दशैं मनाउन स्वदेश फर्किने नेपालीहरुको सीमाक्षेत्रमा चहलपहल



सीताराम चौधरी, कपिलवस्तु ।
नेपालीहरुको महान पर्व वडा दशैको आगमनसँगै सीमाक्षेत्रमा चहलपहल बढेको छ । बैदेशिक रोजगारीका लागि भारत तथा अन्य मुलुकमा जाने नेपालीहरु घर फर्निने चटारो बढेको हो । कपिलवस्तु जिल्लाको भारतीय नाका कृष्णनगरबाट पनि दैनिक छ सात सय नेपालीहरु स्वदेश फर्किने गरेका छन् ।

रोजगारीको शिलशिलामा भारतका विभिन्न सहरहरुमा रहेका नेपालीहरु बर्षभरिको कमाइ र केही नयाँ लुगाफाटो लिएर घरपरिवारसँग चाडपर्व मनाउन घर फर्किरहेका छन् । कृष्णनगर नाका हुँदै नेपाल भित्रिने नेपाली दाजुभाइहरुको बिहानैदेखि लर्को नै लाग्ने गर्दछ ।


भारतको चण्ढीगढबाट घर फकिर्दै गरेका गुल्मी धुर्कोटका विष्णु परियारले धेरै ठाउँको चेकिङले हैरान पारेको गुनासो गर्नुभयो । सामान्य घरपरिवारको नयाँ कपडा र केही सामान ल्याउने हामीलाई प्रहरीले झोला खोतल्ने मिलाएर राखेका सामान विगारिदिने गरेको उहाँले दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो –“हामी त सामान्य मान्छे, घरपरिवारको लागि दुई चार जोर लत्ताकपडा ल्याउने गर्दछौं, सीमामा चेकजाँच गर्दा कसैले त त्यही कपडा पनि फालिदिने गर्दछन् ।” भारतमा पनि धेरै ठाउँ चेकिङ हुने र नेपालको कृष्णनगर मात्र ६ भन्दा बढी ठाउँमा चेकजाँच गर्ने गरेको यात्रुहरु बताउँछन् ।

नेपाल–भारत सीमा क्षेत्रमा गरेर ६ ठाउँमा नेपालीहरुलाई चेकजाँज गर्ने गरिन्छ । शुरुमा भारतीय सशस्त्र सीमा सुरक्षा बलले बसबाट ओर्लिने बित्तिकै चेकजाँच गर्दछ । भारतीय एसएसबीले झोला खोलेर चेकजाँच गर्ने पद्धति परिवर्तन गरी कुकुरलाई झोला सुँघाएर जाँच गर्ने भएकाले उनीहरुले झोला नखोतल्ने पञ्जाब लुधियानाबाट अर्घाखाँचीको खन घर फर्कंदै गरेका घनश्याम पोखरेलले बताउनुभयो । कुकुरले चेकजाँज गरेको सामान फेरि पनि खानतलासी गर्दा आफूहरुले दुःख पाउने गरेको नेपाल प्रबेश गरेका नेपालीले गुनासो गरे ।

यता सशस्त्र प्रहरी नेपाल कृष्णनगर नं. ३९ भन्सार गुल्म सशस्त्र प्रहरी नायब उपरीक्षक मनोज कुमार धितालले भारतबाट घर फकर्ने नेपालीहरुलाई कुनै असुविधा पुग्ने किसिमले काम नभएको बताउनुभयो । भन्सार छेउमा सशस्त्रले चेकजाँच नगरेको बरु नागरिक सहायता केन्द्र राखी नागरिकहरुलाई सहयोग गर्दै आएको धितालले बताउनुभयो । भन्सारभन्दा उत्तर विद्युत कार्यालय अगाडि भने चुहावट हुने सम्भावनाले चेकजाँच गर्दै आएको सशस्त्र प्रहरी नायब उपरीक्षक धितालको भनाई छ । भारतले पनि सीमाक्षेत्रमा नागरिक सहायता केन्द्र राखेको छ । चाडपर्वको समय आवतजावत गर्ने यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै नागरिक सहायता केन्द्र स्थापना गरिएको भारतीय एसएसबीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्