कुपात्रहरूका रूप



मोहन दुवाल
पात्र नं. १ ः
कृष्णकुमार आफू केही गर्दैन तर गर्नेहरूको खोइरो खन्न सधैँ मन पराइरहन्छ। घर हेर्न फुर्सद बनाउन गाह्रो कृष्णकुमारलाई समाज हेर्न कहाँ समय पाउनु ? स्वास्नीको अप्ठ्यारो मुख हेर्दै घरको शासन गर्नुपर्ने उसलाई छोरा–छोरीहरूमा पनि समानता बाँड्न निकै मुस्किल परिरहेको सन्दर्भ ऊ टोल–छिमेकीहरूलाई सुनाउने गर्छ। तर पनि ऊ कसैको पर्वाह नगरी आफ्नै घमण्डमा बाँच्न खोज्छ। मैले गरेँ, धेरै गरेँ परिवारका लागि भन्दै आफ्नो बर्कत देखाउन रुचाउने कृष्णकुमारलाई छोराछोरी, बुहारी सबैले हेप्न थालेपछि मनमा धिक्कार बोध महसुस भए पनि बाहिरफेर आफूलाई देखाउन हाँसेर बाँच्न खोज्छ।

आज कृष्णकुमार आफूलाई सम्झेर आफूलाई आफूभित्र खोजिरहेछ– ‘म कता खोज्न जाऊँ। मैले परिवारजनका लागि जीवन दिएँ। तर उनीहरू मलाई सस्तो सम्झेर अनर्थ सम्झिरहेछन्। कस्तो विडम्वना ⁄ म सिर्फ व्यक्तिवादी भएको कारणले आज मलाई सामाजिक मान्यताले पनि गिज्याइरहेछ। धिक्कार छ मेरो बाँच्नुको अर्थ ! मैले मेरो अर्थ बुझ्न सकिनँ। म मान्छे भएर पनि बेअर्थको मान्छे बाँचिरहेछु।’

कृष्णकुमार आज सन्दर्भमा सोचिरहेछ– ‘सामाजिक मान्यतामा बाँच्न नसक्नेहरू मजस्तै बेतुकले बेअर्थ बोकेर बाँचिरहनुपर्छ।’ आज कृष्णकुमार आफू मान्छे भएर पनि मान्छे हुन नसक्नुका कारणहरू सोधिरहेछ आफैंसँग।
पात्र नं. २ ः

रामकुमार स्वार्थमा आफूलाई घुलमिल गर्न सक्षम मान्छे। शक्तिको पूजारी ऊ, जोसँग शक्ति छ ऊसँग भक्ति गर्न सिपालु व्यक्ति। मौसमअनुसार आफूलाई बदल्न सिपालु र मान्छेअनुसारको व्यवहार गर्न दक्ष र सिपालु छ ऊ। ‘हो, हजुर, हजुरको के वर्णन गर्ने खोई ? शब्द नै छैन हजुर ! तपाईंको प्रशंसा गाउन।’ शक्तिशालीहरूको यस्तै खालले बयान गर्न धूर्त ऊ मान्छेअनुसार हात मोल्न सिपालु छ। सधैँ यस्तै व्यवहार गर्दै रम्न सिपालु ऊ एकदिन एकजना मान्छेलाई यस्तै खालको चाटुकारिताले भरिपूर्ण आफ्ना लवजहरू सुनाउँदै गर्दा उसको चाप्लुसी देखेर छक्क पर्दै त्यो मान्छेले भनेछ– ‘के तपाईंले मप्रति देखाउनुभएको सदासयता साँच्चीकै तपाईंको अपनत्वको अभिव्यक्ति हो ? मैले त तपाईंको भावना र बचनमा शुद्धता देखिनँ।’

रामकुमार चाप्लुसी दल्दै भन्छ– ‘होइन हजुर तपाईंको म कसरी वर्णन गरुँ ? तपाईंजस्ता मान्छेहरू पाउन गाह्रो मात्र होइन, मलाई लाग्छ– तपाईंजस्तो मान्छेहरू छँदै छैनन्।’

चाप्लुसीको हद नाघेको कुरा सुनेपछि त्यो मान्छेले बम्किँदै भनेछ– ‘छोड्नुस् तपाईंका यी फोस्रा कुराहरू। तपाईं त असल र खराब दुवैलाई हिजोजस्तै आज पनि सबैलाई सुन्दर भनिरहनुहुन्छ। के तपाईंको अर्थ छ र ?’ रामकुमार मुख छोपेर त्यस मान्छेको कुरामा प्रतिवाद गर्दै भन्छ– ‘हो, म असल र खराब दुवैलाई पो समान देखिरहेछु।’
पात्र नं. ३ ः
‘म राम्रो छु। म सुन्दर छु। मैले धेरै राम्रो गरेँ। मैले सुन्दर कार्यहरू गरेँ।’ यस्तै भावनाहरू अरूलाई बताउँदै मोहनकुमारले भनिरहँदा उसको कुरा सुनेर हरिभक्त मज्जाले हाँस्यो। हरिभक्त हाँसेको हेरेर मोहनकुमार जङ्ग चलाउँदै भन्छ– ‘हाँस्नुको पनि अर्थ हुन्छ ? तिमी किन बेअर्थले हाँसेको ? हाँस्नुको मज्जा के हो ? तिमीले हाँसेर आफूलाई के देखाउन खोजेको ?’

हरिभक्त पुनः हाँसेर आफ्नो हँसाइको अर्थ यसरी बताउने गर्छ– ‘म तिमीजस्ताहरू देखेर हाँसिरहेछु। म बेअर्थमा होइन, बेअर्थमा बाँच्न रुचाउने मान्छेहरू हेरेर पो हाँसिरहेछु।’ उसको कुरा सुनेर मोहनकुमार भनिरहेछ– ‘हाँस्नुको मज्जा नै अर्को, जो हाँस्छन् ऊ बाँच्छन्।’

पात्र नं. ४ ः

आफ्नै मात्र प्रशंसा रुचाउने र अर्काको प्रगतिमा डाह गर्ने कृष्णबहादुर सधैँ अरूलाई भन्ने गर्छ–‘मलाई के दुःख ! सबैथोक पुग्दो छ। ठूला–ठूला घरहरू, खेत–खलियानलगायत थुप्रै नोकरचाकर पालेको छु। मलाई यस ठाउँमा कसले सक्नु ?’ उसका कुरा सुन्दासुन्दै टोल–छिमेकीहरू सबै हैरान छन्। मुख बाइहाल्नासाथ आफ्नै प्रशंसामा कुरा फुकाउने उसको स्वभावलाई एकदिन टोलकै एकज चेतनशील युवाले उसलाई हाँक दिँदै भन्यो– ‘तपाईंसँग भएर के गर्नु ? समाजलाई तपाईंले के योगदान गर्नुभएको छ ? तपाईं समाजका लागि अर्थहीन मान्छे हुनुहुन्छ। तपाईं बाँचेको के सार्थक छ र ?’

कृष्णबहादुरलाई बसी खप्नुभएन अनि ऊ पनि बम्कियो– ‘मलाई समाज बुझाउनुपर्दैन। तिमीजस्ता परिवार बनाउन नसक्नेहरू त समाजको कुरा गर्छन्। समाज राम्रो भएर के गर्नु ? आफू राम्रो हुन नसक्नेहरू समाज राम्रो बनाउन खोज्छन्। बडो आदेश दिने मलाई ?’

‘हो, तपाईं बाँच्नुहोस्, कुकुर–बिरालाजस्तै आफैंमात्र खाएर बाँच्नुहोस्। मान्छेको अर्थ थाहा नपाउनेहरू तपाईंजस्तै त बाँच्छन्।’ कृष्णबहादुर झसङ्ग हुँदै के कुरा गरेको यसले ?’ भनी मनमा कुरा खेलाउँदै त्यस युवातिर ट्वाल्ल परेर हेर्छ।

पात्र नं. ५ ः

चन्द्रताराको फूर्ति सहिनसक्नु भएको छ। जहाँ गए पनि ऊ लोग्नेको बखान गर्छे। चन्द्रताराको श्रीमान् जगतप्रसाद साहित्य क्षेत्रमा लागेको धेरै भएको छैन। फाट्टफुट्ट पत्रपत्रिकामा लेख–रचना प्रकाशित हुँदा श्रीमान्ले सुनाइदिने लेखहरू सुनेर चन्द्रतारा दङ्ग पर्छे। श्रीमान्को नाम कसै–कसैले उच्चारण गरिदिँदा ऊ मख्ख पर्छे। धन्य सम्झिन्छे ऊ आफ्ना श्रीमान्को नाम चम्किएको सुनेर। जहाँ–जहाँ ऊ जान्छे, श्रीमान्को वकालत गर्दै पुरस्कृत हुुनुपर्ने धारणा राख्छे। एकदिन एकजना ख्यातिप्राप्त लेखकका अगाडि चन्द्रताराले आफ्ना श्रीमान्को गुणगान गर्दै सम्मानित गर्नुपर्ने धारणा राखेपछि ती लेखक दङ्ग पर्दै भन्छन्– ‘लेख्दै जानुपर्छ, प्रवाहित हुँदै गएपछि आफूले माग्नु नै पर्दैन, पुरस्कार, सम्मान, अभिनन्दन त घरमा नै पुर्याइदिन्छन्।’

यस खालको कुरा सुनेपछि दिक्क भएर चन्द्रताराले एकदिन श्रीमान्लाई आफ्नो कुरा सुनाउँछे– ‘भो पर्दैन लेख्न। त्यतिको लेखिसकेपछि पनि केही पाइँदैन भने किन लेख्ने ? बरु अरू काम खुरुखुरु गर, पैसा त कमाइन्छ।’ श्रीमतीको कुरा सुनिसकेपछि जगतप्रसाद माया लाग्दो गरी आफ्नो कलम, कपी र पुस्तकहरू पुलुक्क हेर्दै भन्छन्– ‘पुरस्कार, सम्मानका लागि लेख्ने होइन नि लेख–रचनाहरू। आफ्नो अनुभूति पो पोख्ने हो।’ चन्द्रतारा लोग्नेतर्फ ठूला–ठूला आँखा तरी बम्किँदै बोल्छे– ‘कस्तो वाहियात काममा हात हालेछौ तिमीले ⁄ यस्तो थाहा पाएको भए म विवाह नै गर्दैनथें।’

पात्र नं. ६
लोभी मान्छेको मन र आँखा लोभले ग्रस्त देखिँदो रहेछ। अन्तिम श्वास गन्दै गरेका हेराकाजी आज पनि आफ्नो सेफको साँचो खेलाउँदै छन्। घरी सास फेर्दै, घरी तकियामुन्तिरको साँचो छुँदै बाँच्न संघर्षरत हेराकाजी आज किन–किन फेरिएको जस्तो देखिन्छन्। निभ्न्न लागेको बत्तीझैँ धपक्क बल्न खोजेको हो कि क्या हो ? बुझ्न नै गाह्रो भयो आज हेराकाजीको रूपरङ्ग!

सुतिरहेको बिछ्यौनाबाट जुरुक्क उठ्दै आज हेराकाजी छोरानातिहरूलाई आफ्नो लोभको पर्दाफास गर्दै भन्छन्– ‘मैले लोभ कति गर्ने ? लोभले गर्दा इच्छाइएको खानेकुरासमेत खाइनँ। मलाई मासु खाने कस्तो रहर ⁄ मलाई घिउभात खाने कस्तो सोख ⁄ तर लोभले गर्दा मैले खान पाइनँ। म आज मासुभात, घिउभात अवश्य खान्छु–खान्छु, ल मलाई कसले छेक्छ ?’

घिउभात, मासुभात खाने उनको रहरलाई परिवारजनले पूर्ति गरिदिए। उनले मनग्य खाए। एकैछिन्मा लोभी हेराकाजीका आँखाहरू टिल्पिलाएजस्तो, शरीर सबै शिथिल हुँदै ढलपल–ढलपल हुँदै गरेजस्तो भयो। अन्तिममा अप्ठ्यारो ढङ्गले श्वास छोड्दै हेराकाजी रुन्चे स्वरमा भन्छन्– ‘हरे शिव ! मैले केही गर्न सकिनँ, अब ढल्नुबाहेक उपाय नै के रह्यो र ?’ एकैछिन्मा वातावरण सुनसान हुन्छ, हेर्दाहेर्र्दै हेराकाजी आफ्नो लोभसँगसँगै ढल्छन्।

प्रतिक्रिया दिनुहोस्