बौद्ध अध्ययन केन्द्र बनाउन पहल गरौं



नेपालमा अन्तर्राष्ट्रिय स्तरको बौद्ध अध्ययन केन्द्र बनाउन सबैले पहल गर्नुपर्ने देखिएको छ । वि.सं. २०६१ मा स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बौद्ध अध्ययन केन्द्र बनाउन सरकारीस्तरबाटै पहल हुनुपर्ने देखिन्छ । स्थापनाको छोटो समयमा प्रकाण्ड बौद्ध विद्वान् उत्पादन गर्ने महत्वपूर्ण केन्द्रको रूपमा अघि बढेको लुम्बिनी बौद्ध विश्वविद्यालयलाई थप व्यवस्थित र विस्तार गरेमा यसबाट धेरैले लाभ लिन सकिने देखिएको छ ।

स्थापना भएको लामो अवधिसम्म एउटा सानो भवनबाट सञ्चालन भई आएको भए पनि यहाँ सानो लगानीमा धेरै काम भएको छ । सरकारी थोरै बजेटका बाबजुद पनि यो विश्वविद्यालयबाट १४ वर्षको अवधिमा बौद्धधर्म अध्ययन गरी विद्यावारिधि गर्नेको सङ्ख्या १८ पुगेको छ भने ९३ जनाले बौद्धदर्शन लिई स्नात्तकोत्तर तह उत्तीर्ण गर्न सफल भएका छन् । यो चानचुनै कुरा हाइन । शून्यबाट शुरु भएको उक्त विश्वविद्यालय हालसम्म आउँदा ठूलो फड्को मार्न सफल भएकोले सरकारले होस्टेमा हैंसे गरेर यसको उन्नतिमा ध्यान दिनुपर्छ ।
विश्वविद्यालयले प्राज्ञिक गुरुयोजना, मानव संशाधन गुरुयोजना, भौतिक पूर्वाधार गुरुयोजना तथा वित्तीय गुरुयोजना तर्जुमा गरी लागू गरेको अवस्था छ । त्यति मात्रै हैन, थेरावाद बुद्धधर्म, महायान बुद्धधर्म, एप्लाइड बुद्धधर्म, बुद्धिजम एन्ड हिमालयन स्टडिज तथा बुद्धिजम एन्ड पिस स्टडिजमा सीमित सो विश्वविद्यालयको पढाइमा थप नौ विषय थप गरी कुल १४ विषयमा पढाइ भइरहेको छ ।

लुम्बिनीमा जन्मेका भगवान् गौतमबुद्धको शान्तिको सन्देश विश्वमा पु¥याउने तथा गौतमबुद्धका बौद्धग्रन्थहरू अध्ययन–अध्यापनलाई प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रियस्तरकै एक उत्कृष्ट बौद्ध अध्ययन केन्द्रका रूपमा स्थापित गर्ने परिकल्पना गरिएको उक्त विश्वविद्यालयलाई स्तरोन्नति गरेमा अध्ययनसँगै अवलोकन गर्न आउने पर्यटकको समेत वृद्धि हुनेमा दुई मत रहँदैन । भृकुटीमण्डपको सानो कोठाबाट शुरु भएको लुम्बिनी बौद्ध विश्वविद्यालय बुद्धधर्मको अध्ययनकर्ताका लागि खुला पाठशालाको रूपमा विकास भएको छ । यसलाई थप विस्तार गरेमा नेपालको चिनारी बढ्नेछ । बुद्धको जन्मस्थल लुम्बिनीमा बौद्ध विश्वविद्यालयको स्थापनापछि बौद्धग्रन्थ अध्ययन गर्ने जिज्ञासुलाई ज्ञान प्राप्त गर्ने अवसरसमेत मिलेको छ । यसलाई अब विस्तार गर्न र सरकारी बजेट बढाउन सम्बन्धित निकायले ध्यान दिनु जरुरी रहेको छ ।
– सुरज वैद्य, बुटवल ।

प्रतिक्रिया दिनुहोस्