‘अब देशले पाँच वर्षमा फड्को मार्नेछ’



नेपाल समाचारपत्र, काठमाडौं
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशले अब ५ वर्षभित्र फ्ड्को मार्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रौटहट( काठमाडौँ सम्पर्क मन्चले राजधानीको चोभारमा आयोजना गरेको विजयादशमी, छठ, दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल र नेकपाका महासचिव विष्णु पौडेल विशेष अतिथिका रुपमा रहनुभएको थियो ।

यसै कार्यक्रममा बोल्दै उहाँले बलात्कारीले शिर ठाडो पारेर हिँड्न नदिने र अपराधीलाई सजायको दायरामा ल्याएरै छाड्ने बताउनुभएको थियो । यसै अवसरमा कार्यक्रमका अतिथि तथा पूर्वमन्त्री प्रभु शाहले रौतहटबाट काठमाडौँमा आएका सबैले रौतहटको शिर माथि उठाउने काम गर्नुपर्ने बताउनुभएको थियो । उहाँले योग्य जनशक्तिविना नहुने बताउँदै नेपालमा रोजगारी सम्भव छ भन्नेमा अठोट गर्नुपर्ने बताउनुभएको थियो । उहाँले निर्वाचनका बेला चुनाव चिह्न चिनाउन पुगेजसरी कखग सिकाउन पुग्ने हो भने रौतहटको निरक्षरता हट्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेकपाका महासचिव विष्णु पौडेलले अहिलेको सरकारले भ्रष्टाचार, अनियमितताविरुद्ध काम गरेको, सिन्डिकेटविरुद्ध काम गरेको र सुशासनलाई सुनिश्चित गर्ने पनि बताउनुभयो । कार्यक्रमका वक्ता सबैले आउँदै गरेको विजयादशमीको शुभकामना व्यक्त गर्नुभएको थियो । देवेन्द्र ठाकुरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा रौतहटका प्रतिनिधि, विभिन्न व्यक्तित्वको सहभागिता थियो । यसै अवसरमा कलाकारहरुले विभिन्न गीत, नृत्य र नाटक प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्