विद्यार्थी कसरी टिकाउने ?



यहाँ समयमा उत्साहपूर्वक विद्यार्थी भर्ना भए पनि कक्षा छाड्नेको संख्या व्यापकरुपमा बढेको देखिएको छ । उमेर पुगेका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराउने सरकारको नीतिअनुसार भर्ना अभियान नै लिएर वैशाख महिनाभर यस जिल्लाका सबै विद्यालयबाट भर्ना अभियान शुरु गरियो ।

शैक्षिक सत्र शुरु भएसँगै विद्यार्थी भर्ना अभियान प्रभावकारीरूपमा सम्पन्न भयो । महेन्द्र मा.वि., मटेहियामा ४ सय ५० विद्यार्थी विद्यालयमा भर्ना भए । तर अहिले एकाएक विद्यार्थी कम हुँदै गएका छन् । प्रधानाध्यापक पेष्कार सिंहका अनुसार पहिलो त्रैमासिक परीक्षामा ७२ विद्यार्थी एकाएक अनुपस्थित भएको फेला परेको छ । विद्यालयको रेकर्डअनुसार सबैभन्दा धेरै कक्षा १ मा २५ विद्यार्थी अनुपस्थित भएका छन् । पहिलो त्रैमासिक परीक्षामा धेरै विद्यार्थी अनुपस्थित भएपछि आगामी परीक्षामा अझै अनुपस्थित हुने चिन्ता छ ।

राप्तीपारिका अधिकांश विद्यालयमा यो समस्या धेरै छ । नरैनापुर–६ को आदर्श मा.वि.मा करिब एक सय बढी विद्यार्थी पहिलो त्रैमासिक परीक्षामा अनुपस्थित भएको बताइन्छ । ६ सय ३५ विद्यार्थी रहेको नरैनापुर–६ कै जयकिसान मा.वि.मा ५०१ विद्यार्थी मात्रै परीक्षामा सहभागी भए । १ सय ३४ विद्यार्थी अनुपस्थित भए । विद्यालय नआउने बालबालिकाको नाम, विद्यालय नआउने कारण र पारिवारिक अवस्थाको विषयमा पनि जानकारी लिएर विद्यालय आउने वातावरण सिर्जना गर्नेतर्फ ध्यान दिन जरुरी देखिएको छ ।

यो समस्या समाधान गर्न निकै चुनौती त छँदै छ तर पनि अब जनप्रतिनिधिले यस विषयमा चासो राखे मात्र केही हदसम्म समस्याको समाधान हुने देखिन्छ ।
– विष्णु अर्याल, बाँके ।

प्रतिक्रिया दिनुहोस्