सभापति देउवाको गृहजिल्लामै काँग्रेस भित्रको गुटबन्दी छताछुल्ल



राम धामी, डडेल्धुरा ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा काँग्रेस भित्र गुटबन्दी र अराजकता बढदै गएको छ । पार्टीमा विधी पद्धती र जिल्लास्तरीय नेतृत्व स्थापित हुन नसकेको भन्दै कार्यकर्ताहरुले गम्भीर चिन्ता ब्यक्त गरेका छन ।

नेपाली काँग्रेस अमरगढी नगर कार्यसमितिले आयोजना गरेको बडादशैं २०७५ को शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली काँग्रेस डडेल्धुराभित्र बढ्दो गुटबन्दी छताछुल्ल भएको हो । कार्यक्रममा नेपाली काँग्रेस डडेल्धुराको संस्थापन पक्षका केहि नेता कार्यकर्ताहरुमात्रै सहभागी थिए ।

“जिल्लास्तरीय सबै नेता कार्यकर्ताहरुलाई आमन्त्रण गरेका हौ ।” औपचारिक कार्यक्रमको सञ्चालन गरिरहेका नेपाली काँग्रेस अमरगढी नगर कार्यसमितिका सचिव रमेशप्रसाद भट्टले भने, “भावनातमक एकता हुनेगरि बडादशैंको शुभकामना आदान प्रदान गर्ने कार्यक्रममै पार्टीका अधिकांस जिल्लास्तरीय नेता कार्यकर्ताहरु सहभागी नहुनु बिडम्बना हो ।”

नेपाली काँग्रेस अमरगढी नगर कार्यसमितिका सभापति दानबहादुर पालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी नेता कार्यकर्ताहरुले जिल्लास्तरमा पार्टीमा बढदै गएको गुटबन्दी र अनुशासनहिनता प्रति गम्भीर चिन्ताकासाथै तिब्र असन्तुष्टीसमेत ब्यक्त गरेका छन् । कार्यक्रममा शुभकामना मन्तव्य ब्यक्तगर्दै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी हरिप्रसाद भट्टले नेपाली काँग्रेस डडेल्धुरालाई एकीकृत र एकतावद्ध बनाएर लैजान नसकिए पार्टीको अश्तित्वनै धरापमा पर्ने बताए । उनले जिल्लामा बढ्दो गुटबन्दीको अन्त्य गर्न नेताहरुलाई आग्रह गरे ।

कार्यक्रममा विचार ब्यक्तगर्दै नेपाली काँग्रेस डडेल्धुराका पाका नेता भरत नेपालीले असत्य माथि सत्यको विजय भएको उपलक्ष्यमा मनाईने बडादशैंले सबैलाई सत्यको बाटोमा हिडने प्रेरणा दिनुपर्ने बताए । उनले पार्टी नेतृत्वको चाकडी च्याप्लुसी गरेर राजनीतिक दुनो सोझ्याउनेहरुको बोलवाला भएको बताउदैं पार्टी सभापति शेरबहादुर देउवाले जिल्लामा बढदो गुटबन्दी र अराजकता नियन्त्रण गर्न नसकेकोमा रोष ब्यक्तगरे । कार्यक्रममा बोल्दै निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष श्याम ओझाले भावनात्मक रुपमा पार्टीभित्रको एकता मजबुत बनाउन बडादशैंले प्रेरणा प्रदान गर्ने बताए ।

नेपाल ट्रेड युनियन काँग्रेस डडेल्धुराकी सचिव निर्मला बिष्ट बोगटीले पार्टीमा बढ्दो गुटबन्दी र अराजकताका कारण कार्यकर्ता पंक्ति विचल्लीमा परेको जिकिर गरिन् । उनले चरित्रवान भएर पार्टीमा कृयासिल हुने महिलाहरु पछाडी परेको जिकिरगर्दै अनैतिक र अराजकहरुको बोलवाला भएकोमा दुःख ब्यक्त गरिन् । गन्यापधुरा गाँउपालिका–१ का वडाध्यक्ष चेतराम भट्टले काँग्रेस एकतावद्ध भएमात्रै जनताले राहात पाउने बताए ।

कार्यक्रमलाई सम्बोधनगर्दै नेपाली काँग्रेस डडेल्धुराका कार्यवाहक सभापति करुणाकर भट्टले पार्टीभित्र बढदो गुटबन्दीको अन्त्यका लागि पार्टी विधीसम्मत सञ्चालन हुनुपर्ने बताए । उनले पार्टीको जिल्ला नेतृत्वलाई वाईपास गरेर काँग्रेस अघि बढन नसक्ने दाबीगर्दै पार्टीका केन्द्रीय सभापति देउवाको संरक्षणमा केहि जिल्लास्तरीय नेताहरुले गुटबन्दीको राजनीति गरिरहेको आरोप लगाए । पार्टीका नेताहरुले ब्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर दलगत स्वार्थमा जुटनुपर्ने बताउदै उनले पार्टीलाई विधिसम्मत बनाउनका लागि पार्टीका केन्द्रीय सभापति देउवाले गृहजिल्लाबाटै सुरुवात गर्नुपर्ने विचार ब्यक्तगरे ।

पार्टी र संगठनको काम नगर्ने तर नेता बनिराख्ने प्रवृतीको अन्त्य हुनुपर्ने कार्यक्रममा सहभागी अधिकांस नेता कार्यकर्ताहरुको सुझाव छ । कार्यक्रममा सभापति नगर सभापति पालले स्थानीय तहको निर्वाचनका बेला टिकट बेच्ने र अन्र्तघात गर्नेहरु हाल पार्टीमा वर्चश्व देखाउदै पार्टीलाई कमजोर बनाउन सकृय रहेको र त्यस्ता नेताहरुलाई पार्टीले कारवाही गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्