वामदेवलाई उम्मेदवार बनाउने निर्णय भएको छैनः प्रचण्ड



काठमाडाैं । सरकारले सोचेजस्तो काम गर्न नसकेको हो कि भनेर समिक्षा गर्दैछौ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निर्णय नभएको बताउनुभएको छ ।

उहाँले नेता गौतमलाई उपनिर्वाचनमार्फत संसद ल्याउने सन्दर्भमा काठमाडौँ निर्वाचन क्षेत्र ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने चर्चाको बारेमा पार्टी कुनै निर्णय नभएको बताउनुभएको हो । अध्यक्ष प्रचण्डले सिट गुमाउने गरी निर्वाचनमा नजाने बताउदै उहाँले जित्ने गरी मात्र उम्मेदवार बनाउने बताउनुभयो ।

वर्तमान सरकार पाँच वर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताउदै उहाँले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारी रुपमा कसरी काम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण तथा चाडपर्वका अवसरमा बुधवार आयोजित चियापान कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारले यसबीचमा छिमेकीसँगको सम्बन्धमा सुधारका साथै विभिन्न सकारात्मक काम गरेको तर सोचे जति तीव्ररुपमा काम गर्न नसकेको भनी उठेको प्रश्नमाथि आफूहरुको ध्यानाकर्षण भएको बताउनुभयो ।

आफू र प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीबीच सरकार सञ्चालन र पार्टीका विषयमा गम्भीर समीक्षा भएको बताउदै प्रचण्डले जनभावना अनुसार कडारुपमा दण्डसजाय प्रणाली स्थापित गर्न र राष्ट्रिय एकतालाई बलियो बनाउन देखिएका कमजोरी सुधारेर अघि बढ्ने पर्याप्त सम्भावना रहेको बताउनुभयो ।

पार्टी एकताले पनि विकासको अभियान सञ्चालनका लागि बल दिएको उल्लेख गर्दै उहाँले विकासका लागि प्रतिपक्षको पनि समान मत छ रहेको बताउनुभयो ।

ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद एवं पार्टीका नेता योगेश भट्टराईलाई निर्वाचनमा नेतृत्वबाट गरिएको प्रतिबद्धतानुसार आफूहरुले मन्त्री बनाउन नसकिएको उहाँले बताउनुभयो ।

उहांले भन्नुभयो –निर्वाचन ताका पार्टी अध्यक्ष ओलीले ताप्लेजुङ पुगी भट्टराईले जितेपछि मन्त्री बनाउने वचन दिनुभएको थियो ,अध्यक्ष ओलीले दिएको चुनावी भाषण मैले हेरेँ । हामीले अहिलेसम्म योगेशजीलाई मन्त्री बनाउन भ्याएका छैनौँ । एक दिन त्यो वचन पूरा हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्