पोखरा–बागलुङ्ग सडक चौबिसै घण्टा खुल्ला



दुर्गाप्रसाद शर्मा, पर्वत
सडक फराकिलो र स्तरउन्नतीका लागि दैनिक ७ घण्टा बन्द हुँदै आएको मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड शनिबार देखि चौबिसै घण्टा खुल्ला हुने भएको छ ।

दशैं र मुक्तिनाथ जाने तीर्थालु तथा पर्यटकको सुबिधालाई ध्यानमा राखेर सडक बन्द कार्य शनिबार देखि खुल्ला गरिएको हो । सडक बिस्तारका लागि पर्वतको सिमाना अँधेरीखोला देखि खरेहा गेट सम्म असोज १ गते देखि २० गते सम्म दैनिक सात घण्टा बन्द हुँदै आएको थियो ।

लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवा देखि बेतनी बिचको माहुरी भिर र दोबिल्ला देखि चुवा सम्मको चुवा भीरमा सडक फराकिलो बनाउने काम भैरहेको छ । अहिले पनि सडक मर्मत गर्दा यात्रुलाई मर्का नपर्ने गरि जाम हुँदा साथ सवारीका साधन वारपार गराउने काम भैरहेकोे निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीले जानकारी दिएको छ । दशैं शुरु हुने र मुक्तिनाथ पुग्ने पर्यटकको चाप बढ्ने भएकाले सडक बन्द नगरि काम गरिने निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालले बताए । ‘अर्को सुचना जारी नभए सम्म सडक बन्द हुँदैन’ उनले भने ।

आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयामा पर्वत खण्ड स्तरउन्नतीको कामको ठेक्का लिएको छ । अहिले सम्म १५ प्रतिशत काम सकिएको म्यानेजर भुसालले जानकारी दिए । अहिले सबै ठाउँबाट काम शुरु गरिएको र दशै तिहारपछि कामलाई अझै तीब्र बनाउने निर्माण कम्पनीले जनाएको छ ।

मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ्ग खण्ड लाई नयाँ स्वरुपमा ढाल्ने गरि मर्मत सम्भार तीब्र पारिरहेको छ । लोकमार्ग पुरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नती गर्न चारवटा प्याकेज बनाएर काम भैरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारी अनुसार तीन वर्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ । २०५० सालमा निर्माण सम्पन्न भएको सडकका् धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँठाउँमा जाम समेत हुने गरेको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी संचालनमा समेत जोखिम थियो ।

प्रतिक्रिया दिनुहोस्