घुमाउन लगेर सामुहिक बलात्कार



यमलाल भुसाल, बुटवल ।
प्रदेश ५ को राजधानी रहेको जिल्ला रुपन्देहीको बुटवलमा जवरजस्ती करणीको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
गत मंगलबार शिवनगर सामुदायिक जंगलमा १६ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका वडा नं. १० चरंगेका ३५ वर्षीय उदय थापा र बुटवल उपमहानगरपालिका वडा नं. ७ शिवनगरका २६ वर्षीय कृष्ण थापा क्षेत्रीलाई पक्राउ गरि मुद्धा दर्ताको तयारी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक हृदय थापाले जानकारी दिनुभयो ।

मजदुरी गर्ने उनीहरुले ललाई फकाई गरि घुम्न लगेको र जंगलमा लगेर जवरजस्ती करणी गरेको पिडित युवतीले वडा प्रहरी कार्यालय बुटवलमा उजुरी गरेपछि घटना बाहिर आएको थियो ।

युवतीले दिएको उजुरीका आधारमा प्रहरीको थप अनुसन्धानबाट घटनास्थलमा प्रयोगभएका कण्डम र त्यसको खोल तथा फुटेका चुरा सबुदहरु फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले बताउनु भयो ।

घटनाको प्रारम्भिक अध्ययनबाट सामुहिक बलात्कार भएको हुनसक्ने देखिएकाले प्रहरीले थप अनुसन्धान गरिरहेको अन्य शंकास्पद व्यक्तिहरुको खोजीकार्य भईरहेको प्रहरी निरिक्षक ऋषिराम घर्ती मगरले बताउनु भयो ।

प्रहरीले बिहिबार बिभिन्न अपराधिक घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका व्यक्तिहरुलाई सार्वजनिक गरेको थियो । त्यसैक्रममा प्रहरीले सुनजस्तै बस्तु देखाई ठगि गरेको अभियोगमा अन्य दुई जनालाई पक्राउ गरेको छ ।

गत सोमबार साँझ बुटवल उपमहानगरपालिका वडा नं. २ को फूलवारी गेट नजिकै जिल्ला रुकुम घर भै दाङ तुल्सिपुर ५ वस्ने नरहरी घर्तीसंग २१ लाख २५ हजार नगद रुपैंया ठगि गरेको अभियोगमा प्रहरीले फोक्सिङ् गाउँपालिका गुल्मी घर भई हाल रुपन्देहीको देवदह १० चरंगेमा बस्ने २७ वर्षी राजु परियार र सनही गाउँपालिका वडा नं. ६ पढहरी नवलपरासीका ३१ वर्षीय समिर भन्ने अब्दुल गनिलाई पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानका आधारमा राज भन्ने राजु परियारले आफूसंग सुनको ढिक्का भएको र पैसा लिएर बुटवल आउन आग्रह गरेपछि त्रिवेणी गाउँपालिका वडा नं. ६ का हाल तुल्सीपुर उपमहानगरपालिका वडा नं. ५ दाङ् बस्ने २३ वर्षीय नरहरी घर्ती बुटवल आएका थिए । साँझको समयमा सुनजस्तो देखिने पहिलो ढिक्का हातमा थमाएर २१ लाख २५ हजार रुपैंया ठगि गरेको प्रहरीले जनाएको छ ।

ठगि घटनाको मुख्य योजनाकारको रुपमा रहेको राजुले सहयोगीहरुलाई रकम बाँडफाँड गरी आफ्नो भागमा परेको पैसा चरंगे आफ्नै घर पछाडी खाल्डो खनी पुर्दै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उसको साथबाट प्रहरीले भारतीय नम्बर प्लेटको मोटरसाईकल, १२ लाख रुपैंया नगद, सुनजस्तै देखिने पहेलो ढिक्का १ थान र सिमकार्ड सहितको मोवाईहरु बरामद गरिएको र थप अनुसन्धान पनि भईरहेको प्रहरीले जनाएको छ ।

नक्कली सुन देखाएर सवा २१ लाख लुट्ने दुई पक्राउ

त्यस्तै प्रहरीले भारतबाट चोरी पैठारी गरि अवैधरुपमा नेपाल भित्र्याएको ५ हजार हाँसका चल्ला नष्ट गरेको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ लेखहवा स्थित निसार मुसलमानको कुखुरा खोरमा अवैध रुपमा चोरी पैठारी गरी ल्याएको हाँसका चल्ला बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्