जय होस जाम



सवारी जाम काठमाडौंको मौलिक परिचय झैं बनेको छ । झन् चाड बाड नजिकिएपछि जामले धुरुक्कै बनाउँछ भन्या । उपचारका लागि अस्पताल दौडिएको एम्बुलेन्स त जाममा परेर विरामीले अकालमै ज्यान गुमाउनुपर्छ भने अरु उदाहरण नदोहो¥याए पनि हुन्छ ।

जामले सहर बजारमा डटुवाहरुको संख्या ह्वात्तै बढाएको छ । निकै अघिदेखि सडक किनारमा कुरेर बसेकी प्रेमिकालाई धेरै बेर कुराएको प्रेमी हस्याङ फूस्याङ लवजमा ङिच्च गर्दै भन्छ–‘हेर न, जाममा परेर…।’ कुरो प्रेमी प्रेमिकाको मात्रै होइन, आफन्त, साथीभाई र अफिसका स्टार्फसबैको थेगो नै बनेको छ, ‘जाम’ । अनि जानाजान आफ्नो स्वार्थ पुरा गर्न दौडिएकाहरु भन्छन्–‘जामले गर्दा हैरान भइयो ।’

२÷३ महिना अघि संसदमा गृहमन्त्रीको निकै खोजी भयो अनि जवाफमा सभामुखले भन्न भ्याए–‘उहाँ संसदमै आउँदै हुनुहुन्छ, कतै जाममा पर्नु भयो होला ।’ सँधै बाक्लो सुरक्षा दस्ता सहित सडकमा साइरन बजाउँदै दौनिने गृह मन्त्री जाममा परेको बहाना बनाउने मुलुकमा अन्यको के कुरा भो र ?

अहिले सरकारले परिणाममुखी काम नगरेको, पार्टीगत स्वार्थ र अन्य विविध बहानाबाजीमा अलमलिएको भनेर निकै आलोचित छ । यस्तै आलोचना चुलिदै गर्दा कुन दिन प्रधानमन्त्री, मन्त्री र सत्ताधारी नेताहरुले भन्न बेर छैन–‘हैन बजेट त अस्तै नै पठाइसक्या हो त, कार्ययोजना पनि अस्तै नै बनेको, निर्देशन दिएको पनि धेरै भयो, कतै जाममा परेर ढिला भयो होला ।’

प्रतिक्रिया दिनुहोस्