महानगरका प्रमुखको अध्यक्षतामा उपत्यका स्तरीय नगरपालिका फोरम



काठमाडौं । विकास निर्माण तथा व्यवस्थापनका साझा सवालमा एउटै कार्यक्रम तथा सोच निर्माण गर्ने उद्देश्यले काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा उपत्यकास्तरीय नगरपालिका फोरम स्थापना गरिएको छ ।

शुक्रबार सम्पन्न उपत्यकाका नगर प्रमुख र उपप्रमुखहरुको भेलाले गठन गरेको फोरममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन उपाध्यक्ष, मध्यपुर ठिमी नगरका प्रमुख मदनसुन्दर जगुलु श्रेष्ठ सचिव हुनुहुन्छ । फोरमका सदस्यमा उपत्यकाका सवै नगरका प्रमुख र उपप्रमुखलाई राखिएको छ । कार्यसमिति सदस्यमा काठमाडौंका चन्द्रागिरी, कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर र टोखा नगरपालिका ललितपुरको गोदावरी र भक्तपुरको चाँगुनारायण नगरपालिका प्रमुख हुनुहुन्छ ।

फोरमले फोहोरमैला व्यवस्थापन, सडक सञ्जाल, साझा नदीको उपयोग व्यवस्थापन, कर प्रणाली, पुरातात्विक तथा सांस्कृतिक पद मार्ग निर्माणलगायतका क्षेत्रमा साझा सोच, कार्यक्रम, योजना निर्माण गरी एकीकृत पद्धतिबाट काम गर्ने लक्ष्य लिएको छ ।

साझा समस्यासँग जुध्न एकीकृत योजनामा लगानी जुटाएर अघि बढ्ने

समिति गठनपछि प्रतिक्रिया दिँदै फोरमका अध्यक्ष एवं काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो — उपत्यकामा भएका विकास तथा सहरी व्यवस्थापन, पूर्वाधार निर्माण, कर तथा राजस्वका दर निर्धारण, जोडिएका समस्या समाधानमा एउटै कार्यक्रम सञ्चालन गर्न यो फोरमको निर्माण गरिएको हो । एउटै उपत्यकाभित्र भएका विभिन्न नगरहरु साझा समस्यासँग एक्लै जुधिरहेका छन् । त्यस्ता समस्यासँग जुध्न एकीकृत योजना र लगानी आवश्यक थियो । त्यही आवश्यकता पूरा गर्ने क्रममा फोरम स्थापना भएको हो । उहाँले नेपाल नगरपालिका संघसँगको सम्बन्धका विषयमा चर्चा गर्दै थप्नुभयो — यो नेपाल नगरपालिका संघको प्रतिस्पर्धी होइन । यसले केवल उपत्यकाका कामसँग मात्र सरोकार राख्छ ।

गएको महिना चन्द्रागिरी नगरका प्रमुख धनश्याम गिरीले सवै नगरका प्रमुखहरुलाई भेला गराएर फोरम निर्माणको जग तयार गर्नुभएको थियो । आफूले शुरु गरेको जगले आकार लिएपछि उहाँले प्रसन्नता व्यक्त गर्दै भन्नुभयो — सवै नगरको समस्यासँग सरोकार राख्ने मुद्दामा अव म एक्लै जवाफदेही बन्नु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्