“सहकारीले वित्तीय स्थायित्व हल्लाउन सक्छ”



नेपाल समाचारपत्र
काठमाडौं
पाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सहकारीमा ठूलो रकम भएकाले जुनसुकै समयमा पनि वित्तीय क्षेत्रको स्थायित्व हल्लाउन सक्ने बताउनु भएको छ। ‘वित्तीय क्षेत्र स्थायित्व ः प्राथमिक राष्ट्रिय एजेण्डा’ विषयक कार्यक्रममा बोल्दै गभर्नर डा. नेपालले बचत तथा ऋण सहकारीहरू तथा गैरबैंकिङ वित्तीय संस्थामा नियमन अभावले वित्तीय क्षेत्रमा जोखिम रहेको भन्दै सहकारीका कारण जतिबेला पनि वित्तीय क्षेत्रमा संकट आउन सक्छ बताउनुभयो।

अर्थतन्त्रमा प्रवाहित रकमको १५ प्रतिशत रकम परिचालन गर्ने संस्था नियमन बाहिर रहेको भन्दै यसमा कुनै धक्का लागेमा सिंगो वित्तीय क्षेत्रलाई नै आघात पुर्याउने उहाँको भनाइ छ। ‘सहकारीमा पनि ठूलो रकम आवतजावत हुन्छ। पैसाको प्रवाहलाई पछ्याउन यिनीहरूलाई प्रभावकारी नियामकीय सीमाभित्र ल्याउनैपर्छ,’ गभर्नर नेपालले भन्नुभयो–‘ठूला कारोबार गर्ने सहकारीको राष्ट्र बैंकले तत्कालका लागि नियमन गरे पनि त्यो लामो समय सम्भव हुँदैन।’

डा. नेपालले पैसाको कारोबारलाई सधैं कडा नियमन आवश्यक रहेको उल्लेख गर्दै भन्नुभयो–‘वित्तीय संस्थाभन्दा बाहिर हुने पैसाको कारोबारमा कडाई गर्नुपर्छ, वित्तीय क्षेत्रको स्थायित्वका लागि दिगोपन र निरन्तरता आवश्यक छ।’ बैंकहरूको नियमन, वाणिज्य बैंकका ठूला शाखाको लेखापरीक्षण, घरायसी मूल्य सूचकांक तयार गर्ने योजना र २ लाख रुपियाँ बराबर निक्षेपको सुरक्षण हुँदै आएकोमा ३ लाख रुपियाँ पुर्याउने मौद्रिक नीतिको व्यवस्था वित्तीय क्षेत्र सशक्तिकरण र स्थायित्वका लागि नै ल्याइएको गभर्नरको भनाइ छ।

गभर्नर नेपालले वित्तीय स्थायित्वका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रको पुँजी वृद्धि गरेको बताउनुभयो। संकट आउन नदिन सहकारी क्षेत्रलाई मात्र हेरेर हुँदैन, हरेक वित्तीय क्षेत्रलाई हेर्नुपर्ने गभर्नरको भनाइ छ। बीमा क्षेत्रको पनि नियमन गर्नुपर्नेमा गभर्नरले जोड दिनुभयो।

कार्यक्रममा पूर्वमुख्य सचिव डा. विमल कोइरालाले वित्तीय क्षेत्रका निकायको सुपरीवेक्षकीय क्षमता बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले गैरबैंकिङ कारोबार गर्ने सहकारी संस्था अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेकाले उनीहरूको नियमन आवश्यक रहेको धारणा राख्नुभयो।

प्रतिक्रिया दिनुहोस्