एमबीबीएसमा भर्ना नगर्न अन्तरिम आदेश



काठमाडौं, (नेस)
सर्वोच्च अदालतले एमबीबीएस लगायत कुनै विधामा भर्ना लगायतका अन्य सबै प्रक्रिया तत्काल अघि नबढाउन अन्तरीम आदेश दिएको छ ।

वरिष्ठ न्यायाधीश दीपकराज जोशीको इजलासले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को नाममा यस्तो आदेश दिएको हो ।

असोज पहिलो साता आइओएमले लिएको प्रवेश परीक्षाको नतिजामा प्रश्न उठाउँदै रेश्मा बानिया लगायतका विद्यार्थीले रिट दायर गरेका थिए । रिटमाथि अधिवक्ताहरु मनोजकुमार शर्मा, नवराज थपलिया, भक्तिराम घिमिरे र हरिप्रसाद मैनालीले बहस गर्नुभएको थियो ।

प्रवेश परीक्षाको नतिजामा अनियमितता गरिएको भन्दै आइएओमविरुद्ध दायर रिटमा जोशीको इजलासले मुद्दाको किनारा नलागेसम्म कुनै प्रक्रिया अघि नबढाउन आदेश दिएको हो । अन्तरिम आदेशमाथि थप छलफल गर्न असोज २१ गते दुवै पक्षलाई बोलाइएको छ ।

सो मुद्दाको किनारा नलागेसम्म आइओएमले एमबीबीएस, बीडीएस, बीपीएच लगायतका बिधामा भर्ना प्रक्रिया अघि बढाउन पाउने छैन ।

चिकित्साशास्त्र अध्ययन संस्थानले असोज ६ गते एमबीबीएस, ७ गते बीडीए र ८ गते बीपीएचको प्रवेश परीक्षा लिएको थियो । रेश्मा बानियाँले गत असोज १७ गते त्रिभुवन विश्वविधालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगंज काठमाडौलाई विपक्षी बनाई सो रिट दायर गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्