रुसका दुई अन्तर्राष्ट्रिय फूटबलरविरुद्ध कडा कारवाही



काठमाडौं — रुसका दुईजना अन्तर्राष्ट्रिय फूटबल खेलाडीहरूले मस्कोस्थित एउटा क्याफेमा एक सरकारी कर्मचारीमाथि आक्रमण गरेको विषयमा अनुसन्धान भइरहेको छ । रसियन प्रेमियर लीगले ती खेलाडीहरूलाई कठोर सजाय दिइनुपर्ने बयान जारी गरेको छ ।

जेनिट सेन्ट पिटर्सबर्ग क्लबका खेलाडी अलेक्सान्दर कोकोरिन र क्रास्नोदार क्लबका पावेल मामाएभले सोमवार व्यापार मन्त्रालयका अधिकारी डेनिस पाकमाथि आक्रमण गरेको बताइएको छ । आक्रमणपछि पाकलाई उपचार गर्नुपरेको छ ।

लीगले उनीहरूलाई हुल्याहा नाम दिएको छ ।बयानमा लीगले उनीहरूको बदमास व्यवहारबाट आफू क्रुद्ध भएको जनाएको छ ।रुसको गृह मन्त्रालयले घटनाको अनुसन्धान शुरू गरेको छ ।

रुसी फूटबल युनियनको कार्यकारी समितिका इगोर लेबेडेभले टेलिभिजनमा बोल्दै भने, ‘कानून कार्यान्वयन गर्ने निकायहरूले यसलाई हुल्याहापन मान्नेछन् र त्यसको कडा सजायको व्यवस्था छ, पाँच वर्षसम्मको कारावास सजाय हुन्छ ।’

कोकोरिनले घिनलाग्दो व्यवहार देखाएको जेनिटले बतायो र क्रास्नोदारले मामाएभको सम्झौता रद्द गर्न खोजेको बयान दियो ।

सत्ताईस वर्षीय कोकोरिनले रुसी राष्ट्रिय टोलीका लागि ४८ खेल खेलेका छन् तर रुसमै भएको विश्वकपमा चोटका कारण उनले खेल्न पाएका थिएनन् । उनले जेनिट क्लबमा सन् २०१६ देखि खेलिरहेका छन् ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्