सबै नेपालीले बिमा गर्न जरुरी



नेपालमा केही समयपहिले छ्यापछ्याप्ती मौलाएको नेटवर्किङ व्यापारमा बिमा गर्नेलाई असर गरेको छ । नेपालको बिमा बजार अहिले सानो र साँघुरो अवस्थामा छ ।

बिमा कम्पनीहरूको संख्यात्मक वृद्धि र कारोबारका आधारमा समेत वृद्धि भइरहेको देखिए पनि वास्तविक रूपमा बिमा आधार बढाउनका लागि पर्याप्त पहल भएको भने छैन । बिमा समिति नेपालका अनुसार अहिले जनसंख्याको दश प्रतिशतमा बिमाको पहुँच पुगेको छ, जुन गतवर्षसम्म केवल ८ प्रतिशतको हाराहारीमा मात्र थियो । यसरी देशका ९० प्रतिशत जनसंख्यामा बिमाको पहुँच नपुग्नु भनेको समग्र बिमा प्रणालीकै कमजोर अवस्था हो । यसमा ध्यान जान जरुरी छ ।

बिमाको बारेमा नेपाली जनतामा भएको भ्रम चिर्नु जरुरी छ । बिमासम्बन्धी सचेतना बढाउनका लागि चालिएका कदमहरू पर्याप्त नहुँदा आमनागरिकमा बिमासम्बन्धी बुझाइ नै कमजोर छ । २०७२ सालको भूकम्पपछि बिमा गर्नेहरूको संख्या केही बढेको देखिए पनि बुझेर भन्दा बाध्यकारी अवस्थामा यस्तो संख्या बढेको हो । जबसम्म मानिसमा बिमाको आवश्यकताबारे सही ढंगले सचेतनाले विकास गरिँदैन, तबसम्म बिमितहरूको संख्या बढ्ने अपेक्षा गर्न सकिँदैन ।

अहिले निर्जीवन बिमामा भवन तथा सवारीसाधनको बिमा बाध्यकारी अवस्था मात्र हुने गरेको छ । जोखिमविरुद्ध सुरक्षा लिनका लागि भन्दा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन बाध्यतावश बिमा गर्नुपरेको गुनासो धेरैको सुनिन्छ ।

विशेष गरी जीवन बिमाका क्षेत्रमा अझै पनि आमनागरिकमा किन बिमा गर्नुपर्छ र यसले जीवनकालमा र आफ्नो निधनपछि के–के फाइदा हुन्छ भन्ने विषयमा पर्याप्त सचेतना बढाउन सकेको छैन । एउटा अध्ययनअनुसार पहिले १५ प्रतिशत जनसंख्यामा मात्र बिमासम्बन्धी जानकारी रहेको देखिएको छ । यो बिमासम्बन्धी नियामक निकाय र समग्र बिमा व्यवसायीहरूको कमजोरीको प्रतिफल हो ।

नेपालमा अहिले १८ वटा जीवन बिमा कम्पनीसहित कुल ३९ वटा बिमा कम्पनीहरू क्रियाशील छन् । यी बिमा कम्पनीहरूले वर्षमा करिब २० अर्ब रुपियाँबराबरको बिमा प्रिमियम संकलन गर्ने गरेका छन् । यसअनुसार बिमा दाबी भुक्तानी पनि बढेको र बिमा कम्पनीहरूको नाफा आधार पनि बढ्दै गएको बिमा समितिको प्रतिवेदनबाट देखिन्छ । नाफाको आधार वृद्धि हुनलाई कारोबारको स्तरमा पनि वृद्धि हुनुपर्ने सर्त रहन्छ । बिमा कम्पनीहरूले गर्दै आएको कारोबार गर्ने हो भने बिमा व्यवसाय विस्तारका लागि कम्पनीहरूले ठोस पहल भने गरेको देखिँदैन ।

सीमित ढंगले गरिएको विज्ञापन वा प्रसारप्रसार मात्र बिमा कारोबार बढाउनका लागि पर्याप्त हुँदैन । यसका लागि तल्लो तहबाटै बिमा सचेतना बढाउनु आवश्यक देखिएको छ । पाठ्यक्रममै बिमा शिक्षा समावेश गर्नका लागि शैक्षिक सामग्रीहरूको विकासका साथै नागरिक तहसम्म सरल भाषामा बिमा जानकारी प्रवाह गर्ने प्रणाली बनाई बिमा सचेतना बढाउन सकिन्छ । अहिले बिमाक्षेत्रमा जम्मा हुँदै गएको जोखिम कम गर्ने हो भने बिमा कम्पनीहरूको कारोबार व्यवसायलाई विविधीकरण गरिनै पर्छ ।

हालैका दिनहरूमा बिमा कम्पनीहरूले आफ्नो कारोबारस्तर बढाउन बिमा अभिकर्ताहरूको संख्या बढाउँदै लगेका छन् तर बिमा अभिकर्ताहरूले आफ्नो कारोबार बढाउनका लागि सर्वसाधारणलाई सही जानकारी प्रवाह गर्नुभन्दा कृत्रिम मुनाफा वा अन्य किसिमका आर्थिक लाभको प्रलोभन देखाई बिमा गराउने क्रम बढेको छ । सही जानकारीविना यसरी बिमितहरूको संख्या बढ्दा तत्कालका लागि बिमा कम्पनीहरूको नाफा लक्ष्य पूरा होला, भविष्यमा गएर बिमितहरूले पहिले देखाइएअनुसारको आर्थिक प्रतिफल पाउन सकेनन् भने त्यसबाट जन्मने परिणामका विषयमा अहिले नै नियामक निकायसहित बिमा कम्पनीहरूले पनि गम्भीर हुनु जरुरी छ । सरकारले पनि विशेष पहल गर्नु जरुरी छ ।
– सागर थापा, मनमैजु, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्