तारा र सन्देश स्ट्रङ्गेष्ट खेलाडी



काठमाडौं, (नेस)
नेपाल प्रहरी क्लबकी तारादेवी पुन र सन्देश गुरुंग दोश्रो नेपाल स्ट्रङ्गेष्ट २०१८ भारोत्तोलन प्रतियोगितामा स्ट्रङ्गेष्ट खेलाडी घोषित भएका छन् ।
ताराले ७५ केजी तौल माथीको प्रतिस्पर्धामा १ सय ६६ केजी भार बहन गरेकी थिईन् ।

उनी अघिल्लो संस्करणमा पनि उक्त उपाधीबाट सम्मानित भएकी थिईन् । यस्तै सन्देशले १ सय ५ केजी तौलमा २ सय ५८ केजी भार बहन गरेका थिए । दुबै खेलाडीले समान नगद ११ हजार रुपियाँ प्राप्त गरे ।

पुरुष सिनियरतर्फ नेपाली सेनाका कमल बहादुर अधिकारी र जुनियरतर्फ बाँकेका प्रकाश के.सी. उत्कृष्ट भारोत्तोलक घोषित भए । महिला तर्फ सिनियरमा प्रहरीकी देवीकुमारी चौधरी र जुनियरतर्फ बाँकेकी संजु चौधरी उत्कृष्ट बनेका थिए ।

काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको जुनियर तर्फ पुरुषमा एपिएफका लालबाबु पासवान र महिलामा डिभाईन फिटनेशकी पल्लवी चौधरी उदियमान खेलाडी घोषित भए । उनीहरुले जुरी घनश्याम मुखियाबाट प्रोत्साहन स्वरुप नगद २५÷२५ सय प्राप्त गरे ।

सेनाका राजु चौधरीले सिनियर तर्फ ६२ केजी तौलमा २०३ केजी भारका साथ स्वर्ण हात पारे । जुनियर तर्फ प्रहरीका गणेश रानाभाटले १ सय ६१ केजी भारका साथ स्वर्ण कब्जा गरे । ६९ केजी तौलमा ओलम्पियन कमल अधिकारीले २ सय ५५ केजी भारका साथ स्वर्ण पाए ।

उनले स्नाचमा १ सय १० र क्लिनमा १ सय ४५ केजी उचालेका थिए । नेपाल भारोत्तोलन संघका पूर्व उपाध्यक्ष एवं ओलम्पियन सुनिललाल जोशीको स्मृतीमा सो प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्