४५ लाख नीजि लगानीमा पुस्तकालय भवन



कभ्रे,(नेस) ।
जिल्लाको पहिलो क्याम्पस काभ्रे बहुमुखी क्याम्पसमा जनमत वाङ्गमय प्रतिष्ठान पुस्तकालयले अध्ययन र अनुसन्धान केन्द्र स्थापना गर्ने गरी बनेपाका समाजसेवी राजभाई प्रधानले ४५ लाख मुल्य लागतमा साढे २ तल्ले पक्की भवन निर्माण गरिदिने भएका छन् ।

भवनको शिल्यान्यास संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गरेका छन् । प्रविधि मैत्री पुस्तकालयलाई राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमै अध्ययन केन्द्रका रुपमा विकास गर्ने उदेश्यले प्रधानले ब्यक्तिगत लगानीमा धर्मपत्नि स्व दिब्यलक्ष्मीका नाममा स्मृति भवनका रुपमा निर्माण गरिदिन लागेका हुन् । २०२७ सालमा काभ्रे जिल्लामा पहिलो पटक विगुल पत्रिका प्रकाशन गरी सम्पादक समेत भएका प्रधान वाङ्गमय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालका सहपाठी हुन् ।

उनीहरु दुबै जना विगुलका सम्पादक थिए । तीन अंक प्रकाशन भएपछि उक्त पत्रिका तत्कालिन सरकारले बन्द गराएको थियो । सरकारी पेशामा समेत रहेका प्रधानले निवृत्त भएसँगै सामाजिक कार्यलाई तिब्रता दिएका थिए तर उनले ४० वर्ष अघि जिल्लामै पहिलो पटक हस्त लिखित शुरु गराएका थिए भने बनेपामा पहिलो टाईपिस्ट इन्ष्टिच्युट स्थापना गरेका थिए ।

ब्यवसायमा समेत संलग्न प्रधानले काभे्र क्याम्पसको पुस्तकालय भवन निर्माणले जिल्लाकै अध्ययन केन्द्र र राष्ट्रिय रुपमा साहित्य र लेखकीय तथा भाषीक पुस्तकलायलाई सहयोग पुग्ने बताए ।

भवन शिल्यान्यास कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले क्याम्पसको विकासका लागि आवश्यक सहयोग गर्ने बताए । ३० वटा कम्प्युटर काभ्रे क्याम्पसलाई आगामी बैशाख महिनासम्म र आजाद माध्यमिक विद्यालयलाई ३० वटा कम्युटर सहितको पुस्तकालय निर्माण गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

चण्डेश्वरी मन्दिर, बनेपाको पुरानो लायकु दरवारको पुर्ननिर्माण तथा बनेपाको करिडोर जस्ता महत्वपूर्ण क्षेत्रमा सरकारले सहयोग गर्ने मन्त्री बास्कोटाले बताए ।

कार्यक्रममा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष लम्बोदर कायश्थ, वाङ्गमय प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल, क्याम्पस प्रमुख केजी बयदार, क्याम्पस सदस्य राजु सरकार, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्