राखेपको दाबी र मिति सर्ने रोग पुरानै



कविरस शर्मा
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारीको दाबीलाई गलत ठहर्याउँदै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरेको छ। मंसिरमा हुने भनिएको प्रतियोगिता अन्ततः माघमा सारिएको हो। राष्ट्रिय खेलकुद प्रतियोगिताको विगतलाई हेर्दा पनि निर्धारित समयमै आठौं राष्ट्रिय खेलकुद आयोजनाको मिति सर्नुलाई पुरानै रोगको निरन्तरता भन्न सकिन्छ। नयाँ र प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रत्येक २÷२ वर्षमा आयोजना गर्ने भनिए पनि पटक–पटक मिति सर्ने गरेको राष्ट्रिय खेलकुदको इतिहासले देखाउँछ।

नेपालमा विसं २०३८ सालमा पहिलो पटक राष्ट्रिय खेलकुद आयोजना भएयता तीन संस्करणमात्र नियमितरूपमा सञ्चालन भएका छन्। पहिलो संस्करण २०३८ साल भदौ २७ देखि असोज ४ गतेसम्म काठमाडौंमा आयोजना भएको थियो। त्यसको दुई वर्षपछि पोखरामा दोस्रो संस्करण सम्पन्न भएको थियो।

यसैगरी तेस्रो संस्करण पनि निर्धारित समयमै २०४२ साल फागुन २३ देखि चैत १ गते सम्म वीरगन्जमा आयोजना भएको थियो। त्यसपछि भने राष्ट्रिय खेलकुदले निर्धारित समयमा निरन्तरता पाउन सकेको देखिँदैन। तेस्रो संस्करण सम्पन्न भएको १३ वर्षपछि मात्र २०५५ साल चैत ८ देखि १४ गतेसम्म नेपालगन्जमा चौथो संस्करण आयोजना भएको थियो।

त्यसपछि चौथो र पाँचौ संस्करणको बीचमा पनि १० वर्षको अन्तर रहन पुग्यो। २०५८ साल जेठ २१ गते पाँचौ संस्करणको उद्घाटन समारोहका लागि सम्पूर्ण तयारी भइसकेको थियो, तर त्यसको दुई दिनअघि राजदरबार हत्याकाण्डजस्तो अकल्पनीय घटना घटेपछि नयाँ मितिका लागि एक दशक कुर्नुपरेको थियो। पाँचौं संस्करण २०६५ साल चैत २४ देखि ३० गतेसम्म काठमाडौंमा आयोजना भएको थियो। पाँचौं संस्करण सम्पन्न भएको तीन वर्षपछि २०६८ साल फागुन १४ देखि २१ गतेसम्म छैटौं संस्करण सुदूरपश्चिमाञ्चलको कैलाली र कञ्चनपुरमा आयोजना भयो।

नेपाली खेलकुदको दुर्भाग्य नै मान्नुपर्छ, छैटौं र सातौं संस्करणको बीचमा पनि पाँच वर्षको अन्तर रहन पुग्यो। सातौं संस्करण २०७३ साल पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलका विभिन्न ६ जिल्लामा आयोजना भएको थियो। यस अर्थमा २०४२ सालमा सम्पन्न तेस्रो संस्करणपछि राष्ट्रिय खेलकुद निर्धारित समयमा आयोजना हुन सकेको छैन।

नेपालमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन थालेको ३७ वर्ष बितिसक्दा पनि हालसम्म केवल ७ वटा संस्करण मात्र आयोजना हुन सकेका छन्। प्रत्येक दुई–दुई वर्षमा राष्ट्रिय खेलकुद आयोजना गर्ने भनिए पनि यसले निरन्तरता पाउन सकेको छैन।

किन सर्यो मिति ?
भौतिक पूर्वाधार निर्माणमा ढिलाइका कारण नेपालगन्जमा पूर्वघोषित समयमै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन नसकेको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताएका छन्।

ओलीले खेलकुद पूर्वाधार निर्माणका लागि रोकिएको बजेट प्राविधिक टोलीको प्रतिवेदनका आधारमा समयमै निकासा नहुनु तथा साउन र भदौको मध्यसम्म वर्षाका कारण डेढ महिना भौतिक निर्माणको ढिलाइले गर्दा यसअघि मंसिरमा भनिएको प्रतियोगिता सरेको उनले बताए। ककनीमा बसेको पछिल्लो बैठकबाट प्रतियोगिताका लागि थप रकम निकासाका लागि खेलकुदमन्त्री आफैं लाग्नुभएको पनि उनले बताएका छन्।

अहिले नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको छ। राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगन्ज रंगशालामा खेलकुदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ।

नयाँ मिति घोषणा भएपछि अध्यक्ष ओलीले केही कठिनाइका बाबजुद पनि सारिएको मितिमा नै प्रतियोगिता आयोजना गर्न कुनै कसर बाँकी नराख्ने अठोट समेत व्यक्त गरे।

उनले भने– ‘अहिले विशेष गरी १३ वटा प्रोजेक्टमा काम अघि बढेको छ। जसमध्ये नेपालगन्ज रंगशाला, सुटिङ रेन्ज, भारात्तोलन, पौडी पोखरी, कभर्ड हल मर्मत, जुडो एकेडेमी, भलिबल स्टेडियम र क्रिकेट मैदानको निर्माण तीव्र गतिमा भइरहेको छ। नयाँ मिति तोकेपछि हामीसँग अहिले करिब ४ महिनाको समय शेष रहेको छ। सम्पूर्ण भौतिक संरचना निर्माणलाई दाँज्ने हो भने अहिले औसतमा ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ। बाँकी काम भने आगामी ४ महिनाभित्र पूरा हुनेछ।’

पूर्वाधार निर्माणअन्तर्गत नेपालगन्ज रंगशालास्थित कभर्ड हलको स्तरोन्नतिको काम सम्पन्न भइसकेको छ। रंगशाला क्षेत्रको बाहिर रहेको कभर्ड हलको छाना आधुनिक बनाइएको छ। भुइँमा फ्लोरिङ गर्ने काम पनि सकिएको अध्यक्ष ओलीले बताए।

रंगशाला क्षेत्रमा झन्डै १८ करोडको लागतमा पौडी पोखरी र २४ करोडको लागतमा प्यारापिटसहितको अत्याधुनिक रंगशाला निर्माण भइरहेको छ। पूर्वाधार निर्माणअन्तर्गत रंगशालामा सात करोडको लागतमा ‘ट्र्याक एन्ड फिल्ड’ निर्माणको काम पनि धमाधम भइरहेको छ। रंगशाला क्षेत्रभित्रै भारोत्तोलन एकेडेमी, सुटिङ रेन्ज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सुटिङका लागि आवश्यक एअर पेस्तोल र एयरगन खरिद प्रक्रिया पूरा भइसकेको छ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल बाँकेको कोहलपुर, बर्दिया र दाङमा पनि हुनेछन्। त्यसका लागि बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदान वरिपरि पर्खाल निर्माण, दाङको बेलझुण्डीमा २५ करोडको लागतमा रंगशाला र बर्दियाको गुलरिया र ठाकुरद्वारामा खेलमैदान तथा कभर्ड हल मर्मत एवं निर्माण भइरहेको छ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बर्दिया राष्ट्रिय निकुञ्जको पहिचान झल्किने गरी हात्तीको छावालाई ‘मस्कट’ का रूपमा पारित गरिएको छ। खेलकुदमन्त्री एवं प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको समितिको बैठकले प्रतियोगिताको नयाँ मिति सार्नुअघि अहिलेसम्म पूर्वाधार निर्माणको कामको समीक्षा पनि गरेका थिए।

प्रतियोगिता समयमै आयोजना गर्न संघीय, प्रदेश नं ५ र त्यसअन्तर्गतका स्थानीय सरकारसँग क्षेत्रीय खेलकुद विकास समितिले सबैखाले सहयोग, सहकार्य र अपनत्व ग्रहण गर्न आग्रह गर्दै आएको छ। अध्यक्ष ओलीले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि यस क्षेत्रका खेलाडीको बन्द प्रशिक्षण पनि चाँडै शुरू गरिने जानकारी दिए।

आगामी माघ अन्तिम साता अथवा फागुनको पहिलो साता मिति सारिएको नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेलमा करिब ५ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ। आठौं बृहत राष्ट्रिय प्रतियोगितामा पहिलो पटक ७ प्रदेश र ३ विभागीय टोलीबीच प्रतिस्पर्धा हुनेछ। शुरूमा अञ्चलबीच भएको राष्ट्रिय खेलकुद प्रतियोगिता परिमार्जित हुँदै ५ विकास क्षेत्रबीचको प्रतिस्पर्धामा बदलिएको थियो। जुन सातौं राष्ट्रिय प्रतियोगितासम्म कायम थियो।

खेल भावनाको अभाव

चरम आर्थिक समस्या, राजनीतिको प्रत्यक्ष प्रभाव, खेल भावना भएका पदाधिकारीको अभाव, खेल निकायमा राजनीतिक दलका कार्यकर्ताको नियुक्तिजस्ता कारणले नेपाली खेलकुदको यो समस्या देखिएको हो। राष्ट्रिय खेलकुद नियमितरूपमा आयोजना हुन नसकेको कारण नै हाम्रो देशमा प्रतिभावान् खेलाडीको अभाव देखिन्छ। अब आठौं संस्करण पनि आगामी मंसिरबाट माघमा सरेको छ। यसबाट नेपाली खेलकुदको पुरानो रोगले फेरि राखेपलाई ग्रस्त पारेको छ।

खासगरी मुलुकमा २०४६ सालको राजनीतिक परिवर्तनपछि राष्ट्रिय खेलकुदको कुनै पनि संस्करण निर्धारित समयमा आयोजना हुन सकेको देखिँदैन। यसको मुख्य कारणको रूपमा देशको अस्थिर राजनीति, खेलकुदलाई अनुत्पादक क्षेत्रको रूपमा हेर्ने सरकारी नीति, खेलकुद क्षेत्रमा देखिने राजनीतिक खिचातानी, खेल पदाधिकारीको निहित स्वार्थजस्ता विषयलाई लिन सकिन्छ।

विश्वका हरेक राष्ट्रले प्रतिभावान् खेलाडी उत्पादन गर्नका लागि नियमितरूपमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने गर्दछ। खेलकुदका प्रतिभा सुगम ठाउँमा मात्र नभई देशको विकट ठाउँमा पनि लुकेर रहेका हुन्छन् भन्ने मान्यतालाई आधार बनाएर नियमितरूपमा यस्तो प्रतियोगिता गर्ने गरिन्छ।

राष्ट्रिय प्रतियोगिताअघि देशको तल्लो तहदेखि नै छनोट प्रतियोगिता आयोजना गर्ने गरिन्छ। तल्लो तहका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी क्रमशः छनोट चरण पार गर्दै मुख्य प्रतियोगितासम्म आइपुग्छन्। यसरी छनोट भएर आएका खेलाडीले राष्ट्रियस्तरका चर्चित खेलाडीसँग प्रतिस्पर्धा गरेर आफ्नो क्षमता देखाउने अवसर पाउँछन्।

त्यसैले नयाँ र क्षमतावान् प्रतिभा खोजी गर्ने सबैभन्दा प्रभावकारी माध्यम हो– बृहत् राष्ट्रिय खेलकुद। राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई लामो समयसम्म प्रशिक्षणमा राखेर उनीहरूको कुशलता तिखार्नेसमेत काम गरिन्छ। यसरी तयार पारिएका खेलाडीलाई पदकका लक्ष्यसहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइन्छ।

यो निरन्तररूपमा चलिरहने प्रक्रिया हो। एउटा राष्ट्रिय प्रतियोगिता सकिएलगत्तै तल्लो तहका खेलाडी पुनः अर्को प्रतियोगिताका लागि तयारीमा व्यस्त हुन्छन्। यसका लागि सम्बन्धित खेल संघले नियमितरूपमा गाउँ, नगर, जिल्ला, अञ्चल, प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरिरहेका हुन्छन्। यसरी दक्ष र प्रतिभाशाली खेलाडीको खोजी र उत्पादन गर्न हरेक देशमा राष्ट्रिय प्रतियोगिताले महवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ।

सातौंबाट सिक्नु र सुधार्नुपर्ने

पछिल्लो पटक पूर्वाञ्चलमा आयोजित सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता धेरै कमीकमजोरीसहित सम्पन्न भएको थियो। त्यसबाट आठौंले सिक्नु र सुधार्नुपर्ने देखिन्छ। उक्त प्रतियोगितामा भौतिक पूर्वाधारका कमी कमजोरी प्रष्टिएका थिए।

नेपाली खेलकुदको ओलम्पिकका रूपमा रहेको यस प्रतियोगिताका केही खेलमा विवाद भएका थिए भने केहीमा खेलाडीले चरम अनुशासनहीनताको नमुनासमेत प्रस्तुत गरेका थिए। यस्तै खेलस्थलको अपूरो अवस्थादेखि खेलाडीको वासस्थान र व्यवस्थापनमा समेत त्रुटि देखिएका थिए। प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने प्रतियोगिता त्यसबेला पनि तीन पटकसम्म मिति सारेर आयोजना गरिएको थियो।

त्यतिबेला भारतीय नाकाबन्दी, भूकम्प, र खेल पूर्वाधारको कमीजस्ता यावत् कारणले प्रतियोगिताको मिति बारम्बार सारिएको थियो। त्यसका बाबजुद पनि प्रतियोगिता आयोजना सम्पन्न गर्नु सुखद पक्ष थियो, तर अहिले भने त्यस्तो अवस्था छैन। त्यतिबेला पूर्वाधारको उचित व्यवस्थाबिना नै प्रतियोगिता सञ्चालन हुँदा खेलाडीहरू त्यसको प्रत्यक्ष मारमा परेका थिए।

एकातिर खेल हुँदै, अर्काेतिर पूर्वाधार तयार गर्दै गर्दा राष्ट्रिय खेलकुदजस्तो प्रतियोगिताको गरिमामाथि नै प्रश्न चिहरन खडा भएको थियो। केही खेल पूर्वाधारको अभावका कारण अँध्यारो कभर्डहल र पालमुनिको खेलाइएको थियो। कुनै कुनै खेलमा त यतिसम्मको हेल्चेक्र्याँइ भएको थियो कि कभर्डहलभित्र नै खेलाउनुपर्ने प्रतियोगितासमेत खुला आकाशमुनि खेलाइएका थिए। यथेष्ट सामग्रीबिना नै प्रतियोगिता गराइनु र केही स्पर्धा आवश्यक संरचनाबिना नै त्रिपालमुनि समेत सञ्चालन गर्नाले राष्ट्रिय खेल महोत्सवको स्तर खस्केको बोध गराएको थियो। पहिलेझैं यसपटक पनि खेल पूर्वाधार निर्माणका लागि सरकारले आवश्यकताअनुसार रकम उपलब्ध गराउने भनिएको छ, तर यसको लेखाजोखा भने भविष्यमा खेलस्थलको अवस्थाले अवश्य पनि पुष्टि गर्नेछ।

अर्कोतिर छैठांैभन्दा सातौं संस्करणमा खेलाडी भत्तामा गरिएको ६ सय रुपियाँ वृद्धि स्वागतयोग्य बने पनि महँगीका कारण धेरैजसो खेलाडीले उक्त रकम अपुग भएको भन्दै विरोध गरेका थिए। खेलाडीले खानपान, होटलमा बस्न र यातायात खर्चमा देखिएको महँगीका कारण उक्त रकम अपुग भएकाले विरोध गरेका थिए। जसका कारण होटलको एउटै कोठामा तोकिएकोभन्दा दोब्बर संख्यामा खेलाडी बस्नु परेको बाध्यतासम्म देखिएको थियो।

यतिमात्र होइन, सातौं राष्ट्रिय प्रतियोगिताका केही खेलमा खेलाडीले अनुशासन तोडेका घटनाले भने राष्ट्रिय खेलकुद प्रतियोगिताको गरिमामाथि नै व्यंग्य गरेको थियो। प्रतियोगिता भइरहँदा खेलाडीले आफ्नो अनुशासन बिर्सेर मैदानमा झैझगडा गर्नुदेखि खेल निष्पक्षरूपमा नखेलाइएको भन्दै खेलका प्रशिक्षकलाई समेत खेलाडीले हातपात गर्नु लज्जाजनक घटना बनेको थियो। खेलाडी त खेलाडी निर्णायकसमेत खेल अनुशासन तोड्न पछि परेका थिएनन्। निर्णायकले नौलो नियम लागू गर्दा खेलको अस्तित्वमाथि नै प्रश्न चिहरन खडा भएको थियो।

यीबाहेक भत्ता रकम अनियमितता नहोस् भनेर खेलाडी आफैंले भत्ता बुझ्ने नयाँ नियमचाहिँ सकारात्मक कदम थियो। यी सबै घटनाक्रमलाई सूक्ष्मरूपले विश्लेषण गरी आगामी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खाका कोरेमा मात्र राष्ट्रिय खेलकुद प्रतियोगिताको स्तरले सही उचाइ पाउनेछ।

प्रतिक्रिया दिनुहोस्