कान्छिमायाद्वारा आफ्नै कीर्तिमान भंग



काठमाडौं, (नेस)
म्याराथनमा लगातार उपाधि जितिरहेकी कान्छीमाया कोजुले १२औं काठमाडौं म्याराथनमा आफ्नै कीर्तिमान भंग गरेकी छन् ।

शनिबार भएको महिला म्याराथनतर्फ कान्छीमायाले ४२.१९ किमीको दुरी २ घण्टा ५० मिनेट ४१ सेकेण्डमा पुरा गर्दै पहिलो भएकी हुन् । उनले सो समय निर्धारित गर्दा दुई वर्षअधि यसै प्रतियोगितामा राखेको समयलाई करिब ५ मिनेट १७ सेकेण्डले पछि पारिन् । भक्तपुरकी धाविकाले २०७३ को काठमाडौं म्याराथनमा २ घण्टा ५५ मिनेट ५८ सेकेण्डको समयमा पुरा गरेकी थिइन् ।

दोस्रो स्थानमा भक्तपुरकी सरिता बसीले ३ घण्टा ११ मिनेट १४ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थान हासिल गरिन् । यसैगरी तेस्रो भएकी राजपुरा पाछाईले सो दुरी पार गर्न ३ घण्टा २४ मिनेट ८ सेकेण्डको समय लिएकी थिइन् । पहिलो भएकी कान्छीमायाले ५० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १५ हजार नगद पुरस्कार प्राप्त गरे ।

यसैगरी पुरुष म्याराथनमा नेपाली सेनाका धावकले शीर्ष दुई स्थान हात पारेका छन् । होमलाल श्रेष्ठले २ घण्टा २० मिनेट ४५ सेकेण्डको समयका साथ आफुलाई पहिलो स्थानमा उभ्याए । त्यस्तै राजन खत्रीले दोस्रो स्थान हासिल गर्न २ घण्टा २३ मिनेट ३३ सेकेण्ड समय खर्चे । तेस्रो स्थानमा रहेका नेपाल प्रहरीका भुमिराज राईले २ घण्टा २४ मिनेट ३१ सेकेण्डमा दुरी पुरा गरेका थिए । शीर्ष तीनले क्रमशः ५०, २० र १५ हजार रुपियाँ पुरस्कार जिते ।

प्रोस्पोर्टस प्रालिद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत रोड रेशमा एपीएफका गोपी चन्द्र पार्कीले पहिलो स्थान हासिल गरे । उनले १ घन्टा ७ सेकेन्डमा दूरी पुरा गरेका थिए । दोश्रो स्थानमा रहेका सेनाका रामजी बस्नेतले १ घन्टा २१ सेकेन्डमा दूरी पुरा गरे । एपिएफकै सन्तोष बिक्रम बिष्टले १ घन्टा २२ सेकेन्डका साथ कास्य पाए । महिला तर्फ सेनाकी बिश्वरुपा बुढाले १ घन्टा १० मिनट ५७ सेकेन्डका साथ स्वर्ण पाईन् । एपिएफकी बिन्द्रा धनकेश्वरी श्रेष्ठले १ घन्टा ११ मिनट ३७ सेकेन्डका साथ रजत र एपिएफकै पुष्पा भण्डारीले १ घन्टा १२ मिनट ३५ सेकेन्डका साथ कास्य पाईन् । दुबै विधाका शीर्ष तीनले क्रमशः २० हजार, १३ हजार र ७ हजार नगद प्राप्त गरे ।

५ कि.मि. खुला दौड तर्फ पुरुषमा अजित यादव १८ मिनेट ११ सेकेण्ड र महिलामा सन्तोषी श्रेष्ठ २० मिनेट ३७ सेकेण्डसहित पहिलो स्थानमा रहे । पुरुषतर्फ मिलन कार्कीले रजत र जितेन्द्र दनुवारले कास्य तथा महिला तर्फ सानु माया कार्कीले रजत र फुलमती रानाले कास्य प्राप्त गरे । शीर्ष तीनले क्रमशः नगद १० हजार, ६ हजार र ४ हजार हासिल गरे ।

५ कि.मि.कै छात्र तर्फ १९ मिनट ५१ सेकेन्डका साथ प्रविन कुमार बोहराले स्वर्ण पाए । दोश्रो स्थानमा सागर श्रेष्ठ र तेश्रो स्थानमा नारायण तामाङ्ग रहे । छात्रा तर्फ कर्णाली स्पोर्ट्सकी मञ्जु रावतले २४ मिनट ५५ सेकेन्डका साथ स्वर्ण पाईन् । काजल बिष्टले रजत र विजेश्वरी ज्ञान मन्दिर सैनिक बिद्यालयकी स्वेशा बलामीले कास्य पाए । बिजयी खेलाडीहरुले ५ हजार, ३ हजार २ हजार नगद प्राप्त गरे ।

मास्टर तर्फको पुरुषमा धर्म महर्जन १९.५२.६३ समयका साथ स्वर्ण हात पार्न सफल भए । भिम बहादुर गुरुङ्गले रजत र कपिल भट्टले कास्य पाए । महिला तर्फ सरस्वती खड्का राईले २६ः५६.६२ समयका साथ स्वर्ण हात पारिन् । दोश्रो स्थानमा निलम श्रेष्ठ रहिन् । पहिलो, दोश्रो र तेश्रोले क्रमशः १० हजार, ६ हजार र ४ हजार पाए ।

ह्विल चेयर तर्फको प्रतिस्पर्धामा कृष्ण राज चौधरी १५ः५६.४५ समयका साथ पहिलो भए । दोश्रो स्थानमा रविन्द्र खत्री र तेश्रो स्थानमा राजेश सिल्पकार रहे । महिलातर्फ यामी झाक्री मगरले १४ ः४७.६६ समयमा दुरी पुरा गरिन् । लक्ष्मी घिमिरेले रजत र हिरा तामाङ्गले कास्य पाईन् । बिजयी खेलाडीहरुले क्रमशः ५, ३ र २ हजार नगद प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्