बेल्जियमको निर्वाचनमा नेपाली चेली चुनावी प्रतिस्पर्धामा



काठमाडौँ ।
बेल्जियमको लुभेन नगरपालिकाको चुनावी मैदानमा एकजना नेपाली चेली अहिले आकर्षणको केन्द्र बनेकी छन् –उनको नाम हो, रश्मी निरौला । उनी पर्यटकीय नगरी लुभेन नगरपालिकाको काउन्सिलर पदमा बेल्जियमको दोश्रो ठूलो पार्टी सिडी एण्ड भी बाट उम्मेदवारी दिदैछन् । बहुसंस्कृति र बहुराष्ट्रिय आप्रवासीहरुको ठूलो बसोबास रहेको लुभेन नगरमा गैरबेल्जियन समुदायका उम्मेदबारहरूमध्ये उनको विजयलाई धेरैले निश्चित् मानेका छन् ।

बेल्जियमको लुभेनलगायत अन्य क्षेत्रमा चार वर्षपछि यस पटक अक्टोबर १४ तारिखका दिन लुभेन सिटी म्युनीसिपालिटी काउन्सिलका प्रतिनिधी अर्थात काउन्सिलर चयन गर्नका लागि निर्वाचन हुने भएको हो । बेल्जियमको कानुनअनुसार बेल्जियन र गैरबेल्जियन आवासीय नागरिक दुवैले बेल्जियमको चुनावमा मतदान गर्न पाउने अधिकार छ ।

६५ हजार कूल मतदातामध्ये करिब ८ हजार नेपाली समुदायलगायत अन्य एसियाली तथा अफ्रिकी देशका स्थायी गैरबेल्जियन नागरिक लूभेनका मतदाता रहेका छन्, जसमा नेपाली मतदाताको संख्या ४ हजार छ ।

लुभेनमा बसोबास गर्ने समाजसेवी तथा ब्यावसायीक फोटोग्राफर राजेन्द्र रसाइली रश्मीको चुनावी ब्यस्थतालाई संकेत गर्दै भन्छन्, “हिन्दू संस्कार र सत्कर्मका कारण रश्मी नेपाली समुदायमा एक अत्यन्त उज्यालो प्रकाशपुञ्ज बनेकी छन्, उनले बेल्जियन राजनीतिमा योभन्दा अझ ठूलो सफलता प्राप्त गर्न सक्छिन् ।”

यसै सिलसिलामा बेल्जियमका नेपाली समुदायमाझ सम्मानित व्यक्तित्व योगेन्द्र श्रेष्ठ स्पष्ट शब्दमा ब्यक्त गर्छन्, “सोझो भाषामा भन्नुपर्दा म बेल्जियममा जसरी बैधानिक भएर निर्धक्क साथ बस्न पाएको छु, यो देशले जनतालाई प्रदान गर्ने हर सुविधा भोगचलन गरेको छु, यो भनेको बेल्जियमको पूरानो पार्टी सिडी एण्ड भी का बरिष्ट नेता हरमन भ्यान रोम्पूको देन हो । उनी सन् २००८/२००९ मा बेल्जियमको प्रधानमंत्री भएका बेला उनले नेपाली लगायतका आप्रवासीहरूका बारेमा लिएको महत्वपूर्ण निर्णयले हामी बैधानिक भएका हौं । त्यसकारण मेरो भोट उनको पार्टी सिडी एण्ड भी लाई जान्छ ।”


चुनाव प्रचारका क्रममा सिडी एण्ड भी पार्टीका नेता र मंत्रीहरूमाझ चुनावी कार्यक्रममा भेट हुंदा काउन्सिलरको उम्मेदवारी दिएकी रश्मी निरौलाले भनिन्, “बेल्जियमलाई कर्मथलो बनाई बसोबास गर्ने नेपाली समुदायको हक अधिकारको संरक्षण गर्ने दायित्व पूरा गरेर सिडी एण्ड भी बिगतमा पनि उदाहरणीय काम गरेको छ भने भविष्यमा पनि यस पार्टीको आप्रवासीमैत्री नीतिले गर्दा हाम्रो नेपाली समुुदायलाई निर्धक्कसाथ बैधानिक भएर कर्म गर्ने र बालबालिकाको शिक्षादिक्षा, स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षाका क्षेत्रमा अन्य बेल्जियन नागरिक सरह सहुलियत र सुविधा प्राप्त गर्ने ग्यारेन्टी गर्दछ । मेरो पार्टी महिला–पुरूषबीच कुनै भेदभाव नराख्ने भएकोले नेपाली समुदायका दिदीबहिनीहरूलाई आफ्नो दक्षता र सिपअनुसार रोजगारीमा लाग्ने अबसर प्राप्त हुनेछ । यसकारण मेरो पार्टीलाई चुनावमा विजय गराउने विश्वास लिएकी छु ।”


असोज ३ गते संविधान दिवसको उपलक्ष्यमा बेल्जियमका लागि नेपाली राजदूतावासमा आयोजित विशेष कार्यक्रममा पनि रश्मीलाई निम्ता गरिएको थियो । उनी पार्टीका नेताहरूसहित पुगेकी थिइन । बेल्जियमको भ्रमणमा आएका सो समारोहका प्रमुख अतिथि परराष्ट्र मंत्री प्रदीपकुमार ज्ञवालीले रश्मीलाई उनले नेपाली समुदायको अधिकार र परिचयका लागि खेलिरहेको रचनात्मक भूमिकाको मुग्धकण्ठले प्रशंसा गरेका थिए ।

उम्मेदबार रश्मीले बिगत ५ वर्षदेखि बेल्जियममा वैधानिक रूपमा बसोबास गरिरहेका नेपालीहरूको मतदाता सूचिमा नाम सूचिकृत गराउन पनि सक्रियतापूर्वक खटेकी थिइन् । सिडी एण्ड भी पार्टीले १० महिनाअघि उनलाई उम्मेदबार बनाउने घोषणा गरेपछि रश्मीले नेपाली समुदायलगायत दक्षिण एसियाली र उत्तर अफ्रिकी आप्रवासी समुदायका घरदैलोमा पुगेर चुनावमा मत माग्दै हिडेकी थिइन् ।
बेल्जियमकी पूर्वसांसद रहीसकेकी सिडी एण्ड भीकी महिलानेतृ तथा रश्मीकी राजनीतिक पथप्रदर्शक एल्भ्स.भ्यान हूफ भन्छिन्, “उनको विजयले नेपाली समुदायलाई एक भरोसायोग्य काउन्सिलर दिनेछ भने बेल्जियन राजनीतिमा लामो यात्रा गर्ने अद्भूत संभाब्यता मैले रश्मीमा देखेको छु ।”


रश्मी पॉच र दुई वर्षका दुई छोरीकी आमा हुन् । ललितपुरमा जन्मिएर नेपालीमूलका बेल्जियन नागरिक रेष्टुरेष्ट ब्याबसायी दीपक गौलीसंग विवाहपश्चात रश्मीले बेल्जियमको प्रसिद्ध पर्यटकीय नगरी लुभेनमा १० वर्षदेखि व्यवसाय र सामाजिक सेवा गर्दैआएकी छन् । वाणिज्यशास्त्रमा स्नातक रश्मी नेपाली मूलकी पहिलो र एकमात्र महिला उम्मेदबार भएकीले लुभेन शहरमा बसोबास गर्ने नेपाली समुदायका मतदाताको उनी विशेष आकर्षण हुन् ।

ललितपुरको सेन्ट मेरिज स्कूलबाट विद्यालयस्तरको र काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट विश्वविद्यालयस्तरको अध्ययन पूरा गरेकी रश्मीले बेल्जियम बसोबासको प्रारम्भिक चरणमा त्यहाको सामाजिक विकास मन्त्रालयअन्तर्गतको समाज कल्याण कार्यालयमा कार्यक्रम अधिकृतकी रुपमा कार्य गरेकी थिइन । यस्तै नेपालमा छंदा बैकिंग र लैङ्गिक समानताका लागि राष्ट्रसंघीय परियोजनामा समेत कार्य अनुभव गरेकी थिइन । उनी बरिष्ट पूर्व राजनीतिज्ञ र कथाकार यज्ञप्रसाद आचार्यकि नातिनी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्