‘नागरिकको हौसला र उत्साह आवश्यक’



काठमाडौं, (नेस)
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले प्रदान गर्ने सेवा तथा सुरक्षालाई थप चुस्त बनाउन नागरिक समाजको हौसला एवं उत्साह आवश्यकता रहेको बताउनुभएको छ ।

महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटो, ललितपुरको जनसहभागिताबाट नवनिर्मित कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्दै खनालले उक्त कुरा बताउनुभएको हो ।

सो अवसरमा उहाँले भौतिक साधन स्रोतको अभावका बावजुद पनि नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धान, नागरिकको सुरक्षा र ट्राफिक व्यवस्थापनमा राष्ट्रले सुम्पेको जिम्मेवारी अहोरात्र खटिएर निर्वाह गर्दै आएको चर्चा गर्नुभयो ।

नागरिकको सहभागितामा निर्माण भएको उक्त भवन उदाहरणीय रहेको चर्चा गर्दै महानिरीक्षक खनालले निर्माणकार्यमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीदाताहरुप्रति आभार प्रकट गर्नुभयो । सुन्दर नवनिर्मित भवन जस्तै ट्राफिक प्रहरीको बोली, वचन, व्यवहार र कार्यशैली पनि त्यतिकै सुन्दर र उत्कृट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले भवन निर्माण समितिका पदाधिकारी तथा भवन निर्माणका लागि १ लाख भन्दा माथि नगद तथा जिन्सी सामान सहयोग गर्ने संघसंस्था तथा प्रतिनिधिहरुलाई सम्मानपत्र समेत प्रदान गर्नुभयो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, भवन निर्माण समितिका एवं सुमेरु ग्रपुका अध्यक्ष भरत महर्जन र भवन निर्माण समितिका सल्लाहकार कनक मणि दिक्षित समेतले आ(आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुमार पन्तले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा भवन निर्माण समितिका कोषाध्यक्ष रामकाजी अवालेले भवन निर्माण सन्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै उक्त भवन २ करोड १५ लाख ९५ हजार ६ सय ८१ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्