‘मेरो घाम’भित्र उज्यालोको खोजी




ज्ञानू अधिकारी
सूर्यप्रसाद लाकोजू समकालीन नेपाली साहित्यका क्रियाशील साहित्यकार हुन्। छोटो समयमै साहित्यिक क्षेत्रमा पृथक पहिचान बनाएका लाकोजूको अठारौं कृतिको रूपमा मेरो घाम शीर्षकको कवितासङ्ग्रह प्रकाशित भएको छ। यस सङ्ग्रहमा ५३ वटा फुटकर कविता समावेश छन्। विभिन्न भावभूमिमा लेखिएका यी कवितामा कविहृदयको मर्मस्पर्शी आवाज कलात्मकरूपमा अभिव्यक्त भएका छन्। कविले अनुभूत गरेका अनुभूति र भोगाइहरूको अभिव्यक्ति सबैभन्दा प्रबलरूपमा आएका छन् भने बा–आमाप्रतिको श्रद्धाभाव, देश र माटोप्रतिको प्रेम, स्थानीय सांस्कृतिक सम्पदाप्रतिको चिन्ता अनि चासोका साथै देशको समसामयिक घटना–सन्दर्भ पनि कवितामा व्यक्त भएका छन्।

यसमा घाम अर्थात् सूर्यको विम्ब धेरै ठाउँमा आएको देखिन्छ। यहाँ कविले घामलाई चेतना, उज्यालो र क्रान्तिको प्रतिकका रूपमा प्रयोग गरेका छन्। कविले घामलाई शान्ति र समृद्धिको प्रतीकका रूपमा पनि प्रयोग गरेको देखिन्छ। देशमा घामरूपी समृद्धिको उदय भएपछि सारा गरिबी, शोषणजस्ता अन्धकार भागेर जाने भाव यस सङ्ग्रहका कवितामा पाइन्छ।

यसमा पाइने अर्को महत्वपूर्ण पक्ष आफ्ना अग्रज, अभिभावकहरूप्रति आदर र श्रद्धाभावको अभिव्यक्ति हो। आमा शीर्षकको कविताबाट प्रारम्भ भएर मेरा बा शीर्षकको कवितामा टुङ्गिएको यस सङ्ग्रहमा धेरै ठाउँमा आमा–बालाई सम्बोधन गरी लेखिएका कविता पढ्न पाइन्छ। आमाप्रतिको असीम श्रद्धा र प्रेमलाई अनेक विम्ब र प्रतीकका माध्यमबाट प्रकट गरिएका छन्। बाको विशालता र उदारतालाई सम्बोधन गर्दै कविले ‘कठोर देखिने तिम्रो अनुहारभित्र मैले मायाको विशाल आकाश देखेको छु’ भन्ने अभिव्यक्ति प्रकट गरेका छन्।

देशको समसामयिक सन्दर्भहरूलाई पनि अन्तर्वस्तु बनएको यस सङ्ग्रहका केही कवितामा भूकम्प र नाकाबन्दीको प्रभाव र यसले नेपाली जनतालाई पुर्याएको असरलाई समेत देखाइएको छ। यो पनि त लडाइँ हो शीर्षकको कवितामा भूकम्पलाई पृथ्वीको रौद्ररूप मान्दै यसले ल्याएको मानसिक सन्त्रास र पुर्याएको सांस्कृतिक सम्पदाको विनाशप्रति चिन्ता व्यक्त गर्नुका साथै सारा नेपालीले पुनर्निमाणको युद्ध लडेर जित्नुपर्ने भाव व्यक्त गरिएको छ। यसै गरी मेरो धरहरा, त्यो क्षण शीर्षकको कवितामा पनि भुइँचालो जाँदा र त्यसपछिको क्षणको अनुभूति तथा भोगाइलाई मार्मिक रूपमा अभिव्यक्त गर्दै धरहराप्रति संवेदनात्मक भाव र यसको अनुपस्थितिले ल्याएको रिक्तता अनि खिन्नतालाई व्यक्त गरिएको छ।

देशप्रेम र माटोप्रम कवि लाकोजूको कवितामा पाइने अर्को विशेषता हो। केही कवितामा कविले आफ्नो दायित्वबोधसहित देशलाई प्रेम गरेका छन्। मेरो देश शीर्षकको कवितामा देशप्रेमले निथ्रुक्क भिजेको एउटा अनुभूतिको झोक्कालाई निकै कलात्मकरूपमा प्रस्तुत गरिएको छ भने मेरो माटो शीर्षकको कवितामा माटोलाई गर्व, श्रद्धा र भगवान्का रूपमा प्रस्तुत गर्दै माटो नै सर्वप्रिय प्राप्ति भएको भाव व्यक्त गरिएको छ।

प्रस्तुत सङ्ग्रहमा चार दर्जन कवितामध्ये केही कवितामा व्यङ्ग्यात्मक चेतनाको सफल प्रस्तुति पाइन्छ। खासगरी राजनीतिक नेता र कार्यकर्ताहरूको प्रवृत्तिलाई अन्तर्वस्तु बनाई लेखिएको कवितामा व्यङ्ग्यात्मक भाव अभिव्यक्त भएको छ। मेरो हजुर शीर्षकको कविता व्यङ्ग्यचेतले भरिएको प्रभावकारी कविता हो। यसमा नेताको अन्धभक्त र अन्धसमर्थकको विवेकशून्य क्रियाकलापको चित्रण गर्दै तीमाथि व्यङ्ग्य गरिएको छ। असुरक्षित घाम, बस्नुपर्छ मिलेर, पदको मान्छे जस्ता कवितामा राजनीतिका नाममा जनतालाई झुक्याउन, लेट्ने र स्वार्थलिप्सामा नै लीन हुने नेताहरूको क्रियाकलापमाथि असन्तुष्टि प्रकट गरिएको छ। जातीय विभेद, कागजमा मात्र सीमित भएका सिद्धान्तहरू, शहीदको सपनामाथि गरिएको व्यापारजस्ता विषय उठान गरी हरेक सचेत नेपालीलाई वर्तमानको वास्तविकताले पोलेको यथार्थतालाई कविले कविताका माध्यमबाट व्यक्त गरेका छन्।

समग्रमा प्रस्तुत सङ्ग्रहमा समेटिएका कविताले पछिल्लो समयको नेपाल र नेपालीको वास्तविकतालाई विम्बात्मक रूपमा प्रस्तुत गरेको छ। देशको राजनीति, सामाजिक, सांस्कृतिक पक्षका साथै मानवीय संवेदनाका विविध पक्षहरूलाई पनि विषयवस्तु बनाएर प्रस्तुत गरिएको छ। जीवनवादी र आशावादी जीवनदृष्टि, अग्रजप्रतिको श्रद्धाभाव, देशप्रेम, विसङ्गतिप्रति असन्तुष्टि, राजनीतिमाथि व्यङ्ग्य, सांस्कृतिक र स्थानीय सम्पदाप्रतिको चिन्ता, आत्मिक प्रेमको अभिव्यक्ति, प्रकृति चित्रण आदि यस सङ्ग्रहका कवितामा पाइने मुख्य विशेषता हुन्। यस कृतिका कवितामा मानवीय संवेदनाको पोखरी छ र पाठक यसमा धित मर्ने गरी डुबुल्की मार्न सक्छन्। पवित्रता, स्वच्छता र समृद्धिको कामना गरी लेखिएका प्रस्तुत सङ्ग्रहका कविताले कवि लाकोजूको कवि–व्यक्तित्वलाई अझ बढी उचाइमा पुर्याएको छ।

प्रतिक्रिया दिनुहोस्