दाता दाहिना भएसी



देश सानो भएर के गर्नु पत्रकारका समुह कति हो कति गनि साध्य छैन भनि साध्य छैन । को पत्रकार सक्रिय को निस्कृय, परिभाषित गर्न निकै गाह्रो छ । २÷४ वर्ष गुमनाम भएर अर्कै पेशा अंगालिसकेकाहरु ‘सक्रिय पत्रकार’का रुपमा सम्मानित र पुरस्कृत बन्ने मुलुकमा पत्रकार कस्ता बर्ण र रङका छन् भनेर धेरै व्यख्या विश्लेषण गरिरहनु पर्दैन होला ।

पत्रकारका समुह धेरै हुँदा अलमलिने धरहरा केही समुहबारे प्रष्ट जानकार छ । बानेश्वरको संसद भवन धाउनेहरु आफूलाई संसदीय मामिला पत्रकार भन्छन् क्यार । संसद चलेका बेला केही अनुहार संसद आसपासमा नियमित भेटिन्छन् त्यहाँ औसी पूर्णिमा र ठूलै जमघटको समयमा मात्रै फाट्ट फुट्ट देखिनेहरु आफूलाई धेरै ठाउँमा सक्रिय संसदीय पत्रकारका रुपमा चिनाइरहेका हुन्छन् ।

हिजो–अस्ती खै कुन दिन खै कताका दाताले सोमरस र अन्य धेरै थरी रस जुटाइदिएपछि ललितपुरको गोदावरी पुगेका कनिष्ठ र बरिष्ठहरुको चुरीफुरी ह्वात्तै बढ्या छ । गोदावरी जमघटमा दाताको दान निकै दमदार भएछ क्यार आफूलाई बरिष्ठका रुपमा चिनाउन मरिहत्ते गर्नेहरुले उतै ‘संसदीय मामिला पत्रकार समाज’ गठन गर्न भ्याई हालेछन् ।

‘समाज त संसद परिसरमै गठन ग¥या हुने थिएन र’ भन्दै धेरैले चासो व्यक्त गर्दा केही बरिष्ठहरुले निधक्क भने–‘के गर्नु, दाताले गठन गर्नु भनेपछि नाईँ भन्न सकिएन, नुनको सोझो गर्नै प¥यो ।’

प्रतिक्रिया दिनुहोस्