सामुदायिक वनलाई पर्या पर्यटकीय गन्तव्य बनाइँदैै



यमलाल भुसाल, बुटवल
रुपन्देही जिल्लाकै पहिलो सामुदायिक बन तिलोत्तमा नगरपालिकामा रहेको शंकरनगर सामुदायिक बनलाई पर्या पर्यटकीय गन्तव्यका रुपमा बिकास गर्नका लागि गुरुयोजना निर्माणको काम अंगाडी बढाईएको छ ।

पर्यापर्यटनको प्रसस्त सम्भावना देखिएकाले बदलिँदो परिस्थितीलाई मध्येनजर गरेर गुरुयोजना निर्माणको काम भईरहेको शंकरनगर सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष राम गिरीले बताउनु भयो ।

पर्यापर्यटनको गन्तव्यको रुपमा बिकास गर्न सके प्रसस्त पर्यटक तान्न सकिने र त्यसका माध्यमबाट मुलुकको आर्थिक बिकासमा योगदान गर्न सकिने भएकाले सौन्दर्य प्रवद्र्धन अवधारणा, व्यबसायिक व्यबस्थापन, प्रकृतिमैत्री संरचना, सेवाको विविधिकरण, जैविक विविधता संरक्षण, समतामा आधारित लाभांस वितरण र सहभागिता, समन्वय तथा सहकार्यको सिद्धान्त अंगिकार गरी गुरु योजनाको निर्माणको काम भईरहेको गुरुयोजना निर्माणको काम गरिरहेको हरित नेपाल बिकास प्रा.लि.लैनचौर काठमाण्डौका बन्यजन्तु विज्ञ हेमराज आचार्यले जानकारी दिनुभयो ।

गुरुयोजनाको प्रारम्भिक मस्यौदा तयार गरी यस अंगाडी नै प्रारम्भिक छलफल समेत गरिसकेको शंकरनगर सामुदायिक बनले दोस्रो चरणमा बन समुहका पार्षद तथा सल्लाहकारुसंग अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम गरेको छ । हालै शंकरनगरमा भएको अन्तरक्रिया तथा सुझाव संकलनमा बन समुहका पार्षद तथा सल्लाहकार गरि ३२० जना सहभागि थिए । उनिहरुलाई ४ छुट्टा छुट्टै समुहमा विभाजित गरि अन्तरक्रिया तथा सुझाव संकलन गरिएको थियो ।

शंकरनगर सामुदायिक बन अन्तरगत ५१.३४ हेक्टर क्षेत्रफलमा बनबाटिकाका रुपमा बिकास गर्ने उपभोक्ता समुहको बिधानमा व्यबस्था भए अनुसार बनबाटिका विकसित गर्नकालागि गुरुयोजना निर्माण गरिएको हो । रुपन्देही जिल्लाकै पहिलो सामुदायिक बन शंकरनगर सामुदायिक बनलाई महत्वपूर्ण पर्यापर्यटकीय गन्तव्यका रुपमा बिकास गर्न स्थानीय स्रोत साधनको प्रयोग गरेर आकर्षक पूर्वाधार निर्माण, पार्क, पिकनिक स्पर्ट, बगैचा, प्राणी उद्यान (चिडिया खाना), बनस्पति उद्यान लगायतका पूर्वाधार तयार गर्ने निर्माणाधिन गुरुयोजनामा उल्लेख गरिएको छ ।

बनस्पती उद्यान निर्माणकालागि प्रदेश सरकारबाट बजेट समेत प्राप्त भईसकेको छ । त्यस्तै सरकारले सातवटै प्रदेशमा प्रदेश स्तरीय प्राणी उद्यान निर्माणलाई नीति तथा कार्यक्रममा समावेश गरेकाले प्रदेश स्तरीय प्राणी उद्यानका लागि समेत शंकरनगर बन उपयुक्त रहेकाले त्यसकालागि १६.६१४ हेक्टर क्षेत्रफल गुरुयोजनामा छुट्याईएको छ ।

शंकरनगर सामुदायिक बनलाई पर्या पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्न सके अन्तर्राष्ट्रिय पर्यटकलाई भित्र्याउन सकिने ठूलो सम्भावना देखिएको अध्यक्ष गिरीले बताउनु भयो । बन क्षेत्रका भारतीय सिमाक्षेत्रसम्मको दुरी जम्मा २३ किलो मिटर भएकाले पनि अत्यधिक भारतीय पर्यटक भित्र्याउन सकिने उहाँको भनाई छ ।

कार्यक्रममा बनस्पिती विज्ञ डा. रामचन्द्र पौडेलले बनस्पति उद्यान भन्नाले रैथाने बनस्पतिहरु, तिनको प्रजातीय विविधता र प्राकृतिक बासस्थान समेत गरि सम्पूर्ण पारिस्थितिकीय प्रणालीको संरक्षण, सवद्र्धन र त्यस सम्बन्धि शिक्षा, जनचेतना र अध्ययन अनुसन्धान गर्ने थलोका रुपमा बुझिने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुसार निर्माण गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्