प्रदेश १ का सांसदले पाए लोगो



सरोज यादव, विराटनगर ।
प्रदेश नं १ का प्रदेश सभाका सदस्यहरुलाई लगाउने लोगो वितरण गरिएको छ । प्रदेश सभा सचिवालयले सोमबार एक कार्यक्रमको आयोजना गरी सदस्यहरुलाई लोगो वितरण गरेको हो । १ नं प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई लोगो लगाईदिएर कार्यक्रमको सुभारम्भ गरेका थिए ।

सभामुख भण्डारीलाई मुख्यमन्त्री राईले पनि प्रदेशको लोगो लगाई दिएका थिए ।त्यसपछि क्रमश सरकारका सदस्यहरु साथै प्रदेश सदस्यहरुलाई सभामुख भण्डारीले लागो वितरण गरेका थिए । उनले कार्य व्यवस्था परामर्श समितिले पार गरेको लागो प्रयोगमा ल्याइएको जानकारी दिए । प्रदेश सदस्यहरुका लागि यसअघि नै खैरो रंगको कोट पोशाकको हकमा अनिवार्य गरिएको छ ।

यो लोगोमा सुनसरी इटहरीका कलाकार विक्रम श्रीले कला भरेका हुन । प्रदेश सभा सचिवालयले सार्वजनिक सूचना प्रकाशित गरी लोगोको नमुना मागिएको थियो । प्रदेशसभा सचिवालयमा जम्मा २ वटा लोगो प्रतिस्पर्धामा आएका थिए ।त्यसमध्ये कलाकार श्रीले तयार कला भरेको लोगोलाई पास गरिएको थियो ।

प्रदेश १ का सदस्यहरूलाई लगाउने लोगोमा महिला र पुरुषका हत्केलामाथि भोजपुरे खुकुरी, त्यसमाथि लालीगुराँसका थुङगा अनि मास्तिर धानका बालाले घेरिएका छ ।त्यसैगरी लोगोमा प्रदेश १ का १४ जिल्लाको बीचमा सप्तकोसी नदिको शीरमा विश्वको उच्च सगरमाथा हिमालको चुचुरोमा नेपालको राष्ट्रिय झन्डा भएको लोगो बनाइएको छ ।

प्रदेश १ का सभ्यतालाई प्रमुख आधार बनाएर लोगो तयार पारिएको छ । लोगोमा हिमाल, पहाड र तराई तीनै भागलाई प्रस्ट देख्न सकिने छ । अन्न भण्डार तराईका धानका बालादेखि प्रदेश १ मा रहेको गुराँसको राजधानीलाई मात्र नभइ पहिचान बनाएका भोजपुरे खुकुरीलाई समेत समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्