आन्दोलनको भूमरीमा सुदूरपश्चिमः टिकापुर नरसंहार देखि निर्मला हत्या प्रकरण सम्म



मनोज भट्ट, महेन्द्रनगर ।
भौगोलिक दूरीका दृष्टिले काठमाण्डौ बाट सुदूर पश्चिम हेर्दा त्यती टाढा देखिदैन जति न्यारो बुद्धिका मालिकहरु देख्ने गर्छन । सर्वत्र महसुस गरिएको सुदूर पश्चिमप्रति काठमाण्डौको हेपाहा प्रवृत्ति नितान्त संरचनागत छ । सामन्तवादको सबैभन्दा धेरै कोपभाजन बनेको भूखण्ड सुदूर पश्चिम नै हो । भीमदत्त पन्तले सामन्तवाद विरुद्ध बजारेको मुक्काले काठमाडौं सधैं सशंकित हुने अवस्थामा रहनु नै सुदूर पश्चिमप्रति काठमाण्डौको विभेदपूर्ण नीतिको कारण हो ।

सुदूर पश्चिमेलीहरुको सबैभन्दा ठूलो टाउको दुखाइ आफ्नो ठाँउका सोझा मतदाताको भोट पाएर काठमाडौंको सत्ता राजनीतिमा मात्तिने नेताहरू तथा सुदूर पश्चिमको कोटा खाएर ठूलठूला आशनमा जमेकाहरूको लुरे प्रवृत्ति र आत्मसमर्पणवादी चरित्र हो ।

उनिहरुले सुदूर पश्चिमका जनताको भावनामाथि सधै खेलवाड गरि रहे । जनताको आशालाई रति भर सम्म पनि बुझ्न खोजेनन् । यदि बुझेको भइ त , सुदूरको यो हबिगत किन हुन्थ्यो र ? आफ्नो गच्छेअनुसारको सहयोग गरेका भए मूलथलोका पीडितहरूको ठूलै कल्याण हुने थियो ।

विश्व चिनाउने सूदूरका धार्मीक तथा पर्यटकिय क्षेत्रहरु न काठमाण्डौले चिन्न खोज्यो ? न त जनमतका ठेकेदारहरुले नै चिनाउन सके । हरेक क्षेत्रबाट पछाडि पार्न खोजियो सुदूर पश्चिमलाई, हुनेखाने कहलिदाहरु गाँउ घर जन्मभूमी भुली काठमाण्डौमा जमे । विकास समृद्धि गर्छौ भनि जनविश्वास जितेकाहरु जनताको जनमतलाई कुल्चदै आफ्ना पुस्ता सार्न तिर लागे । कहिले भोकमारीको चपेटामा पर्यो सुदूर, कहिले बाढी पहिरोको सोहोरो त कहिले आन्दलोनको भुमरीमा ।

सुदूरको दुर्भाग्य चुनावका बेला जनविश्वास जितेर काठमाण्डौमा रमेका नेताहरुले सुदूरलाई पहिचान दिन सकेनन् । जनताहरु आफ्नो पहिचानको लागि आफै लडे । सुदूर बासिहरुको रानो बिनाको मौरीको के हालत हुन्छ त्यस्तै हालत भयोे । कहिले आफ्नो भूमी नटुक्रियोस् भन्र्दै लडे, कहिले उच्च शिक्षा आफ्नै क्षेत्रमा पढ्न पाइयोस् भन्दै लडे त कहिले न्यायका लागि लडिरहे । नेताहरु हात बाधेर काठमाण्डौबाट रमिता हेरिरहने दर्शक बने ।

तुलनात्मक रुपमा देश भरिकै आँकाडा हेर्दा काठमाण्डौ बाट दूर ठानिएको सुदूरपश्चिम आन्दोलनका घटनाहरुमा भने अगाडि देखिन्छ । यो सुदूर पश्चिमका लागि भने दुर्भाग्य हो । यसरी आन्दोलनको भुमरीमा रोमलिएको सुदूर, विकासको दौडमा प्रतियोगितामा हारेको प्रतिस्पर्धी जस्तै भयो ।

लगातारका विभिन्न आन्दोलनहरुले दुई छाक टार्न लागि दैनिक मजदुरी गरि जिविको पार्जन गर्नेहरु साह्रै मार्कामा परे । कति गाँस खोसिए । घरमा रहेका विरामीको समेत औषधी उपचार गर्ने वातावरण नभएरै कतिले अकालमै ज्यान गुमाउनु पर्यो । कतिले आन्दोलनका क्रममा गोली लागेर शहादत प्राप्त गरे । कति अंगभंग भए ।

सुदूर पश्चिममा केहि घटनाहरुले साह्रै उग्र रुपलियो । जसले गर्दा धेरै धनजनको क्षति भयो । ती मध्ये केहि प्रतिनिधी घटनाहरु यहाँ प्रस्तुत छन् ।

अखण्ड सुदूर पश्चिमका लागि ३२ दिन आन्दोलन
तत्कालिन माओवादी शान्ति प्रक्रियामा आएर हतियार र लडाकू समायोजन भएपछि उनिहरुको दम्ब सडकमा पोखिन थाल्यो । कैलाली, कञ्चनपुरलाई बाँके, बर्दिया र दाङसँग जोडेर थारूवान प्रदेश बनाउने माओवादी अभियानप्रति सुदूरपश्चिमका सबैजसो पहाडी समुदाय सहमत थिएनन् । थारूवान प्रदेश विरुद्ध अखण्ड सुदूरपश्चिम आन्दोलनले गति लिन थाल्यो । अखण्ड सुदूरपश्चिमलाई पहाडी समुदायले प्रतिष्ठाको विषय बनाए । तत्कालिन माओवादी नेता लेखराज भट्ट समेत पार्टी नीति विरुद्धै भए पनि अखण्ड सुदूरपश्चिमको पक्षमा उभिए ।

२४ साउन ०७२ मा प्रमुख तीन दलबीच नयाँ संविधानमा ६ प्रदेश कायम गर्ने सहमति भयो । त्यो सहमतिले कैलाली कञ्चनपुरलाई ६ नम्बर प्रदेशमा राख्यो भने बाँके, बर्दिया र दाङलाई ५ नम्बर प्रदेशमा पु¥यायो । त्यसको चर्काे विरोध गर्दै सुर्खेत र जुम्लामा समेत आन्दोलन भयो, त्यहाँ ४ आन्दोलनकारी मारिए । त्यसपछि प्रमुख दलहरू बीच ५ र ६ नम्बर प्रदेशका जिल्लाको सीमा हेरफेर गरेर नयाँ ७ नम्बर प्रदेश बनाउने सहमति भयो । ४ भदौ ०७२ मा प्रमुख दलहरू मिलेर ७ नम्बर प्रदेश बनाए । त्यस पटक पनि कैलाली, कञ्चनपुरलाई बाँके, बर्दिया र दाङसँग होइन, सुदूरपश्चिमको पहाडी जिल्लासँग जोडेर राखियो ।

तत्कालिन माओवादीले भन्ने गरेको ‘थारूवान प्रदेश’ लाई नयाँ पार्टीले ‘थरूहट’ भन्न थाल्यो । प्रदेशको सीमा भने पश्चिम चितवनसम्म हुनुपर्ने प्रस्ताव थरूहटको रह्यो । ‘थारूवान’ र ‘थरूहट’ पक्षधरबीच पनि कतिपय विषयमा विवाद देखियो । तर, अखण्ड सुदूरपश्चिम पक्षधरहरू संगठित रूपमा अगाडि आउन थालेपछि थारूवान र थरूहट पक्षधर पनि एकठाउँमा उभिए । पहिलो संविधानसभाको कार्यकाल सकिन लाग्दा अखण्ड सुदूरपश्चिम र थारूवान पक्षधर बीच विवादले उग्र रूप लियो । कैलाली कञ्चनपुरमा ३२ दिन लामो बन्द भएको त्यही बेला हो । पहिलो संविधानसभाको अवसानसँगै त्यो आन्दोलन पनि सामसुम भयो ।

संविधानको मस्यौदा तयार हुने क्रमसँगै अखण्ड सुदूरपश्चिम र थरूहट पक्षधर बीच वैमनस्यता चर्किंदै गयो । अखण्ड सुदूरपश्चिम पक्षधरले कैलालीमा साउन २१ देखि २३ सम्म आमहडताल गरे ।

अखण्ड एक प्रदेश बनाउन दबाब दिने उद्देश्यले यहाँ व्यापारी, विद्यार्थी बुद्धिजिवी स्वस्फूर्त रुपमा आन्दोलनमा सहभागी भए । हजारौको संख्यामा सडकमा उत्रिएर अखण्ड सुदूरपश्चिम पक्षधरले कैलाली र कञ्चनपुरमा जनप्रदर्शन गरे । कैलाली कञ्चनपुर संगै पहाडि जिल्लाहरुमा पनि अखण्ड सुदूरपश्चिमका लागि आन्दोलनमा उत्तिकै जनसागर उर्लियो । अनिश्चितकालीन बन्द संगै सबै ठप्प भयोे ।

अखण्ड सुदूरपश्चिमको आन्दोलन फिर्ता भयो त, थरुहटको बन्द, थरुहटको फिर्ता भयो त, राना थारूको सुरु हुने, यसरी एक पछि अर्कोको आन्दोलनले पुरै साउन महिना बित्यो ।

लामो बन्दको प्रभावबाट सुदूर पश्चिमको कुनै क्षेत्र पनि अछुतो रहेको थिएन । एक महिना लामो बन्दको प्रभाव स्थानीय सञ्चार माध्यममा समेत परेको थियो । स्थानीय पत्रपत्रिकाका सम्पादक तथा प्रकाशकका बैठकले लामो बन्दले अखबार सामग्रीको अभाव र सुरक्षा ग्यारेन्टी नभएको भन्दै अनिश्चितकालीन बन्द गर्नु प¥यो ।

अखन्ड सुदूरपश्चिम माग गर्दै कैलाली र कञ्चनपुरबाट सुरु भएको आन्दोलन बिस्तार हँुदै सुदूरपश्चिमका ७ पहाडी जिल्लामा फैलियो । अखण्ड पक्षधरले सरकारसँगको वार्ता र सहमतिपछि आन्दोलन फिर्ता लिएलगत्तै थारू संयुक्त संघर्ष समतिले थरुहट प्रदेश माग गर्दै आन्दोलन सुरु गरे । त्यसपछि आदिवासी जनजाति महासंघ र रानाथारू संयुक्त संघर्ष समितिको आन्दोलन तराईका कैलाली र कञ्चनपुर केन्द्रित हुन पुगेपछि बन्द लम्बिँदै र उग्र हुदै गएको उपज भदौ ७ मा टिकापुर हत्याकाण्ड हुन पुग्यो ।

थारुहट र पहाडी वैमनस्यताले निम्त्याएको टीकापुर नरसंहार
टीकापुरमा झडपमा डेढ वर्षे बालक र आठ सुरक्षाकर्मी मारिए । त्यसको केही घण्टामै आगो लगाएर ७० थारू परिवारको सर्वस्व ध्वस्त पारियो । त्यो पनि कफ्र्यू लगाएको समयमा ।

७ भदौ २०७२ मा थरूहट प्रदर्शनकारी र सुरक्षाकर्मीबीच टीकापुरमा झडप भयो । संयमता अपनाउने नाममा हुनसक्छ नेपाल प्रहरी र सशस्त्र प्रहरी आन्दोलनकारीका आन्तरिक तयारीबारे गम्भीर भएनन् । आन्दोलनकारीको हिंसात्मक आक्रमणबाट डेढ वर्षे बालक र ८ जना सुरक्षाकर्मी मारिए । घटनाको जिम्मेवारी कसैले लिएनन् । उल्टै भागे । टीकापुरमा कफ्र्यू लाग्यो । कफ्र्यू लागेकै बेला थारू समुदायका झण्डै ७० वटा घर पसलमा आगजनी र लूटपाट गरियो ।

एक महीनासम्म कफ्र्यू लगाइयो । सुरक्षाकर्मीको हत्यामा संलग्न भएको अभियोगमा तत्कालै र पछि गरेर संयुक्त थरूहट संघर्ष समितिका २५ नेता, कार्यकर्ता पक्राउ परे । ५८ जना माथि प्रहरीले वारेन्ट जारी ग¥यो ।

टीकापुर घटना तत्कालको प्रतिक्रिया मात्रै नभएर लामो मनोविज्ञानको उपज थियो । यसका पछाडि प्रत्यक्ष–अप्रत्यक्ष कारण र घटना थिए । तत्कालीन माओवादीले हिंसात्मक आन्दोलन गर्दा कैलाली कञ्चनपुरलाई बर्दिया, बाँके र दाङसम्म समेटेर थारूवान स्वायत्त गणराज्य घोषणा गरेको थियो ।


७ भदौका दिन आन्दोलनकारीले सरकारी कार्यालयमा ‘थरूहट स्वायत्त प्रदेश’ लेख्ने कार्यक्रम थियो । कैलालीका थारू बाहुल्य क्षेत्रबाट आन्दोलनकारी जम्मा भए । प्रदर्शनकारीको संख्या बढाउन बडघरबाट एक घरबाट महिला पुरुष गरी दुई जना अनिवार्य उपस्थिति हुनुपर्ने उर्दी जारी भयो । सहभागी नहुने परिवारले एक हजार जरिवाना तिर्नुपर्ने भनियो ।

टीकापुरमा कफ्र्यू लागेका बेला फूलबारी एफएमसहित करीब ७० वटा घर पसलमा लूटपाट, तोडफोड र आगजनी भयो । लूटपाट, तोडफोड र आगजनीमा परेका मध्ये ९० प्रतिशत भन्दा बढी पसल तथा व्यापारिक प्रतिष्ठानहरू थारू समुदायका थिए ।

एकाएक युद्धभूमि बन्यो आनन्द बजारः मातृभूमिमै भारतियबाट मारिए गोविन्द गौतम
करिब १५ दिन अघिदेखि सामान्य कल्भर्ट विवादमा रुमलिँदै आएको कञ्चनपुरको आनन्दबजार २६ फागुन ०७३ मा एकाएक युद्धभूमिजस्तै बन्यो । आफ्नै भूमिमा कल्भर्ट बनाएको अपराध वापत नेपाली सपुत गोविन्द गौतमले ज्यान गुमाउनु प¥यो भने केही सुरक्षाकर्मीसहित नेपाली नागरिक घाइते बने ।

दशगजामा नेपाली बस्ती बसाउँदा सीमानाको रक्षा हुन्छ भन्ने नीति अनुसार महेन्द्रले देशका विभिन्न भागमा जस्तै यहाँ पनि बस्ती बसालेका थिए । क्षेत्री बाहुन एवं जनजातिहरु मिलेर बसेको यो बस्तीमा अन्ततः भारतीयहरुले हमला गर्दा नेपालीहरुले एकढिका भएर प्रतिरोध गरे । र, त्यसैक्रममा गोविन्द गौतम नाम गरेका ३० वर्षीय युवा सहिद बने ।

आनन्द बजारमा नेपाली र भारतीयवीचको तनाव घटना घट्नु भन्दा करिब दुईसाता अघिदेखि नै सुरु भयो । दशगजा भन्दा करिब ५ सय मिटर नेपालतिर पर्ने जमिनमा नगरपालिका एवं स्थानीयवासीले कलभर्ट निर्माण गरेपछि भारतीय पक्षले त्यसको विरोध ग¥यो । नेपाली पक्षले निर्माण गर्न लागेको कल्भर्ट दशगजा भन्दा निकैभित्र भए पनि भारतीय पक्षले बनाउन नदिने धम्की दिँदै आएको थियो ।


फागुन २५ गते एसएसबी का बन्दूकधारीहरु एकाएक नेपाली भूमिमा प्रवेश गरे र नेपालीहरुलाई कुटपिट गरे । अघिल्लो दिनको कुटपिटको विरोधमा २६ फागुन बिहानै स्थानीय नेपालीहरु कल्भर्ट निर्माणस्थलमा भेला भए । उनीहरु केहीबेर नेपाल–भारत सीमानामा आवत–जावतसमेत बन्द गरे ।

यही क्रममा पारिबाट भारतीयहरुको एक हुल आयो । केहीबेर दशगजामा दुबैतिरबाट ढुंगा हानाहान भयो । यसक्रममा आक्रोशित नेपालीहरुले भारतीयहरुलाई लखेटे । नेपाली महिला, वालवालिका, युवा, वृद्धवृद्धा, सबै भेला भएका थिए ।

भारतीयहरु लखेटिएको केहीबेरमै उताबाट एसएसबीको फौज आयो । भारतीयहरुले एसइसबीको आड पाएर फेरि ढुंगामुढा गर्न गर्न थाले । नेपालतर्फबाट पनि प्रतिवाद भयो ।

यही क्रममा एसएसबीले उताबाट २१ राउण्ड फाइरिङ ग¥यो । स्थानीय ३० वर्षका गोविन्द गौतमको कम्मरमा गोली लाग्यो । उनलाई उपचारका लागि धनगढी नर्पुयाउँदै अत्यधिक रक्तश्राबका कारण उनको निधन भयो । भारतीय कुटाइबाट घाइते भएका अन्य नेपाली सर्बसाधारण र केहि प्रहरीहरुको भने बेलौरीमा नै उपचार भयो ।

एसएसबीको गोली प्रहारपछि नेपालीहरु तितर–वितर भए । यही मौका छोपेर भारतीयहरुले स्थानीयहरुको पसलमा तोडफोड र लुटपाट गरे । त्यहाँ रहेका सरसामान, खसी बाख्रा र मोटरसाइकल समेत भारतीयहरुले लुटेर लगे ।

तत्कालिन कांग्रेस सरकारले स्थानियहरुको विरोध र राष्ट्रिय प्रतिष्ठाको सन्दर्भ लाई आत्मसात गर्दै मृतक गोबिन्द गौतम लाई सहीद घोषणा ग¥यो । स्थानीय प्रशासनले गाडीलगायत राष्ट्रिय सम्मानका लागि शवयात्रा सुरु ग¥यो । शवयात्रामा हजारौंको सङ्ख्यामा स्थानीयहरु सहभागी भए । होलीका सबै कार्यक्रम स्थगित गरिए । ११ जना प्रहरीको राष्ट्रिय सलामी संगै गोबिन्द गौतमको अन्त्येष्टि गरियो ।

गोबिन्द गौतम मारिएको १६ दिनपछि घटनास्थल पुगेका थिए मन्त्री
एसएसबीको गोली लागेर गोबिन्दको मृत्य भएको १६ दिनपछि तीन मन्त्री घटनास्थल पुगे तत्कालिन गृहमन्त्री बिमलेन्द्र निधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र कृषिमन्त्री गौरीशंकर चौधरी ।

गोबिन्द गौतमप्रति श्रद्धाञ्जली व्यक्त गर्न र सरकारले घोषणा गरेको १० लाख रुपैयाँ प्रदान गर्न मन्त्रीहरु पुर्नवास पुगेका थिए । सहिद गौतमको परिवारलाई नेपाली कांग्रेसले ७ लाख तत्कालिन माओवादीले ६ लाख र एमालेले ५ लाख रुपैयाँ सहयोग भयो । गौतमका ेपरिवार लाई विभिन्न क्षेत्र बाट कसैले नगद त कसैले जिन्सि सम्पति सहयोग गरे ।

 

निर्मला हत्या प्रकरण
भीमदत्त नगरपालिका २ की निर्मला पन्त १० साउन (०७५) मा आफ्नो घरबाट साथीको घर होमवर्क गर्न भनेर निस्किईन् । घरबाट विहान ११ बजेर १५ मिनेटमा निस्किएकी उनि केहि समयमा उनको स्कुलकी साथी रोशनी बमको घर (भगतपुर)मा पुगिन् । तर उनि पछि बेलुका हुँदा सम्म पनि घर फर्किनन् । बिहानै घरबाट हिडेकी छोरी बेलुका अबेरसम्म पनि घर नपुगे पछि आमा दुर्गादेवि रोशनीको घर पुगिन् । घर पुग्ना साथ उनलाई ‘निर्मला २ बजे नै किताव लिएर गएकी हो’ भन्ने जानकारी पाइन् ।

निर्मला की आमा (दुर्गादेवि) मन कालो बनाउँदै घर फर्किन । छर छिमेकका उहाँ गइ । त्यहाँ पनि निर्मलालाई नदेखे पछि २÷४ जना छर छिमेकीलाई लिएर उनि निर्मलाको खोजी कार्यका लागि वडा प्रहरी कार्यालय गइन् ।

त्यहाँ जादा सम्म पुर्ण रुपमा रात भइसकेको थियो. । त्यस बारे प्रहरीलाई जानकारी गराइन् । धेरै रात परि सकेकाले भोली फोटो ल्याएर आउनु भनि प्रहरीले उदासिनता देखायो । त्यसपछि निर्मलाकी आमा आफ्नो आशा मार्दै घर फर्किन । अर्को दिन ११ साउन (०७५) बिहान ८ बजे एक जनाले निर्मलाको साईकल खोलामा देखेपछि परिवारलाई खबर गरे । नजिकैको उखुवारीमा निर्मलाको मृत शव फेला प¥यो । निर्मलाको हत्या बलात्कारपछि घाँटी थिचेर भएको पोष्टमार्टम प्रतिवेदनले देखायो । हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीयवासीले आन्दोलन सुरु गरे ।

हत्याको आरोपमा पक्राउ परेका बिष्ट सार्वजनिक
गत भदौ ४ (०७५) सोमवार अर्थात घटना भएको २५ औँ दिनमा मानसिक सन्तुलन गुमाएका स्थानिय ४१ वर्षीय दीलिप बिष्टलाई प्रहरीले निर्मलाको हत्याराको रुपमा सार्वजनिक ग¥यो । तर प्रहरीले निर्दोषलाई फसाएको भन्दै महेन्द्रनगरमा फेरी आन्दोलन सुरु भयो । आन्दोलनकारीहरुको निरन्तरको दवाब पछि आरोपी बिष्टकोे डीएनए परिक्षणक गरियो । रिर्पोट र निर्मलाको ‘भेजाइनल स्वाब’ मेल नखाए पछि बिष्ट निर्दोष सावित भए ।

प्रहरी र आन्दोलनकारीबिच झडप
घटनाको मुख्य अभियुक्तका रुपमा मानसिक सन्तुलन गुमाएका दीलिप बिष्टलाई सार्वजनिक गरेपछि महेन्द्रनगर निकै तनावग्रस्त भन्यो । निर्दोष व्यक्तिलाई फसाउन खोजेको भन्दै स्थानियहरु बिरोधमा उत्रिए । दीलिपको पक्षमा जनसागर नै उत्रियो । ८ भदौँमा स्थानियको निरन्तरको आन्दोलनले एकाएक हिँसात्मक रुप लियो । प्रहरी र आन्दोलनकारीबिच दोहोरो झडप भयो । प्रहरीले लगातार अश्रुग्यास मात्रै हानेन कि गोली पनि चलायो । जसले गर्दा महेन्द्रनगर रणभूमिमा परिणत भयो । प्रहरीको गोली लागि एक दर्जन आन्दोलनकारी घाइते भए भने स्थानिय शन्नी खुनाको ज्यान गयो । घाइतेहरु अहिले पनि अस्पतालको शैयामा आफ्नो मृत्युमरणको स्थितिमा छन । घाइते अर्जुन भण्डाराले आफ्नो एउटा खुट्टा समेत गुमाउनु प¥यो ।

महेन्द्रनगरमा लगातार कफ्र्यु
तत्कालिन एसपी दिल्लीराज बिष्ट, सिडियो कुमार खड्का र डिएसपी ज्ञान बहादुर सेठी लाई हेडक्वाटर तानियो । नयाँ सीडियो र एसपि कञ्चनपुर हाजिर भए कै दिन गोली चलाउँदा शन्नी खुनाको ज्यान गए पछि सुरक्षा कारण देखाउँदै ८ भदौँ (०७५) साँझबाट महेन्द्रनगरमा कफर्यु लगाउन शुरु भयो । त्यस पछि लगातार महेन्द्रनगरमा ३ दिन कफ्र्यु लाग्यो । ९ भदौँ (०७५)मा बम दिदिबहिनीलाई सोधपुछका लागि नियन्त्रणमा लिइयो । त्यसपछि चर्किरहेको आन्दोलन केहि शान्त भयो ।

गृहमन्त्रीलाई प्रतिवेदन बुझाइयो
गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गत ७ भदौँमो गठन गरेको उच्चस्तरीय छानविन समितिले घटनाबारे एक महिना अध्ययन गरी ९ असोजमा गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझायो । तर उक्त प्रतिवेदन सार्वजनिक गरिएन् । यसको बिरोधमा नागरिक समुह, महिला अधिकारकर्मी तथा स्थानियहरुले प्रतिवेदन सार्वजनिक नगरी सरकारले हत्यारा लाई संरक्षण गरिरहेको छ भन्दै फेरी आन्दोलन चर्काए ।

विश्विद्यालयका लागि ११ दिने ऐतिहासिक आन्दोलन
अठार वर्षअघि सुदूर पश्चिम क्षेत्रमा राज्यको लगानीमा सरकारले नै पूर्ण रूपमा सञ्चालन गर्ने विश्वविद्यालय स्थापना हुनुपर्छ भन्ने अभियान सुरु भयो । डा. तीर्थ खनिया समेतका विज्ञहरूको उपस्थिति रहेको उक्त भेलाले क्लष्टर विश्वविद्यालय स्थापनाको अवधारणा अघि सारे ।

डा. दुर्गाप्रसाद भण्डारी संयोजक रहेको कार्यदलले ०६२ मा तयार गरी सरकारलाई बुझाएको प्रतिवेदनमा ४ (तत्कालिन अवस्थामा) वटामात्र आंगिक क्याम्पस रहेको सुदूर पश्चिमका प्रत्येक जिल्लामा कम्तीमा १ आंगिक क्याम्पस हुनैपर्ने सुझाव दियोे ।


सरकारले सुर्खेतमा मध्यपश्चिम विश्व विद्यालय तथा चितवनको रामपुरमा कृषि विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको तर लामो समय देखि सुदूरपश्चिमवासीले माग गर्दै आएको प्रस्तावित सुदूर पश्चिमाञ्चल विश्वविद्यालय स्थापना गर्ने निर्णय नगरेको विरोधमा महेन्द्रनगरमा विद्यार्थीहरुले आन्दोलन सुरु गरे । प्रदर्शनमा प्रहरी र आन्दोलनकारी बीच ठाउँ ठाउँमा झडप हुनुका साथै आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय, शिक्षा कार्यालय लगायतका सरकारी कार्यालययमा ढुंगामुढा गरि तोडफोड हुनपुग्यो । प्रहरीसँगको झडपमा ४० भन्दा बढि विद्यार्थी र सात प्रहरी घाइते भए । कञ्चनपुरमा प्रस्तावित सुदूर पश्चिमाञ्चल बिश्व बिद्यालय स्थापनाको माग गर्दै शुरु भएको बिद्यार्थी आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले २१ फागुन ०६५ बेलुका ८ बजे बाट ३ दिन सम्मका लागि कर्फ्यु लगायो ।

विश्वविद्यालय स्थापना माग गर्दै विद्यार्थीसँगै कञ्चनपुरमा राजनीतिक दल, पेसागत संघ–संगठनहरुले ऐक्यबद्धता जनाएर ०६५ सालमा ११ दिने ऐतिहासिक आन्दोलन भयो । सुदूर पश्चिमका पहाडी जिल्लाहरुमा समेत विश्व बिद्यालय माग गर्दै आन्दोलन चर्कियो ।

आन्दोलनका प्रमुख माग

१. विश्वविद्यालयको पूर्वाधार विकासका लागि आवश्यक बजेट निकासा गर्नुपर्ने ।
२. प्राप्त बजेटलाई आर्थिक नियमअनुसार काम गर्नसक्ने उपकुलपति लगायतका पदाधिकारीको नियुक्ति होस् भन्ने ।
विश्वविद्यालय कञ्चनपुरमा स्थापना गर्ने सरकारको घोषणा ०६५ सालको ११ दिने ऐतिहासिक आन्दोलनको दबाबले ०६७ सालको बजेट वक्तव्यमार्फत सरकारले सुदूर पश्चिमाञ्चल विश्वविद्यालयले कञ्चनपुरमा स्थापना गर्ने घोषणा ग¥यो ।

विश्व विद्यालयका सञ्चालनका लागि सरकारले १ बर्ष सम्म कुनै चासो राखेन । आर्थिक वर्ष ०६८÷६९ का लागि बजेट विनियोजन गर्ने कुरा त कता हो कता, अर्थमन्त्रीले बजेट वक्तव्यमा सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको नामसमेत उच्चारण गरेनन् ।

सुदूर पश्चिमेलीहरुकोे विश्वविद्यालय स्थापनापछि सुदूर पश्चिम शिक्षा क्षेत्रको विकासमा अग्रसर हुने जुन आशा थियो, त्यो आशा उक्त आर्थिक वर्षको बजेटले निराशामा परिणत गरेपछि ०६८ साउन २ गतेदेखि आन्दोलन फेरि चर्कियोे ।

उपकुलपति नियुक्ति नगरेकोमा फेरि आन्दोलन
सरकारले सुदुरपश्चिमाञ्चल विश्वविद्यालय सञ्चालनका उपकुलपति लगायतका पदाधिकारी नियुक्ति नगरेको विरोधमा आन्दोलनले गति लियो ।

विद्यार्थी आन्दोलनका कारण कञ्चनपुर लगायत सुदूर पश्चिमका प्रमुख सहरहरु तनावग्रस्त भए । आन्दोलन व्यवस्थित गर्न गठित सर्वपक्षिय संयुक्त संघर्ष समितिले ०६८ साउन १३ मा सरकारलाई माग पूरा गर्न १० दिने अल्टिमेटम दिए । त्यो मागको केहि सम्बोधन नभएपछि विद्यार्थीले २४ साउनमा कञ्चनपुर बन्द गरे ।

राजधानी विवादः धनगढी र दिपायल तनावग्रस्त
नेपाल संघितामा गए पछि तत्कालिन ‘सुदूरपश्चिमाञ्च विकास क्षेत्र’लाई प्रदेश नम्बर ७ का रुपमा अगाडी सारियो । देशमा ७ बटा प्रदेशको खाका तयार पारियो । तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले सात प्रदेशका अस्थायी मुकाम सार्वजनिक ग¥यो, जहाँ प्रदेश नम्बर ७ को अस्थायी मुकाम ‘धनगढी’ ताक्यो ।

राजधानी र नामांकनको बिषयलाई लिएर आन्दोलन सुरु भयो । डोटीका जनताले तत्कालिन विकास क्षेत्रको सदरमुकाम ‘दिपायल’ मा नै राजधानी राख्ने माग राखे, उनिहरु आन्दोलनमा होमिए । यो आन्दोलनले दिपायललाई मात्र छोएन कि डडेल्धुरा, कैलालीसम्म पनि पुग्यो । दिपायल, डडेल्धुरा, कैलालीमा कयौँ दिन आम हड्तालको भयो । राजधानी कैलालीको धनगढी, अत्तरिया, डोटी हुनुपर्ने माग राख्दै आन्दोलन निकै उग्र बन्दै गयो ।

नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ पारित 
प्रदेश ७ को नाम सुदूरपश्चिम र स्थायी राजधानी गोदावरी राख्ने सुझाव प्रदेश सांसद तारालामा तामाङको संयोजकत्वमा गठन भएको सुझाव बिशेष समितिले ९ असोजमा प्रदेश संसदमा पेश ग¥यो । नाम र राजधानीमा असहमती जनाउदै धनगढी र दिपायलबासीहरु त्यही दिन देखि फेरी आन्दोलनमा हामिए । धनगढी र दिपायलमा दैनिकजसो प्रदर्शन, आमहड्ताल, चक्काजाम भइरहे । १२ असोज ०७५) मा पेश भएको प्रस्तावमा छलफल सुरु भइ सहमती नछुटे पछि निर्वाचनबाट प्रदेशको नाम र राजधानी टुङग्याइयो । प्रस्तावको पक्षमा ३८ मत आयो भने बिपक्षमा मत नै खसेन् ।

यसरी प्रदेशको नाम र राजधानी प्रदेश संसदबाट पारित भइ सकेपछि प्रमुख प्रंतिपक्ष दलको नेतृत्वमा धनगढीबासीहरुले राजधानी धनगढीबाट नसार्न माग गर्दै अनिश्चितकालिन धनगढी बन्दको आह्वान गरे । जसले गर्दा धनगढी निकै तनावग्रस्त रह्यो । ३ दिन सम्म आम हड्ताल गरे । बनमाफिया र भुमाफियालाई फाईदा पुग्ने गरी प्रदेशको राजधानी गोदावरीको जंगलमा राखेको प्रमुख प्रतिपक्षले आरोप लगाउदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्