पप्पु कन्स्ट्रक्सनका बाबुछोरासहित १२ विरुद्ध मुद्दा



नेपाल समाचारपत्र
काठमाडौं
पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियारसहित १२ जनाविरुद्ध भ्रष्टाचारविरुद्धको मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा भ्रष्टाचारविरुद्धको मुद्दा दर्ता गरेको हो। बर्दियाका गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई पुल पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको थियो।

ती पुल गुणस्तरहीन भएकाले उद्घाटन नहुँदै भत्किएपछि परेको उजुरीमाथि अनुसन्धान हुँदा भ्रष्टाचार भएको पाइएकाले भ्रष्टाचारविरुद्धको मुद्दा दर्ता गरेको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले बताउनुभयो।

रौनियार संघीय समाजवादी फोरमका प्रतिनिधिसभाका लागि पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसदसमेत हुन्। मुद्दा दर्ता भएसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको छ। आयोगबाट अनुसन्धान हुँदा पुल निर्माणका लागि २०६८ असार २२ गते डिभिजन सडक कार्यालय नेपालगन्ज र पप्पु कन्स्ट्रक्सन, पोखरियाबीच सम्झौता भएको थियो। सम्झौतापछि बबई पुल निर्माणको प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्म निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीबाट लापारबाही भएको आयोगको दाबी छ।

यसरी भएको त्रुटिपूर्ण कार्यलाई स्वीकार गरी गुपचुपरूपमा काम गरेको, फिल्डको नाँपजाँच हचुवाको भरमा गरेको आरोपपत्रमा उल्लेख छ। आयोगले रौनियारविरुद्ध १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपियाँ र उनका छोरा तथा पप्पु कन्स्ट्रक्सनको हालका अध्यक्ष सुमितविरुद्ध १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपियाँ बिगो दाबी गरिएको छ।

त्यस्तै आयोगले डिभिजन सडक कार्यालय नेपालगन्जका तत्कालीन डिभिजन प्रमुख भानु जोशी, मनोज श्रेष्ठ र राजेशकुमार तथा एभरेस्ट इन्जिनियरिङ कन्सल्ट्यान्टका प्रोपाइटर कृष्णदेव यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गर्दै बिगो माग गरेको छ।
तत्कालीन डिभिजन प्रमुख जोशीसँग १ करोड ९७ लाख १३ हजार ४ सय ३७, श्रेष्ठसँग ९ करोड २४ लाख २४ हजार ९९, यादवसँग ३ करोड १४ लाख १८ हजार ९ सय ७ र एभरेस्ट इन्जिनियरिङ कन्सल्ट्यान्टका प्रोपाइटर यादवसँग १ लाख ४१ हजार २ सय ५० रुपियाँ बिगो माग गरिएको छ।

अख्तियारले निमित्त डिभिजन प्रमुख नवराज केसी, इन्जिनियर प्रेमप्रसाद चुवाईं, हरिबहादुर खड्का, दीपेन्द्रबहादुर विष्ट, सब इन्जिनियर कार्मातेन्जिङ तामाङ र गोविन्द गैरेविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। केसीसँग ६ करोड, ९२ लाख ४६ हजार ९ सय २१, चुवाईसँग ३ करोड १९ लाख ३८ हजार ५ सय ७९, खड्कासँग ७ करोड, ५४ लाख ४८ हजार ६१, विष्टसँग १ करोड ६१ लाख ८३ हजार ४ सय ४५ रुपियाँ बिगो दाबी गरिएको छ।

त्यस्तै सबइन्जिनियर तामाङसँग १५ करोड ८ लाख ८४ हजार ७ सय १३ र गैरेसँग १ करोड ९५ लाख ८८ हजार ४ सय ३७ रुपियाँ बिगो माग गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्