सरकार दृढ भएर काम गरोस्



यति बेला नेपालको इतिहासमै सबैभन्दा बलियो दुई तिहाइ बहुमत प्राप्त सरकार गठन भएको सात महिना पूरा भइसकेको छ । जनताका चुलिएका इच्छा आकांक्षाहरूलाई सम्बोधन गर्न यो समय पक्कै पनि पर्याप्त होइन तर सरकारको गतिविधि र बाटो तय हुने समय पक्कै हो । अवधिका हिसाबले सरकारको कार्यकाल झन्डै साढे चार वर्ष बाँकी छ । तर बिहानले दिनको मौसमको संकेत गरेजस्तै विगत सात महिनाको मूल्यांकन गर्दा सन्तोष मान्नुपर्ने अवस्था छैन । यसबीचमा राष्ट्रलाई हानि पु¥याउने अन्तर्राष्ट्रिय सन्धि सम्झौता भएका छैनन् । बरु उत्तरी नाका थप खोल्ने, पारवहन सुविधा विस्तारित गर्ने कामहरु भएका छन् । यी कामहरु निःसन्देह सकारात्मक छन् । कूटनीतिक सम्बन्धका दृष्टिले यो सात महिनालाई उपलब्धिमूलक नै मान्नुपर्ने हुन्छ ।

राष्ट्रियरुपमा सरकारले आफ्ना काम कारबाहीहरुमा प्रभावकारिता देखाउन नसकेको तीतो सत्यलाई सरकारमा बस्नेहरुले समेत स्वीकार्न सक्नुपर्छ । सरकार आफैंले शुरु गरेका सकारात्मक कामहरुलाई निरन्तरता दिन सकिरहेको छैन । कतिपय अडानहरुबाट आफै पछाडि हटेको अवस्था छ । दुई तिहाइ बहुमत प्राप्त सरकार बने पनि जनताले सुशासनको अनुभूति गर्न पाएका छैनन् । राज्य संयन्त्रले नै ठीक ढंगले काम गर्न नसकेको अनुभूति धेरैले गर्न थालिसकेका छन् । हत्या, हिंसा, बलात्कारका घटनाहरु घट्नुको साटो बढिरहेका छन् । घूस, भ्रष्टाचार, तस्करीमा कुनै कमी आएको छैन । समग्रमा जनताले सुशासनको अनुभूति गर्न पाएका छैनन् ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनाका अपराधीहरु अझै पत्ता लाग्न सकेका छैनन् । प्रहरीले घटनास्थलका प्रमाणहरु नष्ट गरेर घटनालाई रहस्यमय बनाएको छ । एउटै घटनामा दुई प्रकृतिका आपराधिक प्रवृत्ति देखिएका छन् । तर गृह प्रशासनले निकम्मापन देखाइरहेको छ र यति बेला उसको भूमिकाको सर्वत्र आलोचना भइरहेको छ । गृहमन्त्रीको बोली लर्बराएकोले सरकारको निरीहता छरपस्ट भएको छ । यस्तो परिस्थितिमा सरकारको आलोचना हुनुलाई कसैले पनि अस्वाभाविक मान्नुहुँदैन । साथै यस्तो आलोचनालाई नकारात्मकरुपमा लिनुहुँदैन । सुधार गरेर वा सच्याएर जानका लागि यस्ता आलोचनाले सकारात्मक दिशानिर्देश गर्ने काम गर्दछन् ।
–विकास कार्की, जावलाखेल ।

 

 

प्रतिक्रिया दिनुहोस्