विश्व शान्तिको लागि लुम्बिनीमा बहुपक्षीय स्यान्क्चुरी सेन्टर



-मधुसूदन रायमाझी, काठमाडौं ।
भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बनीमा ‘द महासिद्ध स्यान्क्चुरी फर युनर्भिसल पिस सेन्टर’ निर्माण कार्य सुरु भएको छ । लुम्बिनीलाई विश्व शान्तिको केन्द्रको रुपमा अझै व्यापक रुपमा विकास गर्ने उदेश्यको साथ केन्द्र निर्माणको काम अगाडि बढाइएको हो । धर्म गुरु श्याल्पा तेञ्जिन रिन्पोछेको परिकल्पनामा निर्माण सुरु भएको ‘द महाशिद्ध स्यान्क्चुरी फर युनिभर्सल पिस सेन्टरको निर्माणको काम लुम्बनीमा धमाधम अगाडि बढेको छ । विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बी लगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकहरुले समेत साधना गर्ने स्थलको रुपमा केन्द्र निर्माण हुन लागेको हो ।

सन् २०१३ बाट अघि सारिएको अवधारणालाई सार्थक रुप दिदै रिन्पोछेले लुिम्बनीमा पृथक सोच र शैलीबाट सेन्टर निर्माणको काम अगाडि बढाउनुभएको छ । धर्म गुरु रेन्पोछेले युनिर्भर्सल पिस सेन्टर निर्माण गर्नको लागि एक व्यक्ति एक रुपैयाँको अभियान अगाडि सार्नुभएको छ । विश्वभर शान्तिको सन्देश थप फैलाउने उदेश्यको साथ निर्माण गर्न लागिएको सेन्टरको लागि रिन्पोछेले थाइल्यान्ड, हङकङ, मलेसिया, चीन, भियतनाम, इन्डोनेसिया, सिंगापुर, भारत, बेलायत, अमेरिकाजस्ता देशका प्रभावशाली व्यक्तिहरु भेटेर सहयोगको आग्रह गर्नुभएको बताउनुभयो ।


सन २०१४ जुन १३ मा विश्व शान्ति केन्द्रको भवनको डिजाइनको औपचारिक अनावरण हङकङमा गरिएको थियो । २१ मे २०१६ मा केन्द्रको निर्माणस्थल लम्बिनीमा सुवर्ण कलशको स्थापना गरिएको थियो । यसैबीच गत वैशाख १७ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले केन्द्रको सिलान्यश गरेपछि निर्माण कार्य अगाडि बढेको छ ।

गैरनाफामूलक संस्था बेन्चेङ गोन्झुले यस केन्द्रको निर्माण कार्यको जिम्मा लिएको छ । यसको डिजाइन मलेसियाको एसडि एस.डि.एन.वि.एच.डीले गरेको हो । निर्माण परियोजनाको इन्जिनियरिङ परामर्शदाताको काम भने मलेसियाकै मैनहार्डन यस.डि.एन.बि.एच.डीले गरेको छ । आयोजनालाई पारदर्शी बनाउनको लागि एकाउन्टिङको जिम्मा विश्व प्रसिद्ध एकाउन्ङि कम्पनीले डिलोएटलाई दिइएको उहाँले बताउनुभयो ।

स्यान्क्चुरीको बाहिरी संरचनाले फक्रदै गरेको कमलको फूललाई प्रतिनिधित्व गर्नेछ । त्यसैगरी स्यान्क्युरीको हल वा कक्षको मुख्य आकर्षणको केन्द्र सालको वृक्षमुनि मायादेवीको कोखबाट जन्मदै गर्नुभएको भगवान बुद्धको एउटा विशाल, सुन्दर र सबैको मुन छुने मुर्ति राखिने गरी डिजाइन गरिएको छ ।

यस केन्द्रमा एक हजार पाँच सय सिट क्षमता भएको एउटा अन्तर्राष्ट्रियस्तरको कन्फरेन्स हल (सभाकक्ष)को निर्माण गरिनेछ । यस कन्द्रभित्र सामुहिक रुपमा गरिने ध्यान, योग अभ्यास, प्रशिक्षण र अन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सकिने छ । साथै विशेष ठूला ध्यान कक्षहरुको समेत व्यवस्था गरिएको हुनेछ । अत्याधुनिक प्रविधि र सामाग्रीहरु प्रयोग गरी निर्माण गरिने यस केन्द्रको आयु पाँच सय बर्षको हुनेछ भने आठ रेक्टर स्केलसम्मको भुकम्पले यसलाई कुनै क्षति गर्न नसक्ने गरी डिजाइन गरिएको छ ।


सेन्टरमा द युनिभर्सल पिस पुस्तकालय रहनेछ । जसमा भगवान बुद्धले दिनुभएको ज्ञानको संकलन गरिनेछ । उहाँले दिनुभएका प्रवचन समेटिएका वा तीनमाथि गरिएका व्याख्यानहरुको संकलन भएका पुस्तकहरु संकलन गरिनेछ । बुद्धको जीवन यात्रा, उहाँले पार गनुृभएका ज्ञानका श्रंखला र कसरी जीवनमा सही ढंगले यात्रा गर्नुपर्छ भन्ने आशय भएका प्रवचहरु समेटिएका विभिन्न थाङका पेन्टिङहरु पनि संकलन गरिने उदेश्य राखिएको छ । त्यसैगरी बुद्धका अमुल्य, मुर्तिहरु, पवित्र बौद्ध धार्मिक ग्रन्थहरु र धार्मिक अनि सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिएका वस्तुहरुको संग्राहालय पनि रहेनछ ।

द युनिर्भसल पिस इन्स्टिच्युटमा एउटा खोज अनुसन्धान केन्द्र पनि रहेनछ । अनुसन्धान केन्द्रका लागि काम गर्नेमा विभिन्न शोधकर्ताह हुनेछन । जसले प्राचीन र आनुधिक भाषामा लेखिएका बौद्ध धर्म सम्बन्धी पुस्तकहरुको संकलन, चर्चा, व्याख्या गर्नेछन । केन्द्रले विभिन्न पुस्तहरुलाई डिजिटलाइज्ड गरेर डाटावेसमा पनि बनाउनेछ । केन्दमा सुनौलो गजुर, द युनिभर्सल पीस लाईब्रेररी, द पिस म्युजियम (शान्ति संग्रहालय), च्यारिटेबल एक्टिभिटिज रहने छ । मनलाई आन्नद दिने गरी पेन्टिङ गरिनेछ । बुद्धको बारेमा प्राप्त सबै विषयवस्तुलाई हजारौ बर्षसम्म केही नहुने गरी डिजिटल प्रविधिमा राखिनेछ । केन्द्रका चार वटा ढोका रहनेछ ।

मन शान्त बनाउने गन्तव्य


धर्म गुरु, श्याल्पा तेञ्जिन रिन्पोछे
लुम्बिनीमा द महाशिद्ध स्यान्क्चुरी फर युनर्भसल पिस सेन्टर निर्माण गर्ने भावना कसरी आयो ?
–सबै मानव जातिलाई सुख चाहिएको छ । दुःख कसैले पनि चाहेको छैन् । तर सुखको बाटो थाहा छैन् । जीवनमा एउटा पनि यस्तो एउटा मनिस छैन, जसले दुःख चाहिन्छ भनेर हिडेको होस । सुख आफैभित्र छ, तर नबुझेको कारण दुःख पाएको छ ।

अहिलेसम्म धेरै विद्धान र धर्म गुरुहरुले धार्मिक क्षेत्रको विकासको लागि काम गर्नुभयो । मैले चाही अलि फरक गन्तव्यको खोजी गरे । जहाँ मानिसहरुले शान्ति पाउन र सुखको अनुभूति गरुन । मन शान्त बनाउने गन्तव्य होस भनेर नै मैले द महाशिद्ध स्यान्क्चुरी फर युनर्भसल पिस सेन्टरको परिकल्पना गरेको हुँ ।

यसको परिकल्पना गर्न कति समय लाग्यो ?
–मैले दस बर्षसम्म मनमा धेरै कुरा सोचे । दस बर्ष अघिबाट मनमा एउटा यस्तो पिस डेस्टिनेसन चाहिन्छ भनेर कल्पना गर्दै विभिन्न ठाउँको अवलोकन गरे । पिस डेस्टिनेसन पवित्र ठाउँमा हुनुपर्छ । सबैले रेस्पेक्ट गर्न सक्ने ठाउँ हुनुपर्छ ।

भारत लगायत धेरै ठाउँमा केन्द्र निर्माणको लागि अध्ययन गरे तर मनले खोजको स्थान फेला परेन । त्यहीँ क्रममा नेपालीहरुले मलाई अनुरोध गर्दै पिस डेस्टिनेसन लुम्बिनीमा बनाउनुहोस भनेर आग्रह गर्नुभयो । त्यसपछि मैले दुई बर्षजति समय अध्ययन गरेर जग्गा प्राप्तिको लागि पुनः उहाँहरुलाई आग्रह गरे । हामीले लुम्बिनी विकास कोषबाट पिस डेस्टिनेसन बनाउको लागि जग्गा प्राप्त ग¥यौ ।

त्यसपछि मैले कल्पना गरेअनुसारको डिजाइन गर्न आर्किटेक्ट लिएर सर्भे गरियो । यसको लागि नेपालका सबै मन्दिरहरुको अवलोकन ग¥यौ । लुम्बिनी सबै घुमेर हामी काठमाडौं फर्किएपछि मैले कमलको फुलस्तो मलाई चाहियो भनेर आर्किटेक्टलाई भने । एक होटलमा बसेर हामीले स्केच ग¥यौ । नभन्दै एक दिनमा डिजाइन सकियो । त्यसपछि सम्भाव्यता अध्ययनको काम पनि भयो । यदी नेपालको लागि फाइदा हुन्छ, विश्वको लागि फाइदा हुन्छ भने हामी शुद्ध र पवित्र ठाउँमा राम्रो काम गर्नुपर्छ भनेर यो केन्द्र निर्माणको काम अगाडि बढाइएको हो ।

अहिले काम कुन गतिमा अगाडि बढेको छ ?
–यही वैशादख १७ गते बुद्ध जयन्ती दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सेन्टरको शिलान्यास गरेपछि काम अगाडि बढेको छ । तर बीचमा पानी धेरै परेको कारण धेरै काम हुन सकेको छैन् । अहिले भने धमाधम काम भइरहेको छ ।

केन्द्रमा आकर्षणको केन्द्र चाहीँ के हुन्छ ?
–केन्द्रको बीचमा मायादेवीले बुद्धलाई जन्म दिएको एउटा ठूलो मुर्ति हुन्छ । आमा सबैको सम्मानित पात्र हो । मायादेवीको सम्मान गरेर आमा सबैको सम्मानित पात्र हुने कुरालाई थप उजागर गर्न खरी देखाउन खोजिएको छ । अहिलेसम्म मायादेवीको मुर्ति संसारभर सानो–सानो मात्र छ । यस केन्द्रमा भने सबै भन्दा मायादेवीको मुर्ति बनाइनेछ ।

केन्द्रभित्र बनाउने मुर्तिमा मायादेवीको ठूलो र बुद्धको मुर्ति सानो हुनेछ । जसरी दुवै आँखाको उत्तकै महत्व छ । त्यसैगरी नेपालमा हिन्दु र बौद्ध धर्मको निकै राम्रोे सम्बन्ध छ । सदभाव छ । भाइचारा छ । हजारौ बर्षदेखि मिलेर बसेको समाज छ । यस मुर्ति वरिपरी घुम्नको लागि मात्र एक घन्टा लाग्ने गरी डिजाइन गरिएको छ । यस मुर्तिको एकै पटकमा एक हजार जनाले अवलोकन गर्न सक्नेछन । मायादेवी र बुद्धको मुर्ति मुनि विश्व शान्तिको कामना सकिने गरी हल समेत निर्माण हुनेछ ।

यो केन्द्र निर्माण गर्न कति समय लाग्छ ?
हामीले सरकारसँग तीन बर्षभित्र निर्माण सम्पन्न गर्ने भनेर सम्झौता गरेका छौं । सकेसम्म तीन बर्षसम्म नै सम्पन्न गर्ने गरी प्रयास गछौ । हामी सकेसम्म तीनदेखि पाँच बर्षभित्र सम्पन्न गर्ने लक्ष्यको साथ काम अगाडि बढाएका छौं ।

केन्द्र निर्माणको लागि बजेज कसरी जुटाउनुहुन्छ ?
यसको लागि म संसारभर जान्छु । म अफ्रिका, दक्षिण कोरिया जान चाहन्छु । साउदी अरबमा गएर पनि सहयोगको आग्रह गर्न चाहन्छु । मेरो इच्छा संसारभरी घुमेर एउटा मानिसबाट एक डलर पाइयो भने निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वास हो ।

नेपालका धनी मानिसहरुले दिएका पैसाबाट पनि बन्न त सक्ला । तर धेरै फाइदा नहुन सक्छ । संसारभर नेपालको संस्कृति र शान्तिको बारेमा जानकारी गराउन पनि यो अभियान लिएर संसारभर जान्छु । त्यसैगरी यस आयोजना सम्पन्न गर्नको लागि सहयोग गर्न नेपाली दाजुभाई तथा दिदीबहिनीहरुसँग पनि आग्रह गर्दछु ।

सरकारसँग तपाईको के अपेक्षा गर्नुभएको छ ?
–निकै ठूलो सहयोग जग्गा उपलब्ध गराइ दिएर गर्नुभएको छ । धेरै ठूलो अपेक्षा छैन् । नेपाली जनता धेरै इमान्दार छन् । होला गरिबी छ,अलिकता पैसा छैन । तर साच्चिकै नेपाली गरिब छैनन् । मनका धेरै ठूलो धनी छन् । त्यहीँ भएर बुद्धको जन्मभूमि भएको हो ।

हामीले अहिले बनाउन लागेको जग्गा लुम्बिनी विकास कोष अन्तर्गतको जग्गा हो । नियमले मिल्छ भने यस कार्यमा प्रयोग हुने निर्माण सामाग्रीमा भ्याट छुट गरिदिनुहोस । यति सुविधा पाइयो भने अझै सहज हुनेथियो । यदी हुँदैन भने हामी भ्याट तिर्न पनि तयार छौं ।

केन्द्र निर्माण भएपछि नेपालका पर्यटकीय क्षेत्रमा के योगदान दिन्छ ?
नेपाली जनता, नेपाली संस्कृति अरु भन्दा अलग हो । लुम्बिनी, सगरमाथा, पुशपतिको विज्ञापन गर्दा मानिसहरु नेपाल आउछन । एक पटक आउने मानिसहरु पुनः देशभित्र आउने बनाउने भनेको नेपालको कल्चर र नेपाली जनता हुन् ।

नेपालमा धार्मिक सांस्कृतिक विविधता छ । नेपालीहरु इमान्दार हुन्छन । पाहुनाको माया गर्ने, हास्ने, आदार गर्ने भएपछि एक पटक नेपाल आएको पर्यटक पुनः दोहो¥याएर आउछ । यस केन्द्र बनेपछि यहाँबाट लिन सक्ने खुसी हो । खुसी धेरै महंगी कुरा हो । पवित्र ठाउँमा यसको निर्माण हुँदैछ । यसबाट नेपाललाई राम्रो फाइदा हुन्छ ।

यसमा खर्च हुने आर्थिक पक्षलाई कसरी पारदर्शी बनाउनुहुन्छ ?
विश्वको प्रसिद्ध एकाउन्टिङ कम्पनीलाई जिम्मेवारी दिइएको छ । आर्थिक संकलन गर्नको लागि एप्स पनि बनेको छ । एभरेष्ट बैंकमा खाता खोलेका छौं ।

अन्तिमा के भन्न चाहनुहुन्छ ?
जीवनमा शान्तिले मनमा आनन्द दिन्छ । जीवनको अर्थ दिन्छ । यस कार्यलाई अगाडि बढाउनको लागि लुम्बिनी विकास कोष, संस्कृति पर्यटन तथा नागरिक एड्डयन मन्त्रालय, नेपाल सरकार, सरोकारवाला निकायलाई विशेष धन्यवाद दिन चाहन्छु ।

आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको छु । मेरो आग्रह छ, यस कार्यमा सकेसम्म सहयोग गर्नुहोस, नसके असहयोग गर्नुहोस बुद्धधर्म, संस्कृति, विश्वशान्तिका लागि यस सेन्टरले ठूलो सहयोग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्