कहिलेसम्म भारतीय बजार धाउने ?



हामी यहाँका सबै किनमेलका लागि सधैँभरि रुपैडिहा जानुपर्ने बाध्यता छ । रुपैडिहाका पसलमा नेपाली ग्राहकको खुट्टा राख्ने ठाउँ हुँदैन । यहाँका व्यापारी भने झिँगा धपाएर बस्नुपरेको अवस्था छ । नेपालगञ्जमै व्यापारीहरुले नयाँ–नयाँ सामान मगाए पनि सस्तो पाइने लोभमा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहा जाने गरेको देखिन्छ ।

यो समस्या अहिलेको होइन । नेपाली उपभोक्तालाई नेपालगञ्जमै रोक्ने लक्ष्य नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको प्रत्येक निर्वाचनका बेला चुनावी नारा बन्ने गर्दछ तर निर्वाचनपछि सेलाउँछ । सस्तो पाइने लोभमा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहाप्रति आकर्षित भएका छन् । सस्तोमा पाइने लोभमा खाद्यान्नदेखि लत्ताकपडासम्मको किनमेलका लागि नेपाली उपभोक्ताको सीमावर्ती भारतीय बजार रुपैडिहामा भीड लाग्ने गरेको छ ।

नेपालगञ्जका व्यापारीहरुले पसलैपिच्छे फरक–फरक दरमा सामान बेचेर विश्वास गुमाएको गुनासो पनि आएको छ । यहाँ एउटै सामानको दर फरक–फरक हुन्छ । ग्राहकलाई राम्रो व्यवहार पनि हुँदैन । त्यसैले रुपैडिहा जाने पनि धेरै छन् । यसमा उद्योग वाणिज्य संघले केही कदम उठाउन जरुरी देखिन्छ । सीमापारि भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको बाक्लो उपस्थितिले नेपालगञ्जका व्यापारीलाई वर्षौंदेखि पिरोल्दै आएको छ । सरकारी निकायको उदासीनताका कारण नेपालगञ्जमा नेपाली उपभोक्ताको आकर्षण बढ्न नसकेको अवस्था छ ।

गुणस्तरीय वस्तु तथा सेवा उपयोग गर्न पाउनु उपभोक्ताको अधिकार हो । भारतीय व्यापारीको तुलनामा नेपालगञ्जका व्यापारीहरुले प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्नु र रुपैडिहामा सस्तोमा पाइन्छ भन्ने भ्रम चिर्न नसक्नु कमजोरी हो । यसमा सबै उपभोक्तालाई सचेत गराउन जरुरी छ । नेपालगञ्जका व्यापारीमा उपभोक्ता आकर्षण गर्ने व्यावहारिकताभन्दा पनि वस्तु तथा सेवा लाद्ने गलत प्रवृत्ति रहेको छ । यसले पनि मान्छे बाहिर गएको देखिन्छ ।

चाडपर्व मात्र होइन, अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहामै निर्भर रहने गरेका छन् । नेपालगञ्जमै सस्तो पाइने सामान किन्नसमेत नेपाली उपभोक्ता भारतीय बजार जाने गरेका छन् । यो विषयमा सम्बन्धित निकायको ध्यान जाओस् ।
– सुरक्षा धामी, बाँके ।

प्रतिक्रिया दिनुहोस्