कपडा पसलको आडमा ब्राउनसुगर कारोबार



नेपाल समाचारपत्र, बाँके
नेपालगञ्जमा कपडा पसलको आडमा ब्राउनसुगरको ‘डिलर’ नै सञ्चालन गरेको खुलासा भएको छ ।

न्यूरोडमा रहेको सत्यम फैन्सी बस्त्रालयका सञ्चालक अरुण जयसवाल ठूलो मात्रामा ब्राउनसुगरसहित पक्राउ परेका हुन् । ठूलो कपडा पसल सञ्चालन गरेका जयसवालले ब्राउनसुगरको धन्दा गर्ने कुरा प्रहरीलाई विशेष सुराक आएको थियो । प्रहरीले रंगेहात समात्ने मौका कुरेर बसेको स्रोतले बतायो ।

ब्राउनसुगरको कारोबार गरिरहेको थाहा पाएपछि बुधबार छापा मारेको प्रहरीले जनाएको छ । दश हजारको ब्राउनसुगर बेच्न ठिक्क परेका जयसवालको पसलमा खानतलासी गर्दा २३ ग्राम चार सय मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

बुधबार नै जमुनाहा नाकाबाट प्रहरीले फरक फरक व्यक्तिबाट सात ग्राम ब्राउनसुगर बरामद गरेको छ । लागु औषध नियन्त्रण ब्यूरोको टोलीले भारतबाट आएका व्यक्तिलाई खानतलासी गर्दा ब्राउनसुगर बरामद गरेको हो ।

ब्यूरोले चिसापानीका रमेश डाँगी र मनोज विकको साथबाट चार ग्राम तथा कोहलपुरका जंगबहादुर थापाको साथबाट तीन ग्राम ब्राउनसुगर बरामद गरेको छ । रमेश र मनोजसँगै आएका थिए । थापा छुट्टै थिए ।

प्रहरीले एकै दिन ३० ग्राम चार सय मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । एकै दिन यत्तिका धेरै ब्राउनसुगर बरामद हुनुले नेपालगञ्जमा यसको कारोबारको अवस्था देखाउँछ ।

सीमावर्ती भारतीय बजारमा खुल्लमखुल्ला सहजै पाइने ब्राउनसुगर बोकेर नेपाली कारोबारी तथा प्रयोगकर्ताहरु नेपाल प्रवेश गर्ने गर्दछन् । प्रहरीले विशेष सुराक पाएपछि मात्रै ब्राउनसुगर बरामद गर्न सक्षम हुने गरेको पाइन्छ ।

सूचना नहुँदा त सीमामा दैनिक सयौ व्यक्ति हिड्डुल गर्छन् । उनीहरुलाई जाँच गर्न सम्भव नै हुँदैन । विशेष सूचना र शंका लागेका व्यक्तिलाई प्रहरीले नाकामा रोकेर सोधपुछ र खानतलासी गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्