बैतडी–दार्चुला जोड्ने पुल मर्मत होस्



बैतडी–दार्चुला जोड्ने चमेलिया नदीमा हरेको पक्की पुल जीर्ण बन्दै गएको छ । यसको पुनर्निर्माणमा कसैको ध्यान गएको छैन । आर्थिक वर्ष २०५९÷६० मा निर्माण गरिएको पुलले बैतडीलाई दार्चुलासँग जोडेको छ । अहिले यो निकै जीर्ण भइसकेको छ । दार्चुला–बैतडी सडकखण्डमा पर्ने सो पुल जीर्ण अवस्थामा पुगे पनि मर्मतको पहल भएको छैन ।

दार्चुलालाई सडक सञ्जालसँग जोड्ने १२० मिटर लामो पुल ५ करोडमा निर्माण भएको हो । १६ वर्षअघि निर्माण पूरा भएको पुलको समयमा मर्मत र संरक्षण नहुँदा कमजोर बन्दै गएको छ । निर्माणपछि पुल अहिलेसम्म पनि मर्मत गरिएको छैन । उक्त पुल निर्माणसँगै दार्चुला सडक मार्गसँग जोडिएको हो । गुणस्तरयुक्त काम नहुँदा पुल जीर्ण बदै गएको छ ।

चमेलिया पुलले बैतडी र दार्चुलाको आर्थिक वृद्धिमा टेवा पु¥याएको छ भने देशका विभिन्न स्थानबाट आउने सयाँै यातायातका साधन यही पुल भएर भित्रिने गरेका छन् । क्षमताभन्दा बढी र ठूला यातायातका साधनका कारण पुल जीर्ण बन्दै गएको हो । वर्खामा पानी पुलमै जम्मा हुने गरेको छ । पानी जम्मा भएका बेला पैदल हिँडडुल गर्नसमेत सकिन्न । यहाँ निक्कै समस्या रहेको छ ।

पुलमा आवतजावत गर्दासमेत हल्लिने गरेको छ । पुलको खम्बामा खिया लागेको छ । पुल मर्मतमा स्थानीय तहले समेत चासो देखाएका छ्रैनन् । नदीले कटान गर्न थालेपछि पुल झन् जोखिममा परेको छ । बजारक्षेत्रको फोहोर फाल्ने ठाउँ पनि चमेलिया नदी बनेको छ । बैतडी–दार्चुला सडक आयोजनाले निर्माण गरेको उक्त पुलको अवधि ५–६ वर्ष मात्रै भएको बताइन्छ । यसलाई तत्काल मर्मत गर्न स्थानीय निकाय र सम्बन्धित पक्षको ध्यान जाओस् ।
– प्रविन कुमार कार्की, बैतडी ।

प्रतिक्रिया दिनुहोस्