खोलामा रोकिएको गाडीमै बच्चा जन्मियो ः सरिता गिरी



कहिलेकाहीं यात्रामा सोच्दै नसोचेको हुँदो रहेछ। कुरा हो खोटाङ यात्राको। हामी सुटिङ सकेर काठमाडांै फर्कंदै थियौं। जीवन बराल, कुसुम अनि हाम्रो चाइल्ड आर्टिस्ट कसिप, अरू २ जना साना बहिनी र अरू सबै पुरुष थिए।

एक त हायसको ड्राइभर दाइले गाडी ढिलो लिएर आउनुभयो। हायसलाई संगीतको रफ्तारमा दौडाए, संगीतले गर्दा अलि रिस कम भयो। लगभग डेढ घन्टापछि हायस एक्कासी रोकियो। ड्राइभर दाइले भन्नु भो– ‘एउटा बिमारीलाई काठमान्डु लानुपर्ने भो। हजुरहरू १० मिनेट कुर्नुपर्ने भो, इमर्जेन्सी छ।’ हामीलाई त्यहीं उतारी दाइ बिमारी लिन जानु भो। १ घन्टा बितिसक्दा पनि गाडीको अत्तोपत्तो थिएन। उहाँ त खोटाङ हस्पिटल पुग्नुभएछ। गाउँलेको कुरा बुझ्दा थाहा भो कि तिनी साधारण बिमारी थिइनन्। खोटाङको हस्पिटलले ५ दिनपछि डेलिभरी हुने डेट दिइएकी १ महिलालाई हामीबाट सम्भव छैन भनेको रहेछ। हामी चढेको अन्तिम गाडी थियो। त्यसैले हामी हतारिएका थियौं।

गाडी डेढ घन्टापछि आयो बिमारी बोकेर। हामी सबै स्तब्घ भयौं। लगभग त्यो गाडीमा ड्राइभर दाइको आफन्तीहरू नै थिए। कोही बोलेनन् र बोल्ने कुरा पनि भएन। एक त बिमारी नर्मल थिएन। ५ दिनपछि उनको डेलिभरी डेट थियो, मलाई एकदमै डर लाग्यो बाटोमा केही भै हाल्यो भने के हुन्छ भनेर। म, जीवन र कुसुम रिसाउन थाल्यौं। यस्तो अवस्थाको बिमारी यत्रो लामो कच्ची बाटोको यात्रा कसरी गर्न सकिन्छ? उनको बूढाले भने– ‘म छु चिन्ता नलिनु।’ जीवनले केही नबोली ड्राइभर दाइलाई भनिदिए– ‘अरू कुरा केही थाहा छैन हामीलाई राति घर–घरमा पु¥याइदिनुपर्छ बस्।’

गाडीभित्र कोही बोलिरहेका थिएनन्। सबैको ध्यान ती महिलामाथि थियो। म र कुसुम छिन–छिनमा मुखामुख गर्दै थियौं। जति–जति गाडि अगाडि बढ्यो, उति ती महिलालाई व्यथाले च्याप्दै थियो। लगभग ४ घन्टाको यात्रा पूरा गरेपछि उनलाई झन् गाह्रो भयो। हामीले गाडी रोक्यौं। उनलाई ट्वाइलेट लगेर प्याड लगाइ दियौं। उनको रगतले पूरै लुगा भिजिसकेको थियो। कुसुम र मलाई टेन्सन भयो। कुसुमले भनिन्– ‘दिदी उनको त पेट झरेर तल आइसक्यो बच्चा त बाटैमा हुन्छ कि के हो?’ म झन् आत्तिन थालें, उनको बूढालाई भनें– ‘ऊसँग बोलिरहनु, हात मालिस गरिदिनु।’ विचरा माया पनि लाग्यो, एउटी नारीले के–कति सहने? अनि विस्तारै हामीले उनलाई काखमा सुतायौं। म धेरै बेरदेखि डा. अरूणा कार्की अन्टीलाई फोन ट्राई गर्दै थिएँ यस्तो अवस्था के–के गर्न सकिन्छ भनेर। अन्टीको फोन नउठेपछि आकांक्षालाई गर्न थाले। उसको पनि रेस्पोन्स आएन।

आधा घन्टापछि आकांक्षाले म्यासेज पठाइन्– ‘म क्लासमा छु कल यु लेटर।’ खोटाङ जिल्ला कटेर हामी ओखलढुंगा आइपुग्यौं। सल्लाहबमोजिम बिरामीलाई तातो सुप खुवाउन घुर्मीमा गाडी रोक्न लगायौं। १५ मिनेटपछि विस्तारै गाडी अगाडी बढ्यो। गाडी अगाडि बढेको मात्रै के थियो, ट्याम्के खोलाको मुखैमा पुगेपछि ‘मेरो बच्चा जन्मियो गाडी रोक्नुस् भनिन् उनले। गाडी आधि खोला र आधि खेतको डिलमा थियो। सबैको होस् उड्यो। के गर्ने कसैलाई थाहा थिएन। म गाडीको ढोका खोलेर उनी बसेको साइडमा गएँ। उनले लगाएको ट्राउजर खोलेको के थिएँ बच्चाको आधा टाउको बाहिर आइसकेछ। मेरो दिमाग शून्य भयो, त्यत्रो आँट काहाँबाट आयो कुन्नि खल्तीबाट मोबाइल झिकें र डा. अरुणा अन्टीलाई फोन गरें। अन्टीले दुई रिङमै फोन उठाउनुभयो।

थ्याक्स गड, त्यहाँ भएको सबै घटना सुनाएँ। बच्चालाई पहिला कपडाले न्यानो पार भन्नुभयो। एउटा कानमा फोन र हातमा बच्चा, जीवनले सबैलाई मोबाइलको टर्च बाल्न लगाए, गाडीको सिटमा आमा र पछाडिबाट कुसुमले आमालाई सपोर्ट गरिन्। मेरो नजर बच्चामा गयो ‘लु बधाई छ’ तपार्इंको छोरा भएछ। आमा पनि दंग परिन् र उनका बूढाचाँहि रुँदै आमालाई फोनमा भन्दै थिए– ‘आमा बच्चा त खोलामा पो जन्मियो त।’

अरूणा अन्टीले भनेबमोजिम गर्दै गएँ। नाल काट्ने र साल निकाल्ने काम सजिलै भो। हामीले एम्बुलेन्स बोलाएर आमा र छोरालाई सकुशल पठायौं। जाने बेलामा छोरोको बुबाले रुँदै आभार व्यक्त गरे– ‘हजुरहरू हाम्रो लागि देउतै हुनुभयो। उनीहरूलाई पठाएपछि ड्राइभर दाइ खोलामा गाडी धुन थाले। मचाहिँ लुगामा लागेको रगत धुन थालें। त्यही बेला म्यासेज आयो अन्टीको, ‘कंग्रयाचुलेसन्स्, वेल डन।’ अनि आकांक्षाको फोन आयो र सबै कुरा बेली विस्तार लगाइयो खोलाको किनारमा बसेर। अनि हाम्रो गाडी फेरि आफ्नो बाटो लाग्यो।

प्रतिक्रिया दिनुहोस्