नेपाल यु १८ महिला च्याम्पियनसिपको फाइनलमा



नेपाल समाचारपत्र
काठमाडौं
नेपाली महिला फुटबल टोलीको उपाधि जित्ने लक्ष्यमा सँधै भारत नै तगारो बनेको हुन्छ। यसपटक भने कडा प्रतिद्वन्द्वी भारतलाई सेमिफाइनलमै पन्छायो नेपालले। भुटानमा जारी साफ यु १८ महिला फुटबल च्याम्पियनसिपमा नेपालले भारतलाई टाइब्रेकरमा ३–१ ले हराएको हो। यो जितसँगै नेपाल फाइनलमा पुगेको छ। निर्धारित र अतिरिक्त समयमा खेल १–१ बराबरीमा टुंगिएपछि टाइब्रेकरमा नतिजा निधो गरिएको हो।

शुक्रबार थिम्पुस्थित चांगलीमीथाङ रंगशालामा नेपालको रोमाञ्चक जितमा नेपाली गोलरक्षक अन्जना रानामगर नायिका बनिन्। उनले खेलअवधिभर भारतीय आक्रमण विफल तुल्याएकी थिइन्। उनले वान भर्सेस वानमा समेत नेपाललाई गोल बेहोर्नबाट बचाइन्। टाइब्रेकरमा अन्जनाले एक गोल गर्नुका साथै विपक्षीका दुई प्रहारलाई विफल तुल्याएकी थिइन्। त्यस्तै रेखा पौडेल र मनिषा राउतले पेनाल्टी किक गोल गरे भने पुजा रानाको प्रहार भने गोल हुन सकेन।

यसअघि उक्त सेमिफाइनल खेलमा नेपालले भारतविरुद्ध शुरूआती अग्रता लिएको थियो। रश्मी कुमारी घिसिङले १५औं मिनेटमा गोल गरेपछि नेपालले भारतलाई दवावमा राखेको थियो। प्रतियोगिताअन्तर्गत पाकिस्तानविरुद्ध ७ गोल गरेकी रेखा पौडेलको थ्रोइंगमा रश्मीले करिब ६ यार्डबाट गोल गरेकी हुन्। यो उनको प्रतियोगितामा व्यक्तिगत तेस्रो गोल थियो।दोस्रो हाफमा भने भारतले एक गोल फर्काएर खेल बराबरीमा ल्याएपछि नेपालले जित हात पार्न टाइब्रेकसम्म कुर्नुपरेको थियो। भारतका लागि बराबरी गोल जबामानी टुडुले ६२औं मिनेटमा गरेकी थिइन्।

नेपालले आइतबार हुने फाइनल खेलमा उपाधिका लागि बंगलादेशसँग खेल्नेछ। बंगलादशले हिजै भएको अर्को सेमिफाइनल खेलमा आयोजक भुटानलाई ४–० गोलअन्तरले हरायो। यसअघि नेपाल बंगलादेशसँग समूह चरणको खेलमा २–१ ले हारेको थियो।

प्रतिक्रिया दिनुहोस्