान रत्नशमशेर थापालाई र नेपाल सांगीतिक विशिष्ट सम्मान नृत्य निर्देशक वेद गुरुङलाई प्रदान गरियो। सबै सम्मानको राशी जनही २५ हजार रुपियाँ रहेको थियो।

त्यसै गरी मधुबाबु थापा विशिष्ट सांगीतिक सम्मान संगीतसाधक कमल क्षेत्रीलाई र कला पत्रकार सांगीतिक राष्ट्रिय सम्मान पत्रकार अनन्त वाग्लेलाई प्रदान गरिएको छ।

पुरस्कारबापत क्षेत्रीलाई १५ र वाग्लेलाई १० हजार रुपियाँ नगद प्रदान गरिएको छ। कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा तथा सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले संयुक्तरूपमा पुरस्कार तथा सम्मान प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्