नास्टको गिर्दो अवस्थाप्रति चिन्ता



-प्रदीप ढोडारी
विज्ञान तथा प्रविधिको माध्यमद्वारा राष्ट्रिय विकासमा योगदान पु¥याउने मूल उद्देश्यका साथ झन्डै ३७ वर्षअगाडि अर्थात् वि.सं. २०३९ मंसिर २० गते स्वर्गीय राजा वीरेन्द्रको परिकल्पनाअनुसार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (तत्कालीन नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, रोनास्ट) को स्थापना भएको थियो । संस्था स्थापनाको केही अवधिसम्म संस्थाको संरक्षकत्व स्वयम् राजाबाट ग्रहण गर्नुका साथै कुलपतिको हैसियतले संस्थाको दैनिक कार्य सञ्चालनको लागि एकजना उपकुलपति, सदस्य सचिव र विषयगत विज्ञको रुपमा केही व्यक्तिहरुलाई सदस्यमा नियुक्त गरी सांगठनिक स्वरुप निर्धारण गरिएको थियो ।

संस्था स्थापनापछिका प्रारम्भिक चरणमा संस्थाले आफ्नो उद्देश्यअनुरुप लक्ष्य प्राप्तिका दिशामा अपेक्षितरुपले गति लिएको थियो । संस्थाभित्र मेसिनरीको रुपमा रहेका वैज्ञानिक, प्राविधिक र प्रशासनिक कर्मचारीरु दिनरात नभनी कार्यालयको काममा खट्न उत्साहित र उत्सुक हुन्थे । त्यहाँका पदाधिकारीहरुबाट समेत सम्पादित कार्यको मूल्यांकनमा केही अपवादबाहेक त्रुटि नहुने गरी प्रोत्साहन गर्ने गरिन्थ्यो । संस्थाको बढ्दो उचाइ र आधुनिक युगमा विज्ञान प्रविधिको महत्वलाई मनन गरी यस संस्थामा त्यस बखत कर्मचारीको हैसियतले सेवा प्रवेशको लागि प्रमुख आकर्षणको केन्द्र थियो । संस्थाले प्रारम्भको अल्प अवधिमा नै गरेको प्रगति र संस्थाले प्राप्त गरेको अप्रत्यासित उचाइको पछाडि तत्कालीन नेतृत्व र पदाधिकारीको कार्य कुशलता नै हो भनेर किटानीका साथ भन्न सकिन्छ ।

समयक्रमसँगै वि.सं. २०४६ मा देशमा भएको राजनीतिक परिवर्तनले प्रतिष्ठानको सांगठनिक स्वरुपमा समेत परिवर्तन भयो । प्रतिष्ठानले नेपालको संसद्द्वारा व्यवस्था गरेको ‘नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन २०४८’ पाई कानुनी हैसियत प्राप्त ग¥यो । संस्थाको कुलपति प्रधानमन्त्री र सहकुलपति विज्ञान तथा प्रविधि मन्त्री रहने गरी ऐनमा नै व्यवस्था गरियो । साथै उपकुलपतिको सिफारिसमा विज्ञान तथा प्रविधिको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरुमध्येबाट प्रत्येक वर्ष दुईजनाको दरले प्राज्ञहरुको नियुक्तिको लागि कुलपतिसमक्ष सिफारिस गर्ने र सिफारिस भएका व्यक्तिहरुलाई कुलपतिले आजीवन प्राज्ञमा नियुक्ति गर्ने व्यवस्था गरियो ।

वि.सं. २०४६ को राजनीतिक परिवर्तनपश्चात् समग्र देशले नै खुलापनको अनुभव संगालिरहेको अवस्थामा यस संस्थासमेत उल्लिखित माहोलबाट टाढा रहन सक्ने कुरा भएन । त्यसैले संस्थामा नयाँ नेतृत्व परिवर्तनको माहोल बिस्तारै खडा हुँदै गयो । अन्ततः विभिन्न आरोह–अवरोहका बीच तत्कालीन प्रजातान्त्रिक सरकारले संस्थालाई परिवर्तित माहोलसँगै अगाडि बढाउन नयाँ उपकुलपति र सचिवको व्यवस्था ग¥यो । यसै अवधिमा प्रज्ञा प्रतिष्ठानले ऐन प्राप्त ग¥यो । संस्थाले कानुनी हैसियतसहित नयाँ जग स्थापना गर्ने अवसर प्राप्त ग¥यो । केही सकारात्मक कार्यहरुको थालनीसँगसँगै संस्थाभित्र प्रत्यक्ष वा परोक्षरुपले राजनीतिक प्रभावसमेत पर्न थाल्यो । अनि उद्देश्य प्राप्तिको दिशामा गतिशील रहेको संस्थाको गतिमा बिस्तारै–बिस्तारै विराम लाग्न शुरु भयो ।

पदीय हैसियतले प्राप्त सेवा–सुविधाको उपभोग गर्ने र कुर्सी जोगाइराख्नेबाहेक थप केही प्रतिफल दिने कार्यक्रम सञ्चालन गर्न नसक्ने नेतृत्वको कारणले नै आज नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) निरन्तर अधोगतितर्फ अग्रसर रहँदै आएको यथार्थ अब सार्वजनिकरुपमा भन्नै पर्ने अवस्था आएको छ ।

विज्ञान र प्रविधिको उन्नयनको लागि नेपाल सरकारले विज्ञान तथा प्रविधि मन्त्रायल खडा ग¥यो । तर हालका मितिसम्म यस क्षेत्रको प्रगति र समग्ररुपमा राष्ट्रिय विकासको लक्ष्य प्राप्तिमा विज्ञान र प्रविधिले खासै योगदान पु¥याएको न सुन्नमा आएको छ, न त अनुभव नै गर्न पाइएको आभास भएको छ ।

यसको मूल कारण विज्ञान र प्रविधिको क्षेत्र राष्ट्रिय प्राथमिकतामा पर्न नसक्नु नै हो भन्दा अन्यथा नहोला । हो, सम्बन्धित अधिकारप्राप्त अधिकारीहरु र राजनीतिक नेतृत्व विज्ञान तथा प्रविधिसँग सम्बन्धित फोरमहरुमा बोल्ने अवसर प्राप्त गर्दा यस क्षेत्रको आवश्यकता एवम् महत्वका बारे व्याख्या गर्न चुक्दैनन् । तर यथार्थ धरातलमा उभिएर कार्य गर्दा ती सम्पूर्ण अभिव्यक्तिहरुलाई चटक्क बिर्सेर उही ‘काम कुरो एकातर्फ कुम्लो बोकी ठिमीतर्फ’ भन्ने उखान अनुसरण गर्न पुग्छन् । यो नै विज्ञान र प्रविधिको समायोचित विकास हुन नसक्नु र वैज्ञानिक, प्राविधिक अनुसन्धानको प्रतिफल आमजनताले प्राप्त गर्न नसक्नुको मुख्य कारण हो । राजनीतिक परिवर्तनपछि यस क्षेत्र कुनै पनि सरकारको प्राथमिकतामा पर्न सकेन ।

यदि विज्ञान र प्रविधिको क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाइँदो हो त यहाँ विज्ञ जनशक्तिको अभाव छैन । देशभित्रै विभिन्न क्षेत्रमा विद्यावारिधि प्राप्त दक्ष जनशक्ति उपलब्ध छन् । अझ विदेशी विश्वविद्यालय र अनुसन्धान संस्थाहरुमा अनुसन्धानरत जनशक्तिलाई स्वदेशमा भित्र्याउने वातावरण बनाउने हो भने हामी जनशक्तिको हिसाबले धनी देशको पंक्तिमा शानका साथ उभिन सक्ने अवस्थामा छौं । तर, उल्लिखित अवस्थाको सिर्जना कसले गर्ने ? नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधिको विकास, विस्तारका साथै प्रवद्र्धनात्मक कार्य गर्न र गराउन गठित एकमात्र स्वायत्त संस्था हो । संस्थाको दैनिक कार्य सञ्चालन गर्न ऐनद्वारा व्यवस्था गरेअनुरुप पूर्ण समय कार्य सञ्चालन गर्ने पदाधिकारीहरुको रुपमा एकजना उपकुलपति र एकजना सचिव रहने व्यवस्था छ ।

तर, हालसम्म एक–दुईवटा बाहेकले संस्थाको उन्नति तथा प्रगतिको बारेमा इमानदारिताका साथ चिन्तन र सोच गर्ने खालको नेतृत्व प्राप्त गर्न सकेन । पदीय हैसियतले प्राप्त सेवा–सुविधाको उपभोग गर्ने र कुर्सी जोगाइराख्नेबाहेक थप केही प्रतिफल दिने कार्यक्रम सञ्चालन गर्न नसक्ने नेतृत्वको कारणले नै आज नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) निरन्तर अधोगतितर्फ अग्रसर रहँदै आएको यथार्थ अब सार्वजनिकरुपमा भन्नै पर्ने अवस्था आएको छ ।

प्रज्ञा प्रतिष्ठानको स्थापनाकाल (आ.व. २०३९÷०४०) देखि हाल आ.व. २०७५÷०७६) सम्म प्रतिष्ठानले नेपाल सरकारबाट प्राप्त कुल रु. २ अर्ब ८६ करोड ९३ लाख ६९ हजार प्राप्त भएको देखिन्छ । ३७ वर्षको अवधिमा विज्ञान, प्रविधिको अनुसन्धानलगायत प्रवद्र्धनात्मक कार्यका साथै प्रशासनिक खर्चसमेत गरी नेपाल सरकारबाट प्राप्त अनुदान, कार्यको प्रकृति र अन्य छिमेकी देशका समान प्रकारका संस्थाहरुमा विनियोजन गरिने बजेटको तुलनामा ज्यादै न्यून हो तर पनि विगतको केही अवधिमा हेर्ने हो भने प्राप्त बजेटसमेत खर्च हुन नसकेको पाइन्छ ।

सीमित स्रोतलाई समेत व्यवस्थित तरिकाले उपयोग गरी सही व्यवस्थापन गर्ने हो भने आशातीत प्रतिफल प्राप्त गर्न सकिने कुरामा विश्वस्त हुन सकिन्छ । साथै, संस्था स्वयंले पनि अबका दिनमा सरकारी अनुदानको भरमा मात्र नपरी आन्तरिकरुपमा स्रोतको जोहो गर्नेतर्फ ध्यान दिनु नितान्त आवश्यक छ । यस संस्थासँगसँगै स्थापित समान प्रकारका केही निकायहरुले तीव्र गतिमा प्र्रगति गर्दै हाल पूर्णरुपले स्थापित भइसकेको बारे खोजिनीति गर्न अन्यत्र जानुपर्दैन, त्यसको लागि हाम्रै वरिपरि गएर हेर्दा र बुझ्दा थाहा पाउन सकिन्छ । तसर्थ, अब ढिलो नगरी प्रज्ञा प्रतिष्ठान स्वयंले समेत स्वआर्जनका कार्यक्रमहरुलाई निरन्तर अगाडि बढाउँदै समयसापेक्ष राष्ट्रिय प्राथमिकता प्राप्त कार्यक्रमहरुलाई सहयोग पु¥याउने खालका अनुसन्धानहरुलाई प्राथमिकता दिनु नितान्त आवश्यक छ ।

उल्लिखित कार्यहरु गर्न र गराउन संस्थामा नेतृत्वको भुमिका अहम् हुने गर्दछ । अहिले प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व चयनका लागि गृहकार्य भइरहेको छ । यस बेला संस्थालाई कुशल नेतृत्व प्रदान गर्न सक्ने योग्य व्यक्तिको आवश्यकता छ । अबको नेतृत्व २१ औं शताब्दीमा विज्ञान र प्रविधिको आवश्यकता र महत्वलाई साँच्चिकै आत्मसात् गरेको, संस्थाबाट केही प्राप्त गर्नेभन्दा पनि केही उल्लेख्य योगदान गर्न सक्ने व्यक्तिले संस्थाका तर्फबाट आफूले प्राप्त गर्ने सुविधालाई गौण मानी संस्थाको हितको पक्षमा कार्य गर्दा आइपर्न सक्ने जुनसुकै प्रकारका चुनौतीहरुको सामना गर्न तयार रहेको स्पष्ट सन्देश दिन सक्ने गरी कार्य गर्न सक्नुपर्दछ ।

संस्थाभित्र गर्नुपर्ने कार्यहरुको ठूलो चाङ छ । दक्ष जनशक्ति उपलब्ध छ तर तिनको मनोबल गिरेको अवस्थामा छ । जे–जस्तो आकारको भए पनि नेपाल सरकारबाट नियमितरुपले बजेट प्राप्त भएकै छ तर त्यसको सही व्यवस्थापन हुन नसकेको अवस्था छ । यस्ता थुप्रै चुनौतीहरु छन् । भनिन्छ, चुनौतीहरुका बीचको सफलता नै सफल नेतृत्वकर्ताको नेतृत्व क्षमता जाँच गर्ने कसी हो । अतः अबको नेतृत्व बढीमा ५० वर्षमुनिको, व्यवस्थापकीय क्षमता भएको, आफ्नो स्पष्ट मार्गदर्शन दिन सक्ने, समग्र नास्ट परिवारलगायत अन्य सरोकारवाला निकाय एवम् संस्थाहरुलाई लक्ष्य प्राप्तिको दिशामा डो¥याउन सक्ने क्षमता भएको अनि अन्यत्र संस्थाहरुमा कार्य अवधि समाप्त गरी सेवानिवृत्त नभएको युवा नेतृत्व आवश्यक रहेको छ ।

यदि अबको नेतृत्वसमेत पुरानै तरिकाले पदपूर्ति गर्ने मनसायले मात्र नियुक्त गरिने हो भने त्यो यस संस्थाको लागि ठूलो दुर्भाग्य हुनेछ । प्रज्ञा प्रतिष्ठानको नेतृत्व चयन गर्दा हाम्रालाई भन्दा पनि राम्रा, सक्षम, कुशल र निःस्वार्थ व्यक्तिको छनोट गरी संस्थाको भविष्य निर्धारण गरियोस् भन्ने सबैको चाहना छ ।
(लेखक ढोडारी नास्टका सूचना प्रविधि प्रशासक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्