कुश्मा नगरपालिकामा किवी खेती बिस्तार गरिँदै



नेपाल समाचारपत्र, पर्वत
थोरै मेहनत र छोटो समयमै कृषकले प्रसस्त आम्दानी गर्न सकिने भएपछि पर्वतको कुश्मा नगरपालिकामा किवी खेती विस्तार गरिने भएको छ ।

कुश्मा नगरपालिकाले विभिन्न वडामा किवी खेतीको बिस्तार अभियान थालेको हो । समुद्री सतहबाट १४ मिटर भन्दा माथिको उचाईमा किबीको राम्रो उत्पादन लिन सकिने भएपछि नगरपालिकाले किवी खेती विस्तार गर्न थालेको हो । कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गका खेम गुरुङले विगत चार वर्षदेखि १ रोपनी क्षेत्रफलमा लगाएको किवीले राम्रो फल दिन थालेपछि नगरपालिकाभरी किवी खेती विस्तार गर्न थालिएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

उनका अनुसार कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्ग, वडा नं. १२ ठुलीपोखरी, वडा नं. १३ खौलालाकुरी र वडा नं. १४ आर्थर डाँडाखर्कमा चालु आर्थिक वर्षभित्रनै किवी खेती विस्तार गरिने छ । उनले यसका लागि कृषकहरुलाई शुरुमा आवश्यक तालिम प्रदान गरिने छ भने त्यसपछि व्यवासायिक रुपले खेती लगाउनका लागि सहयोग गरिने भएको छ ।

नगरप्रमुख जोशीले चालु आर्थिक वर्षमै १ हजार भन्दा बढि किवीका बिरुवा रोपिने बताए । यस वर्ष १ हजार बिरुवा खरिद गरेर कृषकहरुलाई रोप्नका लागि वितरण गरिने भएको छ । आगामी फागुनमा रोप्नुपर्ने बिरुवाका लागि पर्वतकै लेखफाँट, लमजुङ, सिन्धुली लगायताका जिल्लाबाट बिरुवा खरिद गर्ने तयारी भएको छ । शुरुमा कृषकहरलाई किवी खेती हुने सल्यान, इलाम, दोलखा लगायतका जिल्लामा भ्रमण समेत लगिने भएको छ । पछिल्लो समय बढ्दो युवा पलायनका कारण गाउँ गाउँमा बाँझो रहेको जमिनमा किवी खेती विस्तार गर्नका लागि नगरपालिकाले बजेट बिनीयोजन नै गरेको उनले बताए ।

यस अघि पर्वतको मोदी गाउँपालिकाको भुकताङ्ले र चित्रे तथा जलजला गाउँपालिकाको लेखफाँट र शालिजामा किवीको व्यावसायीक रुपमा खेती हुँदै आएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले जानकारी दिए । उनले भने ‘समुद्री सतहदेखि १४ सय मिटरभन्दा माथि यसको उत्पादन राम्रो हुन्छ दुर्लुङ्ग झण्डै १५ सय मिटर भन्दा बढिको उचाईमा रहेकोले यस क्षेत्रका कृषकले किवी खेतीवाट राम्रो आम्दानी लिन सक्छन् ।’ त्यस्तै नगरपालिका अन्तर्गत ठुलीपोखरी, खौला र आर्थरडाँडाखर्कमा पनि किबीको उत्पादन राम्रो हुने उनको भनाई रहेको छ ।
किवीको खेती गरेपछि फल र बिरुवा दुवैबाट यसको फाईदा लिन सकिने भएकाले पनि कृषकहरुका लागि यो बढि फलदायी हुने भएको छ । लहरा प्रजातीको किवी समुद्रि सतहदेखि एक हजार ४ सय देखि दुई हजार ५०० मिटर उचाईको भुगोलमा खेती गर्न सकिने केन्द्र प्रमुख रेग्मीको भनाई रहेको छ ।

स्वादीलो, धेरै पौष्टिक तत्ब पाईने र स्वस्थ्यकर मानिने किवीको मुख्य उपभोक्ता पर्यटक, बिदेशमा रहेका र त्यहाँबाट फर्किएका नेपालीहरु हुन् । लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोसम्म फल लाग्ने किवीको अहिले बजारमो चार सय देखि ६ सय रुपैयाका दरले बिक्री हुँदै आएको छ । न्युजील्याडको प्रमुख फलफुल मानिने किवी नेपाली उपभोक्ताका लागि नयाँ फलफुल हो ।

सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी, मन्टी जातको किवीको प्रति बिरुवाको सरदर बजार मूल्य दुई देखि तीन सय रुपैया रहेको छ । कृषि ज्ञान केन्द्र पर्वतसँग सहकार्य गरेर नगरभित्रका सवै सम्भावित ठाउँका किबी खेती विस्तार गरिने नगरप्रमुख जोशीको भनाई छ । नगरपालिका भित्रका झण्डै पाँच सय कृषकलाई व्यावसायिक रुपमा किवी खेतीतर्फ आकर्षित गरिने र त्यसको बजारीकरणका लागि नगरपालिकाले समेत सहयोग गर्ने नगरप्रमुख जोशीले जानकारी दिए ।

कुश्मा नगरपालिकामा परिक्षणको रुपमा किवी खेती गरेका वडा नं. ३ का खेम गुरुङले चालु आर्थिक वर्षदेखि क्षेत्रफल बढाएर सवै खाली जमिनमा लगाउने बताए । उनले पाँच वर्षमै लगानी उठाउन सकिने भएपछि गाउँभरीका बासिन्दाहरुलाई किवीका बिरुवा रोप्न आग्रह गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्