भाषामा कर्मशीलता र कर्मकाण्ड



-मुक्तिबन्धु
सरकार समृद्धिको कुरा गरिरहेको छ । उत्कर्षको कुरा गरिरहेको छ । सुशासनको कुरा गरिरहेको छ । भ्रष्टाचारप्रति शून्य सहनशीलताको कुरा गरिरहेको छ । तस्करी नियन्त्रण, सिन्डिकेट खारेजी, बेइमान ठेकेदारहरुमाथि कार्बाही, आदि इत्यादि यावत् कुरा गरिरहेको छ सरकार । सम्बिधानमा जनताका लागि मैलिक अधिकारका कुरा त्यत्तिकै भरिभराउ छन् ।

यी सवै सुख सुविधा व्यवस्थापनका लागि मुलुकमा हजारौं जनप्रतिनिधिहरु छन् । त्यत्तिकै संख्यामा तिनका सहयोगी सल्लाहकार र सेवकहरु छन् । लाखौं निजामती कर्मचारीहरु छन् । लाठीधारी र शस्त्रधारी सुरक्षाकर्मचारी लाखौं छन् । जनता र देशको चौतर्फी रक्षा सुरक्षामा रातदिन नभनी चौबीसै घण्टा खटेकाछन् । गाउँ शहर यत्र तत्र सर्वत्र विद्यालय महाविद्यालय र विश्वविद्यालयहरु छन् । अस्पताल र महाअस्पतालहरु छन् ।

ती संस्था र संस्थानहरुमा क्रियाशील विज्ञ, प्राज्ञ र प्राविधिज्ञहरुको संख्या त्यत्तिकै छ । मुलुकमा शिक्षा र स्वास्थ्यका कारखानाहरु पश्चिमदेख पूर्वसम्म र दक्षिणदेखि उत्तरसम्म फैलिएका छन्, फस्टाएकाछन् । मुलुकमा सरकारी प्राज्ञहरु छन् । सरकारी बुद्धिजीवीहरु छन् । तिनका ज्ञान, विधिविज्ञता, दक्षता, चातुर्य आदि व्यवस्थापनका लागि थरीथरीका प्रज्ञाप्रतिष्ठानहरु त्यत्तिकै छन् । मुलुकमा जिल्लादेखि केन्द्रसम्म तह तहका न्यायालयहरु छन् । गनि नसक्ना वकिलहरु छन् । जता हे¥यो त्यतै न्यायको खेती लहलहाएको छ ।

यो सवै सुन्दा पढ्दा अव नेपालमा जनताका लागि सुख शान्तिका भव्य उज्याला दिनहरु ढोकाढोकामा सुन्दर शान्त विशाल सिँहदरबार बनेर उभिन पुगिसकेका छन् ।

आजका दिनमा यी सवै योगदान कसको ? एकमना नेकपा सरकारको । हाम्रा सम्माननीय प्रधानमन्त्री महोदयले अहिले यत्ति कुरा नेपाली जनताले बुझुन् र जय जयगान गाउन् भन्ने चाहनुभएको हो र कार्यकर्ताहरुको जमघटमा आकाङ्क्षा व्यक्त गर्नुभएको हो भने वहाँको बुझाइअनुसार वहाँको आकाङ्क्षा जायज पनि हुनसक्छ ।

हेर्ने आँखा र देख्ने आँखा दुवैको प्रतीति एउटै हुन नसक्नुचाहिँ राजनीतिमा पनि एउटा विडम्वना नै हुँदोरहेछ । शासकका दृष्टिमा जनताको अवस्था र जनता स्वयम्का भोगाइमा जनताको अवस्था फरक वmरक प्रतीत हुनु स्वयम् शासकहरुकै लागि पनि गौरबको कुरा चाहिँ होइन । बुढापाकाहरु भन्छन्, “एक पटक जेलको अवलोकन भ्रमणमा खास खास कैदीहरुका विषयमा सुनेपछि राजा त्रिभुवनले भनेथे रे, ‘यिनीहरुले दुधभात पनि खान पाएनन् र ? नत्र किन चोर्न हिँडेछन् त ?” महलमा विराजमान रहेर चौरासी व्यन्जन ज्युनार गर्दै मनोरन्जनका लागि स्कर्टिङ्मा भ्रमणसवारी हुनेले आम जनताको स्थिति पनि आफ्नो जस्तै अनुमान गर्र्नु सम्बन्धित शासकहरुका लागि स्वाभाविक होला । जनसाधारणका लागि सुपाच्य होइन ।

सरकारका जति कर्मशीलताहरु छन्, ती प्रधानमन्त्री र मन्त्रीका थारा निर्देशनमा सीमित छन् । समृद्धिहरु सबै नेताका भाषणमा छन्, सरकारी बुद्धिजीवीहरुको प्रायोजित लेखनमा छन् । सरकारका विकास नामक नौरङ्गी कर्मकाण्डले मुलुकलाई क्रमशः खण्डहर बनाउँदै छ । थोरै बाँकी रहेका बनजङ्गल पनि विकासका नाममा फाँडिँदै छन् ।

संस्कृत भाषामा एउटा उखान छ— “उपानद्गुढपादस्य ननु चर्मावृतेव भूः, अर्थात् छालाका जुत्ताले मोरिएका खुट्टाका टेकाइमा सारा पृथ्वी छालाले मोरेजत्तिकै नरम नरम हुन्छ । जहाँ टेके पनि नरम छालामै टेकिन्छ ।” त्यस्तै नेपालीमा एउटा उखान छ, साउनमा आँखा फुटेका गोरुले जहिलेसुकै र जतासुकै हरियै देख्छ । सम्वेदनहीन व्यक्तिको चरणचेतना र नेत्रविहीन गोरुको कल्पित दृष्टिबोध सुन्दा सहृदय जसकसैलाई पनि दया लाग्न सक्छ ।

हाम्रो देशमा आज जनताका जति अधिकार छन्, संविधानका पानामा छन् । जनताका वास्तविक भोगचलनमा छैनन् । यसै त संविधानका पानामा नेपाली जनताले रोप्न नचाहँदा नचाहँदै पश्चिमा डलरबहादुरहरुले आफ्नो अर्थबलका आधारमा यहाँका कथित राजनेताहरुलाई खेताला बनाएर तिनैद्वारा जबर्जस्ती रोपाएका विषवृक्षका हाइब्रिड बीजहरु धेरै छन् । ती बीजहरु उम्रिएर झाङ्गिएपछि ती झाङहरुबीच हामी नेपालीलाई नेपाल खोज्न हम्मे पर्न सक्ने सम्भावना पनि टड्कारै छ । आज सरकारका जति कर्मशीलताहरु छन्, ती प्रधानमन्त्री र मन्त्रीका थारा निर्देशनमा सीमित छन् । समृद्धिहरु सबै नेताका भाषणमा छन्, सरकारी बुद्धिजीवीहरुको प्रायोजित लेखनमा छन् ।

सरकारका विकास नामक नौरङ्गी कर्मकाण्डले मुलुकलाई क्रमशः खण्डहर बनाउँदै छ । थोरै बाँकी रहेका बनजङ्गल पनि विकासका नाममा फाँडिँदै छन् । व्यापक रुपमा फाँडिँदै छन् । काठको तस्करी माथिमाथिबाटै अक्कासिने वृहत् योजनामा रमाएको छ । आम जनताका भोगभागमा आज पनि धुलो धुवाँ अन्याय अत्याचार एवम् वलात्कारका दुःख पीडा नै उपलब्ध रहेका छन् ।

यहाँ आज सरकारका अन्याय अत्याचारविरुद्ध बोल्ने चल्ने राजनीतिकर्मीहरुका हात हातमा हत्कडी लागेका छन् भने राष्ट्रघाती स्वर्णतस्करहरु, मानवतस्करहरु, भ्रष्टाचारीहरु, अपराधी ठेकेदारहरु, सिण्डिकेट सन्चालकहरु, किसिमकिसिमका बिचौलियाहरु, बलात्कार र हत्यामा अभ्यस्त आततायीहरु सडक गल्लीमा खुलेआम छाती फर्काएर हिँडेका छन्, गाडीमा गुडेका छन्, विमानमा उडेकाछन् । सत्तासीनहरुलाई किन्चित् पनि लज्जाबोध छैन ।

सत्तासँग जनतालाई सुन्ने कानै छैन । गरीब जनताबाट कर, सत्तासीनहरुलाई महँगा कार, यत्ति नै ध्याउन्नामा देखिन्छन् तथाकथित जनप्रतिनिधिहरु । लाग्छ आजको नेकपा जनदमनका क्षेत्रमा विगतको नेपालीकाङ्ग्रेसलाई पनि उछिन्ने दौडमा छ ।

मुलुकको अवस्थाप्रति दायित्वबोध गरेर सकारात्मक सुधार र परिवर्तनका लागि तदारुक प्रयत्नमा अनवरत होमिनु पर्ने प्रधानमन्त्री बाँसुरी च्यापेर आनन्द यात्रामा विदेशभ्रमणमा निस्कन्छन् र आलङ्कारिक पीएचडी थापेर कत्ति न उँचाइ बढेको भ्रम भिर्दै फिर्तीसवारी भर्छन् । सुकोमल सुकिला गालाबीचका ओठ तन्काउँदै भीआइपी कक्षमा उत्रेर उनी कसरी मुसुक्क मुस्कुराउन सकेकाछन् देख्दा आम जनतालाई टीठ लाग्छ ।

जनता भनेका सोह्रसरातका पितर् मातर्हरु होइनन् । नेताका अवतारमा देखिएका पुरेतका परम्परागत भाषाभाषण र सरकारका कर्मकाण्डे ढकोसलाले जनताको समस्या समाधान हुने पनि होइनन् । यत्तिले हुँदो हो त विगत ०७ सालदेखि हालसालसम्मका ७० वर्षमा उन्नति प्रगतिका सवैजसो क्षेत्रमा नेपालले जापानलाई कोसौं उछिन्दो हो । नेपालको मनग्ये प्राकृतिक सम्पदा र अनुकूलताको धरातलमा उभिएर जापानलाई हेर्दा नेपालमा यी ७० वर्ष कतिसम्म नालायक राजनीतिले राज गरेछ भन्ने यथार्थ छर्लङ्ग हुन्छ । ०४५ पछिका ३० वर्षमा पनि नेपाली राजनीतिले त्यस अगाडिका ३० वर्षे पन्चायती व्यवस्थाले जति पनि उत्पादक काम गर्न नसक्नु र त्यतिबेला स्थापित आद्योगिक पूर्वाधारहरुलाई जिलीगाँठी बाँकी नराखी समाप्त पार्नु लज्जा शव्दले बोक्न सक्ने अभिधेयार्थको लज्जा हो ।

हाम्रा पुर्खाहरु भन्थे, ‘आफ्ना कमी कमजोरीमा लाज मान्न सिक । सुसंस्कृत व्यक्तित्वको अभिलक्षण हो लाज । सभ्यता र सामाजिकताको अभिव्यक्ति हो लाज । लाज सकिनुमा कदाचित् मानवता पनि सकिन सक्छ ।’
हाम्रा मन्त्रीहरु जनतालाई नकार्न लाज मान्दैनन् । सांसदलाई हकार्न लाज मान्दैनन् । सांसदहरु हकारिन लाज मान्दैनन् । (भर्खरैैे सन्चार सम्बन्धित संसदीय समितिमा संचारमन्त्रीले समितिका अध्यक्षलगायत सांसदहरुलाई हकारेर आफ्नै कुरा ठड्याएको समाचार प्रकाशमा आएको पढियो ।) मानौं कसैसँग तिखा सिङ् छन् , ठड्याउने जखमले पुच्छर छ । सिँगौरी छ । डुक्रान छ । कसैसँग लुकामारी खेल्ने लुला सिङ् छन् । टाँगमुनि लुकाउने पुच्छर छ । आवाज छैन । मुलुकमा कथित ठुलाबडाबीच पनि यस्तो उपहास्य निर्लज्जताको स्थिति कसरी निर्मित हुन्छ ? के यो लोकतान्त्रिक निर्लज्जता हो ? कि यो गणतान्त्रिक निर्लज्जता हो ?! यो समाजवादोन्मुख निर्लज्जता पनि हो कि ?

एकजना पुराना व्यङ्ग्यकारले यस्तै यस्तै प्रसङ्गमा भनेका थिए, “लज्जामेकां परित्यज्य त्रैलोक्ये विजयी भव, अर्थात् तिमी निर्वस्त्र सर्वाङ्ग नग्न हुनुमा पनि लाज मान्न छोड, सर्वथा निर्लज्ज बन, यति भएपछि तिमी तीन त्रिलोकलाई नै जित्न सक्छौ ।” लाग्छ हाम्रा आदरणीय राजनेताहरु र माननीय प्रतिनिधिहरु तीन त्रिलोक जित्ने अभियानमा छन् । यसैमा निरन्तरका मतदाता र करदाता जनता हामी कृतकत्य छौँ ।

हाम्रा आदरणीय राजनेताहरु, सम्माननीय एवम् माननीय महामहिमहरु, विभिन्न तहका जनप्रतिनिधिहरु, ठुला ठुला अड्डाहरुका बडे बडे हाकिमहरु, र तिनका घनिष्ठ साथीसँगातीहरु सबै सबैको भाषिक कर्मशीलता र राजनीतिक एवम् विकासे कर्मकाण्डलाई विनम्रतापूर्वक नमन गर्दै हार्दिक बधाइका साथ हामी गरीव जनताका तर्फबाट तपाइँहरुको शान्त एवम् सम्भ्रान्त दशैँका लागि शुभकामना ! २०७५ को दशैँ तपाइँहरुका लागि सुखमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्