सम्बन्ध बिच्छेद माग्नेमा महिला भन्दा पुरुष बढी



नेपाल समाचारपत्र, गुल्मी ।

गुल्मीमा महिलाहरु भन्दा पुरुषले सम्बन्ध बिच्छेदका मुद्धा दर्ता गरेका छन् । नयाँ मुलुकि संहिता लागु भएदेखि महिलाहरु भन्दा पुरुषले श्रीमतीबाट सम्बन्ध बिच्छेद गर्न भन्दै अदलतमा मुद्धा दर्ता गराएका छन् ।

भदौ १ गतेबाट झण्डै २ महिनामा महिला भन्दा पुरुषले सम्बन्ध बिच्छेदका मुद्धा दायर गरेका छन् । महिला भन्दा ३ जना बढि पुरुषले सम्बन्ध बिच्छेदका लागि जिल्ला अदालत गुल्मीमा मुद्धा दर्ता गराएका छन् ।

नयाँ मुलुकी संहिता लागू भएको झण्डै २ महिना बित्ने लाग्दा ३९ वटा समब्न्ध बिच्छेदका मुद्धा दर्ता भएको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले बताए । मुदाहरु मध्ये २१ वटा पुरुष र १८ वटा महिलाले सम्बन्ध बिच्छेदका लागि मुद्धा दर्ता गराएको श्रेस्तेदार बस्यालको भनाई छ ।

जिल्ला अदालत गुल्मीमा आएका सम्बन्ध बिच्छेदका मुद्धाहरुमा महिलाहरुले खान लगाउन नदिएको, गाली ग्लौज गर्ने र कुटपीट गरेको, पारिवारीक संरक्षण नभएको लगायतका छन् । पुरुषले पनि श्रीमतीले घर व्यवहार चलाउन नसकेको, पैसा हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध राखेको र आफुलाई अनावश्यक मानसिक तनाव दिएको लगायतका कारण देखाउँदै सम्बन्ध बिच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएको श्रेस्तेदार बस्यालले बताए ।

अहिलेसम्म सम्बन्ध बिच्छेदका लागि महिला सोझै अदालत जान सक्ने व्यवस्था भए पनि पुरुष भने अदालत गएर मुद्दा दर्ता गर्ने कानूनी व्यवस्था थिएन । १ भदौबाट लागू भएको नयाँ मुलुकी संहिताले सम्बन्ध बिच्छेदका लागि पुरुषलाई पनि सोझै अदालत जाने बाटो खुल्ला गरेको श्रेस्तेदार बस्यालले बताए ।

जिल्ला अदालत गुल्मीले पछिल्लो ३ महिनामा लक्ष्य भन्दा वढि मुद्धाहरु फछ्यौट गरेको छ । पछिल्लो ३ मिहनामा ९६ वटा मुद्धाहरु जिल्ला अदालतमा आएको श्रेस्तेदार बस्यालले बताए । दर्ता भएका मुद्धाहरु मध्ये जिल्ला अलातल गुल्मीले साउनमा १० वटा मुद्धा फछ्यौट गर्ने उदेश्य राखेपनि २१ वटा मुद्धा फछ्यौट गरेको जनाएको छ ।

भदौमा २३ वटा मुद्धा फछ्यौट गर्ने उदेश्य राखेपनि २७ वटा मुद्धा फछ्यौट भएका छन् । असोज महिना बित्नै लाग्दा १७ वटा मुद्धा फछ्यौट गर्ने उदेश्य राखेपनि २१ वटा मुद्धा फछ्यौट भइसकेका छन् । कुल दर्ता भएका मुदाहरु मध्ये ६९ वटा मुद्धा फछ्यौट भइसकेको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार बस्यालले बताए । दर्ता हुन आएका मुदाहरुमा सम्बन्ध बिच्छेद,अंशवण्डा,लेनदेन, जवरजस्ती करणी, मानचामल, जालसाज, लगायतका प्रकृतिका रहेका छन् ।

गत बर्ष १ सय ४७ सम्बन्ध बिच्छेद

गत आर्थिक बर्ष ०७४÷०७५ मा १ सय ४७ वटा सम्बन्ध बिच्छेदका मुद्धा जिल्ला अदालत गुल्मीमा दर्ता भएका थिए । जसमा एक सय २८ मुद्धा फर्छयौट भएका छन् । जस मध्ये १९ जना मुद्धा प्रक्रियामै रहेको जिल्ला अदालत गुल्मीले जनाएको छ ।

गत आर्थिक बर्ष ०७४÷०७५ मा जवरजस्ती करणीका १७ मुद्धा दर्ता भएका थिए छन् । जसमा एउटा हाडनाता करणी समेत रहेको थियो । १७ मुद्धामा नौ वटा फर्छयौट भएको जिल्ला अदालतका सुचना अधिकारी समेत रहेका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले बताए । ८ वटा मुद्धा प्रक्रियामा रहेको अदालतले जनाएको छ ।

अंश सम्बन्धि ५१, नाता कायमका १६, बहुबिबाहका नौ बालबिबाह दुई र मानाचामलका ३५ मुद्धा दर्ता भएका थिए । त्यस्तै सामाजिक अपराधका ५०, जालसाजीका १४, ज्यान मुद्धा ११, गाली बेइज्जतीका १३ र चोरीका चार मुद्धा दर्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्