नेपालद्वारा चीन १० विकेटले पराजित, नेपालकाे अपराजित यात्रा कायम



काठमाडौं । आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ मा नेपालले लगातार पाँचौ जित निकालेको छ ।

बुधबार भएको खेलमा चीनलाई १० विकेटले हराएर नेपालले अपराजित यात्रा कायम राखेको हो ।

क्वालालम्पुरस्थित वायुमस ओभलमा चीनले दिएको २७ रनको लक्ष्य नेपालले १ ओभर ५ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।

नेपालको जितमा ओपनर विनोद भण्डारीले अविजित २४ र प्रदिप ऐरीले पनि अविजित ४ रन जोडे । विनोदले ८ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीनले १३ ओभरमा अलआउट हुँदै २६ रन जोडेको थियो  । चीनका होङ जियाङ यानले सर्वाधिक ११ अंक जोडे । त्यस्तै डेनज्ही माले ५ रन जोड्दा चेन जीङफेङले १ रन बनाए । चीनका अन्य ७ ब्याट्सम्यान सुन्य रनमा आउट भए ।

नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र ललित राजवंशीले समान ३/३ विकेट लिए ।

एसिया छनोटको दोस्रो चरणमा पुगिसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सिंगापुरसंग खेल्नेछ ।

जितसंगै छनोटमा नेपाल ५  खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । यता, चीन भने ५ खेलमा चार हार बेहोर्दै तालिकाको पुछारमा रहेको छ ।

नेपालको अन्तिम प्रतिद्वन्द्वी सिंगापुर ४ खेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा छ ।

छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।

अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्