बोमजन र परियार सर्वोत्कृष्ट गायकगायिका, गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड



रश्मी थापा
सांगीतिक क्षेत्रको महवपूर्ण अवार्डका रूपमा लिइँदै आएको २०औं संस्करणको इमेज अवार्ड शनिबार राजधानीको होटल सोल्टी क्राउन प्लाजामा सानदाररूपमा भएको छ। इमेज ग्रुप अफ कम्पनीले आयोजना गर्दै आएको यस वर्षको इमेज अवार्ड समारोहमा गायक कमल खत्रीको जाउँला रेलैमा बोलको गीत सर्वोत्कृष्ट गीत सावित भयो भने यही गीतबाट उनले संगीतकारको अवार्ड चुमे। पप गायक र म्युजिक भिडियो विधाको अवार्ड मन मगनबाट दीपक वज्राचार्यले चुमे भने पप गायिकाको अवार्ड मनचरीबाट श्रेया सोताङले उचालिन्। गायकको अवार्ड जाउ तिमीबाट कर्मा ग्याल्जेन बोमजन र गायिकाको अवार्ड वन फूलबाट दुर्गा परियारले चुमिन्।

कुल १८ विधामा अवार्ड प्रदान गरिएको समारोहमा संगीतकार प्रकाश गुरुङलाई ४ दशकदेखि सांगीतिक क्षेत्रमा योगदान पु¥याएबापत नगद १ लाख रुपियाँसहित लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ। त्यसै गरी १८ घन्टासम्म लोडसेडिङ खेप्न बाध्य देशलाई भइरहेकै स्रोत साधनबाट व्यवस्थित गरेर लोडसेडिङमुक्त गरी ऊर्जाको क्षेत्रमा योगदान पु¥याएबापत नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पर्सनालिटी अफ द इयर प्रदान गरिएको छ।

गीत, संगीत, कमेडी र नृत्य प्रस्तुतिसँगै अगाडि बढाइएको साँढे ३ घन्टा लामो कार्यक्रममा गीत रचनातर्फको अवार्ड यो ऐना भनाउँदोबाट आनन्द अधिकारीले चुमे भने समूह वा युगलगायन अवार्ड हावा घरैमा गीतका लागि पुजन लोहागन र अनुपमा प्रधानलाई दिइयो। त्यसै गरी नवकलाकारको अवार्ड छामी हेरन गीतबाट सुवासचन्द्र जोशी र पब्लिक च्वाइस अवार्ड माया लुकी लुकीबाट टीका प्रसाईंले प्राप्त गरिन्। दोहोरी गीततर्फ भने नौलाई सुन्य नब्बे गीतबाट रूपकुमार राई र मेनुका राईले दोहोरी गायक गायिकाको अवार्ड चुमे भने लोकगीत गायनको अवार्ड दुई रुपियाँको बिडीबाट सीता थापा, लोकगीत सङ्कलकको अवार्ड बोल मायाबाट प्रकाश सपुतले चुम्दा पशुपति शर्मा र सम्झना भण्डारीले छिन–छिन बज्ने चुराबाट दोहोरी गीत विधाको अवार्ड उचाले। म्युजिक भिडियो छायाँकारको अवार्ड तिमीलाई छँुदैबाट बुद्ध थापा र म्युजिक भिडियो सम्पादकको अवार्ड सोही गीतबाट विकास धमलाले चुमे भने म्युजिक भिडियो निर्देशकको अवार्ड डोन्ट किलमीबाट निशान घिमिरेले प्राप्त गरे।

कार्यक्रममा जितु नेपाल, निमा रुम्बा, प्रियंका कार्की, कुटुम्ब, १९७४ एडी, कार्टुन क्रुजलगायतका कलाकार, ब्यान्ड र डान्स गु्रपले आ–आफ्ना रमाइला प्रस्तुति दिएर कार्यक्रमलाई रोमाञ्चक बनाएका थिए भने प्रकाश सपुत र शान्तीश्री परियारले दोहोरी गीत प्रस्तुत गरेका थिए। त्यसै गरी दुर्गा परियार, टीका प्रसाईं, श्रेया सोताङलगायतले पालैपालो गीत–संगीत प्रस्तुत गरेका थिए।

इमेज च्यानलको नयाँ लोगो सार्वजनिकसमेत गरिएको कार्यक्रममा इमेज च्यानललाई सबैभन्दा धेरै विज्ञापन उपलब्ध गराउने थम्सन नेपाल, एड रिलिज र इको एडभर्टटाइजिङ एजेन्सीलाई सम्मान गरिएको थियो। अवार्ड समारोहमा २०७४ साल असार १ गतेदेखि २०७५ साल जेठ मसान्तसम्म सार्वजनिक भई इमेजमा दर्ता भएका नेपाली गीतका एल्बम, म्युजिक भिडियो एवं सिंगल ट्र्याकमध्येबाट १८ विधामा अवार्ड प्रदान गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै इमेज ग्रुप अफ कम्पनीका अध्यक्ष आरके मानन्धरले दर्शक, स्रोता र विशिष्ट व्यक्तित्वको सहयोग र विश्वासका कारण आफूहरु सफल भएको बताए। ‘इमेज ग्रुपले रेडियो, टेलिभिजन र अनलाइनको माध्यमबाट सत्य तथ्य र विश्वसनीय समाचार प्रसारण र प्रकाशन गरी पत्रकारिताको धर्म निर्वाह गर्दै आइरहेको छ। ‘कलाकारिता र संगीत क्षेत्रको सम्मान गर्दै आइरहेको छु।’ –उनले भने। कार्यक्रम इमेज च्यानल, इमेज एफएम ९७.९, इमेज न्युज एफएम १०३.६ र इमेज च्यानलको फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।

२०औं इमेज अवार्ड

प्रतिक्रिया दिनुहोस्